☰ open Loading... 29 March 2024|  

दैलेखमा स्वास्थ्य केन्द्रको लापरवाहीका कारण सुत्केरीको मृत्यु
  | १३ भाद्र २०७७, शनिबार १०:०२

 





दैलेख भदौ १३-दैलेखको ठाँटीकाँध गाउँपालिका वडा नं. एक सिराडीकी एक २३ वर्षीया महिलाको लकान्द्र प्राथमिक स्वास्थ्य केन्द्रको लापरबाहीका कारण ज्यान गएको आफन्तले आरोप लगाएका छन् ।

२३ वर्षकी पार्वती शाहीलाई भदौ ११ गते विहान सुत्केरी विराम लागेको र उनका आफन्त र गाउँलेको सहयोगमा स्ट्रेचरमा उनलाई केन्द्रमा ल्याइएको मृतक शाहीका भतिज सर्जन शाहीले बताए । विहान ११ बजे अस्पतालमा भर्ना गरिएको र दिउसो तीन बजे छोरीको जन्म पार्वतीले दिएको उनको भनाइ छ ।




‘हामीले अस्पताल प्रशासनलाई बारम्बार आग्रह गर्यौं । यहाँ सञ्चो हुँदैन भन्ने कुरा हामीले भन्दा पनि उहाँहरुले रेफर गर्न मान्नु भएन । उहाँले बच्चा जन्माई सकेपछि ब्लडिंग भइरहेको थियो ।’ उनले गुनासो गर्दै लोकान्तरसँग भने, ‘हामीले पालिका अध्यक्ष धीरबहादुर शाहीलाई हेलिकप्टरको व्यवस्था गरिदिन आग्रह गरेका थियौं । उहाँले हेलि आउन नसक्ने बताउनुभयो । गाउँपालिकाको एम्बुलेन्स बिग्रेका कारण साँझ ६ बजे मात्रै हामीले प्रदेश अस्पतालतर्फ विरामीलाई ल्याएका थियौं । उनको गएराति १२ बजे मृत्यू भएको प्रदेश अस्पतालका डाक्टरले घोषणा गरे ।’

उनका अनुसार साँझ ६ बजे ठाटीकाँधबाट हिँडेको गाडी राती १२ बजे मात्रै प्रदेश अस्पताल कालागाउँ पुगेको थियो । ती सुत्केरी महिलाको राती ८ देखि नौ बजेको बीचमा मृत्यू भइसकेको अनुमान उनीहरुको छ । उनका अनुसार जन्मेकी शिशुको तौल २५ सय ग्राम रहेको छ भने उनको अवस्था सामान्य रहेको छ । उनका श्रीमान भारतमा मजदुरी गर्न गएका छन् ।



यता, लकान्द्र प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. लक्ष्मी रावतले अस्पतालले कुनै पनि लापरवाही नगरेको दाबी गरिन । ‘हामीले नर्मल डेलीभरी गरायौं । बच्चा सकुशल थियो । तीन बजेर १८ मिनेटमा बच्चा जन्मेको हो । त्यसपछि ब्लेडिंग भयो । ब्लेडिंग कम हुने औषधी दिएर हामीले उहाँलाई रेफर गरिदिएका हौं । उहाँको जेठानी, देउरानी र हामी सबैलागेर उहाँको उपचार गरेका हौं । उहाँको बाटैमा निधन भएको दुःखद खबर हामीले पनि सुन्यौं । उनले भनिन् ।