☰ open Loading... 19 April 2024|  

विपद्मा परेकाको व्यवस्थापनमा मुख्यमन्त्री शाहीको विभेद
  | १२ श्रावण २०७७, सोमबार ११:०२

सुर्खेत । कर्णाली सरकारका मख्यमन्त्री महेन्द्रबहादुर शाहीले विपद्मा परेकाहरुको व्यवस्थापनमा विभेद गरेका छन । आफनो निर्वाचन क्षेत्र कालिकोट र अन्य जिल्लामा विपद्मा परेकाहरुको व्यवस्थापनमा विभेद गरेका हुन । मुख्यमन्त्री सिंगो प्रदेशको भएपनि कर्णालीका मुख्यमन्त्री शाही भने आफनो निर्वाचन क्षेत्र केन्द्रित छन ।

८ पुस २०७५ मा कालिकोटको पलाता गाउँपालिका वडा नं. १ मा भीषण आगलागी भयो । आगलागीमा परी ३० घर जलेर खरानी भए । मुख्यमन्त्री शाहीकै गृह जिल्लामा ठुलो क्षति भएपछि प्रदेश सरकारले तत्काल राहत र उद्धारका लागि कुनै कसर बाँकी राखेन ।

पट्क पट्क हेलिकप्टर उडायो । उद्धारमा तदारुकता र राहतका सामग्रीको लाइन लगाइयो । प्रदेश सरकारले पिडित परिवारका लागी प्रतिपरिवार ५ लाखका दरले राहत पनि उपलब्ध गरायो ।

१९ फागुन २०७४ मा हुम्लाको ताँजाकोट गाउँपालिका १ मा पनि भीषण आगलागी भयो । त्यहाँका २५ घर जलेर नष्ट भए । लगत्तै मुख्यमन्त्री शाहीकै नेतृत्वमा ११ जनाको टोली त्यहाँ पुगेको थियो । मुख्यमन्त्री शाहीले थुप्रै आश्वासनका पोका बाँडे । प्रदेश सरकारले उनीहरूलाई न राहत दिन चाह्यो, न त उनीहरूको घर बनाउनका लागि बजेट दिन आवश्यक नै ठान्यो ।

गत असार २५ गते जाजरकोट बारेकोट गाउँपालिका –४, सार्की गाउँमा पहिरोले दुइ घर पुरिदा ११ जनाको मृत्यू भयो अझै एक जना बेपत्ता छन । सोही दिन बारेकोट –६, का दुइ जनालाई पहिरोले बगाउँदा अझै बेपत्ता छन । आइतबार सम्मा फेला पर्न सकेका छैनन् ।

मुख्यमन्त्रीको जिल्लामा यति ठूलो घटना भएको भए त्यहाँ सरकार र सहयोगीहरूको लाइन लाग्थ्यो । ‘हामीले यहाँ खाना पाएका छैनौं, विद्यालयको बास छ ।’ बारेकोट– ४ का पहिरोपीडित मोतिलाल बिकले भने, ‘विपद्का बेला सरकारको सहयोग पाउँन त मुख्यमन्त्रीको जिल्लाको हुनु पर्ने रैछ ।’

प्रदेश सरकारले मृत्यू भएका परिवारलाई राहत दिने भनेर अझैपनि लिखित निर्णय गरेको छैन । मृत्यु भएका परिवारलाई गाउँपालिकाले क्रिया खर्च भनेर २५ हजार उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले बताए । पहिरोले बेघर बनाएको १७ दिन पुग्दा पनि न प्रदेश सरकारले राहत पु¥याएको छ, न त उनीहरूको व्यवस्थापनका लागि कुनै ठोस काम गरिएको छ ।

मन्त्री बस्नेतको आश्वासन

यतिबेला सिंगो बारेकोट बासी पीडामा छन । त्यो क्षेत्रबाट निर्वाचित सांसद् शक्ति बस्नेत यतिबेला संघीय सरकारमा वन मन्त्री छन् । मन्त्री बस्नेत पहिरो गएको दुइ दिन पछि २८ गते आर्मीको हेलिकप्टरमा घटना स्थल पुगेका थिए ।

उनीसहित कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पूर्वमन्त्री सत्य पहाडी, सांसद भैरवसुन्दर श्रेष्ठ, राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्मालगायको टिम घटनास्थल पुगेर त्यही दिन नै फर्किएको थियो ।

मन्त्री बस्नेतले पीडित परिवारलाई भेटेर आवश्यक राहात उपलव्ध गराउँने, उद्दार गर्ने र विस्थापित परिवारको सरकारले व्यवस्थापन गर्ने लगाएका थुप्रै आश्वासन बाँडेका थिए ।

‘वनमन्त्री, मुख्यमन्त्री लगायतको टोली आए तर उनीहरूले आश्वासनबाहेक अन्य केही दिएनन्,’ पहिरोपीडित गोपाल सार्कीले भने, ‘पीडितलाई आश्वासन होइन, राहत चाहिएको छ, पाल चाहिएको छ, चामल चाहिएको छ । नेताहरूको मिठो भाषण खान नमिल्ने रैछ ।’

बस्तिस्थान्तरण आवश्यक छ –सांसद सिंह

घटना स्थलको स्थलगत अवलोन गरेर प्रदेश सभा सदस्य गणेशप्रसाद सिंह वीरेन्द्रनगर फर्किएका छन । उनि सोही ठाउँबाट निर्वाचित सांसद पनि हुन । उनले त्यहाँको अवस्था दयनिय भएको बताए । ‘त्यहाँको अवस्था हेर्दा दयनीय छ ।

विश्व खाद्य कार्यक्रमले केही राहत दिएको छ, हामीले केहि राहत लिएर गएका थियौं, त्यो पर्याप्त छैन,’ उनले भने, ‘१ हजार ५५ घर परिवार विस्थापित बनेका छन् । यो सिंगो कर्णालीका लागि विपद् हो ।’

बरेकोटमा दिनहुँ जसो पानि परिरहेको र त्यहाँको प्रत्येक जमिन चिरा चिरा परेको सांसद सिंहको भनाई छ । त्यहाँका नागरिकको जिउधनको रक्षाका लागि पनि उपयुक्त स्थानमा बसाईं सानुपर्ने आवश्यक देखिएको सांसद सिंहले बताए । ‘त्यहीँ राख्ने हो भने पनि त्यहाँको भूबनोटको वैज्ञानिक परीक्षण गराएर उनीहरूलाई पुनस्र्थापित गर्न आवश्यक छ ।’ उनले भने ।

एक हजार ४५ घर विस्थापित

पहिरोले गाउँ नै बगाउन थालेपछि बारेकोटका १ हजार ४५ घरपरिवार विस्थापित भएका छन् । बारेकोट गाउँपालिकाले संकलन गरेको क्षति विवरणमा १ हजार ४५ घरपरिवार विस्थापित भएको बताईएको छ ।

पहिरोले बारेकोट– ४ को गोठगाउँ, जिरी र सार्की टोल, ५ नम्बर वडाको कालाखोली पाखा, ६ को धुम लगायतका क्षेत्रमा क्षति पुगेको गाउँपालिकाले बताएको छ ।

गाउँपालिकाको क्षति विवरण अनुसार पहिरोको उच्च जोखिममा ४७७ घर रहेका छन् भने जोखिममा १९७ घर रहेका छन् । घटनामा परी १४ जनाको मृत्यु भएको छ । दुई जना अहिले पनि बेपत्ता छन् ।

घर भत्कि भत्किदा ६ करोड ४८ लाख १७ हजार क्षती भएको छ । त्यस्तै १ करोड ३६ लाख ४४ हजार ४ सय बराबरको शौचालयमा क्षति पुगेको छ । ४१ लाख ८० हजार बराबरको खानेपानी संरचना बगेको पाइएको छ भने कुल ८ करोड ८८ लाख ८६ हजार ४ सय बराबरको आर्थिक क्षति भएको क्षति विवरणमा उल्लेख छ ।