☰ open Loading... 19 April 2024|  

गाउँपालिकाले ल्याएको बजेट प्रति कार्यपालिकाकै सदस्य असन्तुष्ट
  | ११ श्रावण २०७७, आईतवार ०८:३५

 

दैलेख : डुगेश्वर गाउँपालिकाको ल्याएको नीति तथा कार्यक्रम र बजेट प्रति कार्यपालिका सदस्यले असन्तुष्टि जनाएका छन् । गाउँपालिकाले ल्याएको आर्थिक वर्ष ०७७÷०७८ वर्षको नीति तथा कार्यक्रम अध्यक्ष केन्द्रित भएको आरोप लगाउँदै बजेट नसच्याए पनि कुनै पनि काम अगाडी बढ्न नदिने बताएका छन् ।

गाउँपालिकाले असार २६ गते आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि बजेट गाउँ सभामा पेस गरेको थियो । गाउँ सभाले ३४ करोड ३२ लाख बराबरको बजेट पारित गरेको थियो । असार ८ गते कार्यपालिकाको बैठकले तयार पारेको बजेटको खाकालाई फेरबदल गरेर पेस गरिएको, छलफलबिनै बजेट पारित गरिएको भन्दै असन्तुष्ट गाउँ सभा सदस्यले जिल्ला प्रशासन कार्यालय दैलेख र जिल्ला समन्वय समिति दैलेख मार्फत सङ्घीय मामिला मन्त्रालय काठमाडौँ ध्यानाकर्षण पत्र पठाइएको छ ।

डुङ्गेश्वर गाउँपालिका–१ का वडाध्यक्ष लोकबहादुर डाँगीले गाउँपालिकाको बजेट जनचाहना अनुरूप र व्यवहारिक नभएको भन्दै संशोधन गर्नुपर्ने माग गर्दा समेत सुनुवाइ नगर्ने र उल्टै गाउँ सभामा कुनै पनि लिखित निर्णय नगरेर अध्यक्षले जर्बजस्ती बजेट पारित भएको घोषणा गरेपछि आफूहरू प्रशासन र जिल्ला समन्वयमा आउन बाध्य भएको बताए । उनले डुङ्गेश्वर गाउँपालिकाले आर्थिक वर्ष ०७७÷०७८ को लागि कार्यपालिका र गाउँभामा व्यापक रूपमा छलफल नगरी आर्थिक ऐन र स्थानीय सरकार सञ्चालन ऐन २०७५ लाई कुल्चेर जबर्जस्ति रूपमा अध्यक्ष एक्लैले ल्याएको वितरणमुखी बजेट नसच्याए उक्त बजेट विरुद्धमा जनस्तरमा र पालिकामा व्यापक रूपमा चरणबद्ध आन्दोलन गर्ने चेतावनी सहित प्रशासनमा ज्ञापन पत्र बुझाएको बताए ।

डुङ्गेश्वर गाउँपालिका–२ का वडाध्यक्ष राजु खत्रीले गाउँपालिकाले गाडी, मोटरसाइकल र एम्बुलेन्स खरिद गरी प्रयोगमा ल्याए पनि आगामी आर्थिक वर्षमा पुन गाडी खरिदमा २८ लाख रुपैयाँ विनियोजन गरेर अनुत्पादक क्षेत्रमा बजेट खर्च गर्न खोजे पछि आफूहरूले त्यस्तो हुन नदिने बताए पछि आफूहरूलाई पेलेर बजेट पास गरेको बताए । हामीले चाहेको सन्तुलित विकास हो, तर बजेट सन्तुलित र वैज्ञानिक भएन वडाध्यक्ष खत्रीले भन्नुभयो अनावश्यक बजेट तत्काल कटौती गर्नुपर्छ।

वडा नः २ का सदस्य तेजबहादुर थापाले अध्यक्षले एकलौटी रूपमा गाउँ सभा सदस्यलाई छलेर बजेट विनियोजन गरेको भन्दै सन्तुलित रूपमा विनियोजन हुनुपर्ने माग गरेका छन । उनले आर्थिक वर्ष २०७६÷०७७ मा समपूरक कोषमा विनियोजित एक करोड ५० लाखबाट सन्तोषजनक काम भएनन्, आर्थिक वर्षको अन्त्यमा पनि काम सुरु भएको छैन, आगामी आर्थिक वर्षका लागि पनि एक करोड ८४ लाख ६५ हजार रुपैयाँ विनियोजन गरिएको छ । यो मान्य हुँदैन यस मध्ये एक करोड रुपैयाँ वडाबाट माग भई आएका योजना निर्माण हुनुपर्छ ।

गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले गाउँपालिकाको बजेट नीति नियम भित्र नै रहेर आएको बताए । उनले आवश्यकताका आधारमा बजेट व्यवस्थापन गरिएको बताउँदै समय अभावका कारण बजेट माथि छलफल हुन नसकेको अध्यक्ष मल्लले स्वीकार समेत गरेका छन । उनले बजेटमा केही तलमाथि भए पनि सन्तुलित जस्तै छ उहाँहरूले के चाहनु भएको आफूलाई जानकारी नभएको बताए ।