☰ open Loading... 19 April 2024|  

रुकुममा गैरकानुनी ढंगले गर्भपतन गराउन खोज्दा महिला र बच्चाको मृत्यु
  | २१ श्रावण २०७७, बुधबार २१:२२

 

रुकुम, साउन २१ -रुकुम पूर्वको सदरमुकामस्थित एक निजी अस्पतालले गैरकानुनी ढंगले गर्भपतन गराउन खोज्दा एक महिला र पेटमा रहेको शिशुको ज्यान गएको छ ।
जिल्लाको सिस्ने गाउँपालिका रुकुमकोटमा रहेको रुक्मिणि हस्पिटल प्रालीले कर्णाली प्रदेशको रुकुम पश्चिमको मुसिकोट नगरपालिकाकी एक २६ वर्षीय महिलाको गैरकानुनी ढंगले गर्भपतन गराउन खोज्दा मंगलबार बिहान साढे ८ बजे उनीसहित बच्चाको मृत्यु भएको हो ।
रुकुमकोटमा काम गरेर बस्दै आएकी २६ वर्षीय पुष्पा घर्तिको मंगलबाट बिहान सढे ८ बजे मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरिक्षक तथा सुचना अधिकारी दिनेश गुरुङले जानकारी दिएका छन् ।
मृतक घर्तीको रुकुम पश्चिमको गराएला भन्ने ठाँउमा बिबाह भएको समेत जनाइएको छ । बैबाहिक सम्बन्ध सुमधुर हुन नसकेपछि ती महिला रुकुमकोटमा ३ बच्चासहित मजदूरी गरेर जिविकोपर्जन गर्दै आएकी थिइन् ।
मजदूरी गर्दै आएकी ती महिलाको रुकुम पूर्वकै सिस्ने गाउँपालिका-०४, दादिङका गणेश घर्तीसँग शारीरिक सम्बन्ध पश्चात गर्भ रहेको र गणेशले नै उनको श्रीमान हुँ भनेर गर्भपतन गराउन अस्पताल लगेका हुन् । अस्पतालले ती महिलाको पेटमा २२ हप्ताको बच्चा रहेको तर जीवित नभएको भन्दै अप्रेशन गर्नुपर्ने जनाएपछि अप्रेशन गरिएको जनाइएको छ ।
झापाको भद्रपुर नगरपालिका -०६, का ३८ बर्षिय डा. रुपेश कुमार सिंङले चेकजाँच गर्दै अप्रेशन गर्न रकम डिपोजिट गराएर अप्रेशन गरेका थिए । अप्रेशन पश्वात ती महिलाको अत्यधिक रक्तश्राब भएको बच्चा र आमा दुबैको ज्यान गएको प्रहरीले जनाएको छ । भने, डाः सिंहले समेत अत्यधिक रक्तश्राब हुँदा महिलेको ज्यान गएको स्विकार गरेका छन् ।
मृतक महिलासँग गणेशले प्रेम सम्बन्ध रहेको स्विकार गरेर आउँदो अशोजमा बिहे गर्नेबारे सल्लाह भएको बयान जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वमा दिएको जनाइएको छ। 
महिलाको मृत्यु भएपछि उनका बुबा जयबहादुर घर्तिले प्रेमी भनिएका गणेश र डा. सिंहविरुद्ध ज्यान सम्बन्धि कसुर गरेको भन्दै जाहेरी दर्ता गराएका छन् ।
प्रहरीले अनुसन्धान गरिेरहेको र आवश्यक कानुनी कारबाहीका निम्ति अदालतबाट म्याद थप गरेर थप अनुसन्धान थालिएको प्रहरी निरिक्षक गुरुङले जनाएका छन् । भने, मृतक आमा र बच्चाको शवलाई पोष्टमार्टमका निम्ति जिल्ला अस्पतालमा राखिएको छ।