☰ open Loading... 20 October 2020|   मङ्लबार, कार्तिक ४, २०७७

यौनिकता शिक्षाको महत्व र आवश्यकता

  |

 

 

                                                 रिता धमला

 

नेपाली समाजमा अहिले पनि यौनका विषयमा खुलेर कुरा गर्न बर्जित छ । यौनलाई अश्लिलतासँग जोडेर हेर्ने र यस विषयमा सार्वजनिक रुपमा कुराकानी गर्नुलाई समाजको मर्यादाविपरीत ठान्ने मनोविज्ञान आजका दिनसम्म पनि हावी छ । सार्वजनिक बछलफलको विषय त परको कुरा, शिक्षकले पाठ्यक्रममा पठाउँदा होस् या विद्यार्थीले पढ्दा, यौनका विषयलाई लज्जाको विषयका रुपमा लिने प्रवृत्ति गाउँमा मात्र नभई शहरका विद्यालयमा पनि कायमै छ । यसो हुनुको प्रमुख कारण यौन शिक्षाको महत्व र सान्दर्भिकतालाई नबुझ्नु नै हो ।
समाजमा हुने यौनजन्य अपराध जस्तै बलात्कार, जवर्जस्तीकरण, एसीड प्रहार, आत्महत्या, डिप्रेसनजस्ता धेरै समस्याको कारण खोतल्दै जाने हो भने यौन शिक्षाको अभाव देखिन्छ । यौन अश्लिलता नभई मानवजातिका लागि अत्यन्तै महत्वपूर्ण सिकाईका रुपमा यसलाई अंगीकार गर्न नसक्नु नेपाली समाजको कमजोरी हो । अझ भन्ने हो भने यौनिकता शिक्षा किशोर किशोरीका लागि झनै अपरिहार्य छ । अहिले संसारभर नै यौनिकता शिक्षालाई पाठ्यक्रममा नै समावेश गरेर विद्यालय तहमै पढाउनुपर्ने अभियान चलिरहेको छ । नेपालमा पनि नेपाल युवा संस्था सञ्जाल (आयोन) जस्ता विभिन्न सामाजिक संघ संस्थाहरुले अन्तर्राष्ट्रिय संस्थाहरुको सहयोगमा अभियान सञ्चालन गरिरहेका छन् ।
यौनिकता भित्र यौन स्वास्थ्य, प्रजनन् स्वास्थ्य, यौनिक अभिमुखिकरण, महिनावारी, प्रजनन्, स्वास्थ सम्बन्ध, शारिरिक एकिकृतपना, लैड्डिक पहिचान, शारीरिक बनावटका साथै असंख्य अन्य पक्षहरुको समिश्रण, अनुभव, अनुभुति तथा अभिब्यक्ति हुने गर्दछन् । नेपालमा विद्यालय तहमा यौनिक शिक्षाका विविध पाटामा अध्ययन गराउँदै आएपनि पाठ्यक्रममा समावेश गरिएका विषयहरु पर्याप्त छैनन् । साथै तिनिहरुको समयसापेक्ष परिमार्जन गर्नु आवश्यक छ । बृहत यौनिकता शिक्षाका सबै अवयव समेटेर पाठ्यक्रममा आवश्यक परिमार्जन गर्दै विद्यालय तहबाटै पठनपाठन गराउन सकिए यसले किशोरी किशोरीलाई मात्र नभई हरेक नागरिकलाई शारिरिक, मानसिक, सामाजिकलगायत विभिन्न पक्षमा फाइदा पुग्ने विश्वास छ ।

के हो यौनिकता शिक्षा ?
बृहत यौनिकता शिक्षाले मानव विकास र यौनिकता सम्बन्धी सर्वाङ्गिण दृष्टिकोणलाई जोड दिन्छ । युनेस्कोका अनुसार “विश्वमा एचआईभीले प्रभाव पारिरहेको आवस्थामा बालबालिका तथा किशोरकिशोरीहरुलाई आफ्ना यौनिक तथा सामाजिक सम्बन्धमा जिम्मेबारपूर्ण छनौट गर्न योग्य बनाउनका लागि यौन शिक्षासम्बन्धि मुल्यमान्यता, ज्ञान र सीप प्रदान गर्नु नै वृहत यौनिकता शिक्षाको आधारभूत लक्ष्य हो ।” त्यस्तै आईपिपिएफको परिभाषा अनुसार, वृहत यौनिकता शिक्षाको अधिकारमुखी दृष्टिकोण भन्नाले “युवाहरुलाई ब्यक्तिगत सम्बन्धमा, शारीरिक र संवेगात्मक रुपमा आफ्नो यौनिकातालाई निर्धारण गर्न तथा सुखमय बनाउनका लागि उनीहरुमा यौन सम्बन्धी ज्ञान सीप अवधारणा र मान्यताको विकास गर्नु हो ।”
यौन स्वास्थ्य भन्नाले शारिरीक, मानसिक र सामाजिक रूपले यौनिकताका सन्दर्भमा हरेक पक्षबाट सक्षम भई जीवनको कल्याण हुने अवस्थाको सृजना गराउनु भन्ने बुझिन्छ । यसले यौनिकता र यौन सम्बन्धमा सकारात्मक र सम्मानजनक दृष्टिकोणको अपेक्षा राख्दछ । यसमा कुनै जबरजस्ती वा भेदभावविनाको हिंसारहित आनन्ददायी तथा सुरक्षित यौन व्यवहारको अनुभूति गरिन्छ ।
किशोरावस्थाको प्रजनन स्वास्थ्य समस्या अन्य अवस्थाको भन्दा फरक हुन्छ । किशोर अवस्थामा शारीरिक तथा मानसिक परिवर्तन तीव्र रूपमा हुने हुँदा किशोर किशोरीमा विभिन्न प्रकारको जिज्ञासा आउने गर्दछ । यति वेला पर्याप्त मात्रामा सही जानकारी भएन भने उनीहरूका जीवनमा धेरै असरहरू (जस्तै ः यौनजन्य रोगहरु लाग्ने, बलात्कार, लागू पद्धार्थ दुव्र्यसनी बन्ने, पढाइमा कमजोर हुने आदि) पर्न सक्छन् । त्यसैले किशोरावस्थामा चिन्तित बनाउने र समस्या निम्त्याउन सक्ने केही जिज्ञासाहरूलाई समेत यहाँ उल्लेख गरिएको छ ।
बृहत यौनिकता शिक्षा अन्तर्गत समावेश हुनुपर्ने विषयमा विश्वव्यापी स्थापित केही मान्यताहरु छन् । अधिकारमा आधारित शिक्षा, लैङ्गिकतता केन्द्रीत शिक्षा, यौनिकतासम्बन्धी ज्ञान, अभिवृद्धि र मूल्य बढाउने शिक्षा, यौनिकतासम्बन्धी सकारात्मक सोच विकास गर्ने शिक्षा, संवेगात्मक, सामाजिक र व्यवहारजन्य विकास गराउने शिक्षा, यौनिकता सम्बन्धी व्यवहार र दृष्टिकोणको समग्र विकास गराउने शिक्षा, लैङ्गिक हिंसा, समानता, शसक्तिकरण, भूमिका सम्बन्धी सचेतीकरण र सशक्तिकरण गर्ने शिक्षा, यौन संक्रमित रोग, एचआइभी, सुरक्षित गर्भपतन, परिवार नियोजन आदि सम्बन्धी तथ्य र ज्ञान प्रदान गर्ने शिक्षा, स्वस्थ यौन तथा प्रजनन् व्यवहार, आत्मसम्मान, आत्मनिर्णय आदि विकास गराउने शिक्षा, यौनिकता र प्रजनन् स्वास्थ्य सम्बन्धी जीवनोपयोगी सीप सिकाइ जीवन परिवर्तन गराउने शिक्षा र गुणस्तरीय जीवनयापनको लागि सहजीकरण गर्ने शिक्षा यौनिकता शिक्षाका आधारभूत तत्व हुन् ।

यौन तथा प्रजनन सम्बन्धी अधिकारहरू
यौन त मानव भएको नाताले हामी सबैले पाउनु पर्ने मानव अधिकार समान, सही र निष्पक्ष रूपमा पाउनु पर्छ भनेर हाम्रो कानुनमा पनि व्यवस्था गरिएको छ । यी मानव अधिकारहरूमा यौन तथा प्रजनन सम्बन्धी अधिकार पनि पर्दछन् जसमा तपाईंलाई आफ्नो यौन तथा यौन जीवनको जिम्मेवारीपूर्वक छनोट गर्ने अधिकार छ ।
तपाईंलाई सधैं आफ्नो यौन स्वास्थ्यको रक्षा गर्ने अधिकार छ । उदाहरणका लागि एचआईभी लगायत अन्य यौनजन्य सङ्क्रमणको रोकथाम गर्न कन्डमको प्रयोग गर्ने वा नचाहिएको अनिच्छुक गर्भ धारण नगर्नका लागि कन्डम वा अन्य परिवार नियोजनका साधनहरूको प्रयोग गर्न पाउने अधिकार छ । त्यसैले चाहे तपाईं अविवाहित वा विवाहित जुनसुकै अवस्थामा हुनु होस्, तपाईंले चाहेको बेला आफूलाई आवश्यक पर्ने स्वास्थ्य सेवा विना हिचकिचावट सजिलैसंग अर्काे व्यक्तिको अनुमतिविना नै आवश्यकता अनुसार र आफूले चाहेको परिवार नियोजनका साधनसहित सरसल्लाह लिन पाउनु तपाईंको अधिकार हो । यस्तो सेवाको उपभोगमा चाहे त्यो पुरुष वा स्त्री जुनसुकै जात, लिङ्ग र धर्मसंग सम्बन्धित वा अन्य कुनै होस्, सेवा पाउने हकमा लैङ्गिक विभेद नगरी विना भेदभाव सेवा लिन आउनेलाई सेवा दिनु पर्छ । ध्यान राख्नुहोस्, तपाईंले चाहेको वा छानेको परिवार नियोजनका साधनका बारेमा परामर्श सेवा सहित परिवार नियोजनका साधन प्राप्त गर्न पाउनु तपाईंको अधिकार हो ।
तपाईंलाई कसैसंग यौन सम्पर्क राख्ने इच्छा छैन भने कुनै प्रकारको यौन क्रियाकलापमा तपाईलाईं जबरजस्ती गर्न पाइँदैन । यौन सम्पर्क भनेको सधै दुबैको वा जोडीको समान निर्णयमा र सहमतिमा हुनु पर्छ जसले यौन व्यवहार स्वस्थ र आनन्दमय बनाउँछ ।
तपाईको प्रजनन अधिकार भन्नाले तपाईले आफ्नो शरीरको निर्णय लिन पाउनुका साथै तपाईले कति बच्चा पाउने वा नपाउने, कहिले पाउने, एउटा र अर्काे बच्चाको जन्मान्तर कति हुने भन्ने निर्णय गर्न पाउने अधिकार हो भन्ने बुझ्नु पर्छ । तर कसैले पनि कुनै केटी वा महिलालाई तिमीले बच्चा यति पाउनै पर्छ, तिमीले गर्भपतन गराउनै पर्छ भनी जबरजस्ती गर्न पाइँदैन ।
तपाईंलाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी विषयमा सूचना तथा जानकारी पाउने अधिकार छ । यसको अर्थ हो, तपाईंले पढ्ने ठाउँ विद्यालय आदि, तपाईंले सेवा लिन जाने स्वास्थ्य संस्थाबाट यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही र स्पष्ट जानकारी प्राप्त गरेको हुनुपर्दछ जसले गर्दा तपाईंले आफूले चाहेको परिवार नियोजनका साधन र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी राम्रो निर्णय लिन सक्नु हुन्छ ।
तपाईंले आफ्ना सूचना गोप्य राख्न पाउनु तपाईको अधिकार हो । यसको अर्थ हो, तपाईं स्वास्थ्य संस्थामा सेवा लिन जाँदा स्वास्थ्यकर्मीहरूले तपाईंको जस्तोसुकै सूचना गोप्य राखि दिनु पर्ने हुन्छ र नराखेका खण्डमा तपाईंले आफ्नो गोप्यता भङ्ग भएको भनी उजुरी पनि दिन सक्नु हुन्छ । तपाईं र स्वास्थ्यकर्मीबिच के छलफल भएको थियो भन्ने कुरा पत्तो लगाउने प्रयास कसैले पनि गर्न पाईदैन । गरेमा ग्राहकले अधिकार हननको उजुरी गर्न सक्दछ ।
कसैले पनि तपाईलाई लिङ्गका आधारमा भेदभाव गर्न पाईदैन र तपाईंको लिङ्गका आधारमा कसैले तपाईलाई भेदभाव गर्न नपाउने त्यो तपाईको अधिकार हो। यसको अर्थ हो, यदि तपाई समलिङ्गी (तपाईं पुरुष भएर पुरुषलाई नै माया र स्त्री भएर स्त्रीलाई नै माया गर्नु हुन्छ भने) वा तपाईं तेस्रो लिङ्गी हुनु हुन्छ भने त्यस आधारमा कसैले पनि तपाईंमाथि भेदभाव गर्न पाउँदैन।
तपाईलाई आफ्नो इच्छानुसारको जीवन बाँच्न पाउने अधिकार छ । यसको अर्थ हो, तपाईंले इच्छाएको व्यक्तिसँग विवाह गर्न पाउनु र चाहेको खण्डमा विवाह नै नगर्न पाउनु तपाईको अधिकार हो । त्यसै गरी अविवाहित आमा भए पनि कुनै पनि समाजबाट भेदभाव रहित भएर बाँच्न पाउनु तपाईको अधिकार हो ।
नेपालमा सन् २००२ मा गर्भपतनलाई कानुनी मान्यता दिइयो । नेपालको कानुनले नै सुरक्षित गर्भपतन सम्बन्धी व्यवस्था सुनिश्चित गरेको छ । आफू किशोरी वा युवा अवस्थामा हुँदा नचाहँदा नचाहँदै गर्भ रहेमा सुरक्षित तरिकाले कानुनी मान्यता अनुसार गर्भ पतन गराउन पाउँछन् । सबै प्रकारका गर्भलाई १२ हप्तासम्म गर्भपतन गराउन सकिन्छ । तर गर्भको शिशुको लिङ्ग आधारमा गर्भ पतन कानुनी रुपमा दण्डनीय मानिएको छ ।

अन्तमा, नेपाल युवा संस्था सञ्जाल (आयोन) जस्ता केही सामाजिक संघसंस्थाहरुले बृहत यौनिकता शिक्षाका बारेमा अभियान सञ्चालन गरेका छन् । यो प्रसशंनीय काम हो । सरकारले पनि यी संस्थाहरुसँग हातेमालो गर्दै यौन तथा प्रजनन स्वास्थ्य शिक्षाका बारेमा समाजको तल्लो तहसम्म अभियान सञ्चालन गर्न सक्नुपर्दछ । आमनागरिकलाई यी विषयमा आधारभूत जानकारी दिन सके मात्रै पनि यसले यौनिकता शिक्षाको महत्व र आवश्यकतालाई धेरै हदसम्म बुझाउन सहज पुग्नेछ । सबैभन्दा महत्वपूर्ण पक्ष भनेको बृहत यौनिकता शिक्षालाई विद्यालय तहदेखि नै अनिवार्य रुपमा पाठ्यक्रममा राखेर पढाउनु आजको आवश्यकता हो। सरकारले यतातर्फ ध्यान दिओस् ।

(यो आलेख आयोन र युवा तथा खेलकुद मन्त्रालयबाट प्राप्त
सूचना सामग्रीको सहयोगमा तयार गरिएको हो )

 

प्रकाशित मितिः मङ्लबार, भदौ ९, २०७७     7:58:09 PM
error: Content is protected !!