☰ open Loading... 1 October 2020|   शुक्रबार, अशोज १६, २०७७

किन कमजोर बन्दैछ विद्यार्थी आन्दोलन ?

  |

 

 

 

वर्तमान समयमा विद्यार्थी आन्दोलनको औचित्य समाप्त भयो, यी सम्बद्ध सङ्गठनलाई खारेज गरे हुन्छ भन्ने भनाइ आजकल सुनिन्छ । जसलाई हिजो यही आन्दोलनले स्थापित गर्यो ती व्यक्तिहरूले समेत यस्तै आशय व्यक्त गर्नुले विद्यार्थी आन्दोलनप्रति गम्भीर प्रश्न खडा गरेको छ । के साँच्चै विद्यार्थी आन्दोलनको औचित्य समाप्त भएको हो त ? हामी जस्ता विद्यार्थी आन्दोलनमा होमिएका कार्यकर्तालाई यस प्रश्नले अन्तर हृदयसम्म कम्पन पैदा गरेको छ ।




विद्यार्थी आन्दोलन पनि विगतका विरासतपूर्ण गौरवशाली इतिहासले पुलकित भएर मात्र पुग्दैन ।


आजको सन्दर्भमा विश्व विद्यालयमा स्कुल कलेजमा अध्यन गरिरहेको मुद्दालाई हिजो हामीले भन्ने गरेको शैक्षिक पुनः संरचना जनजीविका, राष्ट्रियता, लोकतन्त्र जस्ता आधारभूत कुरालाई आत्मसात गर्दै अघि बढ्छ कि बढ्दैन मुख्य विषय हो ।

जयतु संस्कृतम आन्दोलन लगायत यस्तै पृष्ठभूमिबाट विद्यार्थी आन्दोलन सङ्गठित हुँदै अगाडि बढ्दै विकसित हुँदै आयो । देशमा राजाको प्रत्यक्ष शासन, लोकतन्त्रको चिरहरण, सरकारविरुद्ध बोल्नेहरू पक्राउ पर्नु सामान्य कुरा थियो । साथै ज्यानै गुमाउनपर्ने स्थिति पनि थियो । यस्तो अवस्थामा देशमा लोकतन्त्र स्थापना गर्नु नै देशभित्रका बाहिरका सबै प्रगतिशील, देशभक्त, आम नेपाली नागरिकको प्रमुख आवश्यकता बनेको हुनाले राजनीतिक व्यवस्था परिवर्तनको आधार खडा गर्नु नै पहिलो अनिवार्य सर्त बन्यो । विद्यार्थी आन्दोलनको पनि पहिलो मुद्दा लोकतन्त्र स्थापित गर्नु हुन पुग्यो ।

नेपालमा भएका सबै राजनीतिक अधिकार प्राप्तिको आन्दोलनमा विद्यार्थी आन्दोलनको महत्त्वपूर्ण भूमिका रह्यो । नेपालका मूल धारका राजनीतिक दलहरू र तत्कालीन विद्रोही माओवादी गणतन्त्र स्थापना गर्ने आन्दोलनमा एक ठाउँमा आउनैपर्ने थियो र आए पनि । संसदीय धारमा रहेको यथास्थितिवादको मूलतः प्रतिनिधित्व गर्ने नेपाली काँग्रेस गणतन्त्रमा जानुभन्दा पूर्ण प्रजातन्त्र, बेबी किङ जस्ता विषयमा बहस गर्दै थियो । तत्कालीन एमाले पनि केही नेताहरूको गणतन्त्र विरोधी अडानका कारण सुरुमा अन्योलमा देखिन्थ्यो । सडकमा भने दृश्य अत्यन्तै फरक थियो एमाले निकट अनेरास्ववियुका नेताहरू क. राजेन्द्र राई, ठाकुर गैरे, रामकुमारी झाँक्रीहरू गणतन्त्रको पक्षमा गगनभेदी नारा लगाउँदै आम जनताका बीचमा गणतन्त्रको लहर सिर्जना गरिराख्नु भएको थियो । त्यस्तै नेविसङ्घका नेता गगन थापा, प्रदीप पौडेल लगायत । अनेरास्ववियुको मूल नेतृत्वमा सबै विद्यार्थी सङ्गठनहरू सडकमा कफ्र्युको प्रवाह नगरी छातीमा गोली खान तयार हुँदै आफ्ना झन्डालाई पसिना, रगतले सिञ्चित गर्दै गणतन्त्रको गौरवगाथा हाम्रो सगरमाथाझैँ उँचो पारेका थिए ।

अनेरास्ववियुका अग्रज नेताहरू आफ्नो पालामा सङ्गठनमा रहेको अनुशासन सम्झ्दै भन्छन् –पञ्चायतका शासकहरू आफ्नो छोराछोरीको बिहे गर्नुपर्यो भने अखिलका जस्ता अनुशासित व्यक्ति खोज्नु भन्थे । विरोधीसमेत तारिफ गर्न बाध्य हुने कस्तो फलामे अनुशासन थियो होला । हामीले यही कुराबाट अड्कल लगाउन सक्छाँै । सङ्गठनमा आन्दोलनमा अनुशासानले अत्यन्तै महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ ।

नेपाल गणतन्त्रको सुनौलो चरणमा प्रवेश गर्यो । यतिबेला विद्यार्थी आन्दोलन जनतामाझ वाहवाही अनि जनताको प्रिय बन्यो ।

अनेरास्ववियुका अग्रज नेताहरू आफ्नो पालामा सङ्गठनमा रहेको अनुशासन सम्झ्दै भन्छन् –पञ्चायतका शासकहरू आफ्नो छोराछोरीको बिहे गर्नुपर्यो भने अखिलका जस्ता अनुशासित व्यक्ति खोज्नु भन्थे । विरोधीसमेत तारिफ गर्न बाध्य हुने कस्तो फलामे अनुशासन थियो होला । हामीले यही कुराबाट अड्कल लगाउन सक्छाँै । सङ्गठनमा आन्दोलनमा अनुशासानले अत्यन्तै महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ ।

आज उक्त कुरा सम्झिँदै तुलना गर्ने हो भने लाजले शिर निहु-याउनुपर्ने अवस्था छ । चन्दा आतङ्क, अनैतिक गतिविधि, अनुचित तवरले छात्रवृत्ति वितरण, प्राविधिकतर्फ झन् ठूलो आर्थिक चलखेल भइरहेको सुनिन्छ । केही घटना पनि बाहिर आएका छन् । जेहेनदार, निमुखा, गरिबका नाममा राखिएको सिटमा समेत मोलमोलाइ गरी कर्मचारी प्रशासनको मिलेमतोमा विद्यार्थी नेताहरू नै संलग्न रहनुले यो आन्दोलनलाई ठूलो क्षति भइरहेको छ । आजको सन्दर्भमा विद्यार्थी राजनीति भोलि कुनै नियुक्ति लिन नेताको पीए बन्नलाई मात्रै हो कि भन्ने आभाष भएको छ । यो सबै विद्यार्थी सङ्गठनको लागि दुःखद् कुरा हो । यसलाई निवारण गर्न नसकेमा विद्यार्थी आन्दोलनको दलालीकरण बाहेक अरू केही हुँदैन ।

१. शैक्षिक विषय

विद्यार्थी सङ्गठनहरू मूलतः शैक्षिक समस्याको निवारण गुणस्तरीय, जीवनउपयोगी, व्यावहारिक शिक्षा नै राज्यको शिक्षा नीति हुनुपर्छ । संविधान सभाबाट समाजवाद उन्मुख संविधान बन्दै गर्दा शिक्षालाई मौलिक अधिकारभित्र संविधानमा राख्न सफल भएका छौँ । यो पनि एउटा ठूलो उपलब्धि हो । कागजमा लेखिएको उपलब्धि बाहेक दैनिक जीवनमा परिवर्तन हुने गरी त्यसको उपलब्धि हामीले महसुस गर्न पाएनाँै । अहिले आएर प्लसटु तहलाइ समेत माध्यमिक तहभित्र राखिएको छ । संविधानमा निःशुल्क भनिएको छ तर प्रत्येक स्कुलमा विद्यार्थीहरू शुल्क तिर्न बाध्य छन् । बिनातयारी प्रमाणपत्र तह (एसईई) सरकारले निःशुल्क पढाएको शिक्षा खारेज गरियो ।

प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा पनि एउटा प्लस टु सञ्चालन गर्ने भनियो तर त्यहाँ पनि शुल्क नतिरी पढ्न नपाइने अवस्था बन्यो । विश्वविद्यालयहरू पदाधिकारीविहीन बनिरहेको छन् । भागबन्डाको आधारमा गरिएका नियुक्तिले विद्यार्थीप्रति उत्तरदायित्व देखाउनुको साटो पार्टीप्रती आफ्नो बफादारिता प्रस्तुत गर्छन ।

पोखरा विश्वविद्यालय लगायतका शैक्षिक संस्थानमा महत्त्वपूर्ण पदहरू लामो समयसम्म रिक्त हुनु दुःखद् कुरा हो । यस्ता महत्त्वपूर्ण विषयमा समेत विद्यार्थी सङ्गठनहरू प्रायः मौन छन् ।

नेपालको महत्त्वपूर्ण त्रिभुवन विश्वविद्यालयका करिब ६० वटा आङ्गिक क्याम्पस छन् जसलाई पूर्णतया सरकारी क्याम्पस मानिन्छ । तिनै क्याम्पसबाट पनि दुईथरी विद्यार्थी उत्पादन भइरहेका छन् । देशको सर्वाधिक विद्यार्थी रहेको तथा त्रिभुवन विश्वविद्यालयबाट सर्वोत्कृष्ट क्याम्पसको उपाधी समेत पाएको पृथ्वीनारायण क्याम्पस पोखरालाई सन्दर्भ राखेर हेर्ने हो भने यहाँ पनि दुईथरी विद्यार्थी उत्पादन भइरहेका छन् । धेरै ठूलो दबाब आन्दोलनपछि टीयूले नयाँ विषय सञ्चालनका लागि स्वीकृति त दिन्छ तर कुनै पनि व्ययभार नव्यहोर्ने । कस्ट रिकभरी सिस्टममा सञ्चालन गर्दा एकदमै महँगो शुल्क पर्न जान्छ । बीबीए, बीपीए, बीएससी, सीएसआइटी, एमएससी फिजिकस्, माइक्रो बायलोजी लगायत धेरै विषय त्यसरी नै सञ्चालन भएका छन् । जहाँ विद्यार्थीको पोसाक, कुर्सी, बेन्चसमेत फरक राखिएको छ । त्यही प्रणालीअन्तर्गत देशभर पढाइ भइरहेको छ । समाजवाद उन्मुख संविधान, देशमा जननिर्वाचित कम्युनिस्ट सरकार, शिक्षालाई संविधानमा ग्यारेन्टी गरिएको अवस्था अनि हामी जाने बाटो समाजवादी भएको हुनाले कम्तीमा पनि देशमा रहेका आङ्गिक क्याम्पसमा पढाइ निःशुल्क हुनुपर्दछ ।

माध्यमिक तहमा सरकारले चर्को लगानी गरिरहेको छ । तर आशा गरिएको नतिजा प्राप्त गर्न सकिरहेको छैन । अभिभावकहरू आफ्ना छोराछोरीलाई सार्वजनिक स्कुलमा पठाउन तयार छैनन् । पढाइ हुँदैन, भए पनि गुणस्तरीय छैन भन्ने धारणा राख्छन् अनि आफ्नो सामाजिक प्रतिष्ठासँग जोडेर हेर्न अनि नाक खुम्च्याउने कुराले सरकारको लगानी बालुबामा पानी भइरहेको पनि छ । अधिकांश स्कुलमा संरचना मात्रै छन् विद्यार्थी सङ्ख्या अत्यन्तै दयनीय छ ।

सरकारले पनि अभिभावकत्व ग्रहण गर्ने भन्दै नाटक मञ्चनबाहेक ठोस परिणाममुखी प्रभावकारी कार्यक्रम ल्याउन सकेको छैन । सार्वजनिक स्कुलमा विद्यार्थी फर्काउने अभियानको प्रमुख दायित्व अब विद्यार्थी आन्दोलनले लिनुपर्दछ । यस विषयमा राज्य पनि थोरै निर्मम भएर अगाडि बढ्नुपर्ने देखिन्छ । दुई खाले शिक्षा प्रणालीले सानैदेखि राम्रो नराम्रो, सम्मानित अपमानित जस्ता कुराको महसुस हुँदै थाहै नपाई एकखाले हीनताबोध बाल मस्तिष्कमा विकसित गराइदिन्छ । सानैबाट हामी उनीहरूलाई एउटा असहजपूर्ण, अमैत्रीपूर्ण वातावरणमा धकेलिरहेका छौँ ।

दोस्रो चरणमा नेपालमा रहेका सबै राष्ट्र सेवक कर्मचारीका छोराछोरीलाई अनिवार्य सरकारी स्कुलमा पढाउन पर्ने नियम बनाई कडाइका साथ लागू गरौँ । सरकारी स्कुलमा अध्ययन गरेका विद्यार्थीलाई राज्यले दिने अवसरमा पहिलो प्राथमिकता प्रदान गरौँ । म त यहाँसम्म भन्छु कि स्नातक तहसम्म सरकारी स्कुल, क्याम्पसमा अध्ययन गरेको विद्यार्थीलाई लोक सेवा आयोग, शिक्षा सेवा आयोग, जस्ता अवसरमूलक परीक्षाहरूमा स्वतः केही अङ्क प्रदान हुने व्यवस्था गरौँ ।

शिक्षा राज्यको मूल दायित्व हो । हरेक परिवर्तनको वास्तविक आधार पनि यही हो । पहिलो चरणमा राजनीतिक पार्टीका केन्द्रीय कमिटीका नेतादेखि कम्तीमा पनि जिल्ला पदाधिकारीसम्मलाई आफ्ना छोराछोरी सरकारी स्कुलमा पढाउने बाध्यकारी व्यवस्था गरौँ । कम्तीमा पनि सत्तासीन कम्युनिस्ट पार्टीबाट यसको थालनी गरौँ । अचम्मको कुरा के छ भने पार्टी नेता कार्यकर्ताहरू स्कुल व्यवस्थापन समितिमा बस्न तँछाडमछाड गर्ने तर आफ्ना छोराछोरीलाई त्यही स्कुलमा पढाउन तयार छैनन् । सुरुमा यो मानसिकतालाई परिवर्तन गरौँ ।

दोस्रो चरणमा नेपालमा रहेका सबै राष्ट्र सेवक कर्मचारीका छोराछोरीलाई अनिवार्य सरकारी स्कुलमा पढाउन पर्ने नियम बनाई कडाइका साथ लागू गरौँ । सरकारी स्कुलमा अध्ययन गरेका विद्यार्थीलाई राज्यले दिने अवसरमा पहिलो प्राथमिकता प्रदान गरौँ । म त यहाँसम्म भन्छु कि स्नातक तहसम्म सरकारी स्कुल, क्याम्पसमा अध्ययन गरेको विद्यार्थीलाई लोक सेवा आयोग, शिक्षा सेवा आयोग, जस्ता अवसरमूलक परीक्षाहरूमा स्वतः केही अङ्क प्रदान हुने व्यवस्था गरौँ । केही यस्ता महत्त्वपूर्ण परिवर्तनहरू गरौँ जसले विद्यार्थीहरू आकर्षित बनून् । जब विद्यार्थीहरू सरकारी स्कुलहरूमा भरिन थाल्छन् । त्यहाँका असहजता, विकृति विसङ्गति पनि बाहिर आउँछन् । तिनको निवारण गर्दै हाम्रो सार्वजनिक शिक्षालाई प्रभावकारी बनाउँदै जानुपर्छ । हेर्दा सानो देखिने तर विद्यार्थीसँग प्रत्यक्ष जोडिन विषयवस्तुलाई उठान गर्न जरुरी छ । पहिला पहिला विभिन्न श्रेणीका अडिट लाइसेन्समा व्यवस्था गरिएको थियो । अहिले रोकिएको छ, त्यसलाई मात्रै खुलाउन सक्ने हो भने धैरै विद्यार्थीको आयआर्जनको पेसा बन्न सक्छ । यसलाई खुलाउनतर्फ हामी गम्भीर हुन जरुरी छ । जसले शिक्षा पढेको छ उसैलाई टिचिङ लाइसेन्स चाहिने यो अचम्मको व्यवस्था खारेज गरौँ । बरु अन्य विषय अध्ययन गर्नेलाई लागू गराँै ।

मन्टेस्वरी, नर्सरीका पाठ्यपुस्तकमा विदेशी तस्बिरलाई विशेष प्राथमिकता दिइएको छ यसलाई परिवर्तन गरी हाम्रै नेपालका विषयवस्तु समावेश गर्नेतर्फ ध्यान जान जरुरी छ ।

नैतिक शिक्षा, देशभक्ति, गौरवगाथा, विश्वमा अटल रहेको हाम्रो स्वाभिमान, नेपालको गौरवशाली इतिहासका कुराहरू पनि हाम्रा पाठ्यपुस्तकले बोक्दा थप प्रभावकारी हुन सक्छ ।

निजी शिक्षा शिक्षाभन्दा पनि सान, दम्भ अनि अहंकारको प्रतीक बन्न पुगेको छ । तिनलाई निरुत्साहित पार्दै प्रभावकारी अनुगमन र मापदण्डमा निर्ममतापूर्वक कडाइ आवश्यक छ ।

२. स्ववियु

विद्यार्थीहरूको साझा स्वतन्त्र अनि वैधानिक मञ्च स्ववियुको महत्त्वको बारेमा अहिलेका धेरै विद्यार्थीलाई थाह नै छैन । हाम्रा अग्रजहरूले ठूलो बलिदानीपूर्ण सङ्घर्षबाट स्थापित गरेको संस्था आज मृतप्रायः छ । यसले विद्यार्थी सङ्गठनहरूलाई आन्दोलनलाई नपोल्नु बडो उराँठलाग्दो विषय हो । आफ्ना कुण्ठा अहङ्कारमा सवार भएर जित्छौँ कि जित्दैनौँ ? मेरो मान्छे उम्मेदवार हुन्छ कि हुँदैन ? जस्ता नितान्त आत्मकेन्द्रित व्यक्तिगत आग्रह पूर्वाग्रहबाट ग्रसित भएर निर्वाचन स्थगित गरिँदै आएको छ । मार्क्सवादले भनेझैँ कुनै पनि वस्तुको विकास र विनाशमा वस्तु स्वयं नै प्रमुख कारक हो । स्ववियु निर्वाचन हुन नसक्नुको मुख्य दोषी विद्यार्थी आन्दोलन यस सङ्गठनहरू नै हुन् । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) एकता भइसकेपछि विशाल बनेको अनेरास्ववियु स्ववियु आन्दोलन जोगाउन चट्टानी अडानमा खडा हुनुपर्नेछ । यसको जननी विद्यार्थी आन्दोलन र अनेरास्ववियु हो । त्यसैले यसको रक्षा र विकास पनि हाम्रो प्रमुख दायित्व हुन आउँछ । यस अर्थमा पनि हाम्रो दायित्व हो । हामी सधैँ विजेता हो । मैले हाम्रो सङ्गठनका केही नेताहरूको कुनै अमुक विद्यार्थी सङ्गठनले मानेन त्यसैले भएन भन्ने लज्जास्पद तर्क सुन्ने गरेको छु । प्रतिबन्धित विप्लव निकट विद्यार्थी सङ्गठन फेरि पनि नाआउला रे अनि अनन्तकालसम्म स्ववियु निर्वाचन नगर्ने त ? विद्यार्थी आन्दोलन बेथिति, विकृति, विसङ्गति देशभक्ति, जनजीविका, राष्ट्रियता, लोकतन्त्र, गणतन्त्रको पक्षमा आगो ओकल्ने र जनताको पक्षमा सरकारलाई काम गर्न विवश तुल्याउने शक्तिशाली आन्दोलन हो । विद्यार्थीहरू सबैभन्दा छिटो तरङ्गित अनि प्रभावित हुन्छन् । प्रचार प्रसार अत्यन्तै छिटो हुन्छ । गलत कुराको प्रतिवाद गर्ने विशेष धातुले बनेका हुन्छन् बिस्तारै बिस्तारै त्यही धातुलाई खियाउने कुचेष्टा हुँदैछ । आज युवाको आवाज उहीँ पुराना नेताहरूले बोलिरहेछन् । वर्तमान विद्यार्थी र नेतामा सम्बन्ध टुटेको छ । त्रिभुवन विश्वविद्यालय, पृथ्वीनारायण क्याम्पस, त्रिचन्द्र क्याम्पस, अस्कल क्याम्पस, यस्ता क्याम्पसको सभापति (अध्यक्ष) विद्यार्थीबाट निर्वाचित भएर आएको भनेपछि मानिसहरूले हेर्ने दृष्टिकोण फरक अलि विशिष्ट रहने गर्दछ । नयाँ पुस्ता उत्पादन हुन सकेको छैन । राजनीतिक पार्टी पनि केही गलत हुनसाथ यिनीहरूको सडकमा आइहाल्छन् प्रतिवाद गर्छन् । त्यसैले स्ववियु निर्वाचन नभए नहोस् भनेर गैह्रजिम्मेवार बनिरहेका छन् । आफूलाई दबाबमा परेको महसुस गर्ने हुनाले यो विषयमा सरकार र प्रतिपक्षी ठ्याक्कै मिलेका छन् । हिजो विद्यार्थीबाट स्थापित नेतृत्व मन्त्रीमण्डलमा, पार्टीको नेतृत्वदायी ठाउँमा रहँदा पनि आफू स्थापित भएको आन्दोलनको चटक्कै माया मार्नु दुखद् कुरा हो । विद्यार्थीहरूले हस्तक्षेप गरी आफ्नो पक्षमा क्याम्पस प्रशासन ल्याउने अधिकार भएको हुँदा स्ववियुलाई मृत्युशय्यामा छटपटाउन दिइरहन सकिँदैन । स्ववियु निर्वाचनको ग्यारेन्टी गर्ने, उपयुक्त समयमा निर्वाचन गर्न वातावरण तयार गर्ने पहिलो काम अहिलेको विद्यार्थी आन्दोलनको हो । देशभरिकै सबैभन्दा विशाल अनि विजेता सङ्गठनको नाताले स्ववियु निर्वाचन गराउने वातावरण पैदा गर्ने जिम्मेवारी अनेरास्ववियुकै हो ।

गुणस्तरीय र जीवन उपयोगी शिक्षा सहज रूपमा बिनाभेदभाव पाउनुपर्ने हाम्रो उद्देश्य हो । जसरी हुँदाखानेर हुनेखाने वर्गका विद्यार्थीबीच सानैबाट विभेदको लकीर कोरिएको छ यसको समूल नष्ट गर्दै राज्यलाई शिक्षाको पूर्ण दायित्व लिन लगाएर समान शिक्षा लागू गर्नु विद्यार्थी आन्दोलनको अभीष्ट बन्नुपर्छ ।

पाकिस्तानका प्रधानमन्त्री बेनजिर भुट्टो अपदस्थ हुँदा लोकतन्त्रको पक्षमा आफ्नो मित्र राष्ट्र भएका नाताले यहाँ आन्दोलन गर्ने अनेरास्ववियु अहिले देशमा भइरहेको भ्रष्टाचार, कालोबजारी, कमिसनखोरी, बलत्कार, दलाली अनि नवउदारवादी नीतिका विषयमा मौन समर्थन जनाइरहेको छ । आमजनताको हृदय चिरिने गरी भएको निर्मला बलत्कार अनि हत्या प्रकरण, सिन्डिकेटको खारेजी फेरि बहाली, ३३ किलो सुन प्रकरण, कल्पनै गर्न नसकिने गरी सात अर्ब घोटाला कोरिएको वाइडबडी प्रकरण यस्ता मुटुलाई नै थर्कमान बनाउने, एक स्वाभिमानी सचेत नागरिकलाई हल्लाइदिने यस्ता घटना विद्यार्थी आन्दोलनले देखेको नदेखै गरेर छोडिदियो । अनि हामी कसरी जनजीविकाको पहरेदार हुन पुग्यौं त ? उता एमसीसी अमेरिकी सुरक्षा नीतिको अङ्ग भनेर स्पष्ट लेखिएको छ । अमेरिकी विदेशमन्त्रीले समेत इन्डो प्यासिफिक स्ट्राटेजीको अङ्ग हो भनेको सन्दर्भमा आफ्नो परराष्ट्रनीति ख्यालै नगरी जसरी पनि पास गराउँछु भन्ने अठोट दोहोर्याउनु पक्कै राम्रो कुरा होइन । त्यहाँ केही यस्ता बुदाँ छन् जसले नेपालको राष्ट्रिय स्वाभिमानमाथि कुठाराघात गर्दछ । एउटा सामान्य सम्झौतालाई जननिर्वाचित संसदबाट पास नगराई नहुने अभीष्ट के हो ? ख्याल राखौँ हिन्दुस्तानमा अङ्ग्रेजहरू व्यापारी बनेर छिरेका हुन् तर कति समय शासन गरे । भारतीय विस्तारवाद अमेरिकी साम्राज्यवाद मूर्दावाद भन्नेहरूले यसको स्वरूप चिन्नसक्ने हो भने पछुताउनु शिवाय केही हुँदैन । यस्तो राष्ट्रिय स्वाभिमानमाथि जोडिएको प्रश्नमा विद्यार्थी नेतृत्वमा नेतृत्व तहमा रहेका व्यक्तिहरूबाट खुलमखुला समर्थनमा वक्तव्यबाजी गर्नु विद्यार्थी आन्दोलनको अपमान हो । हुन त कमिटीका बैठकमा आफ्नो हैसियत बिर्सेर नेतालाई पानी पिलाउनको लागि गरेको तँछाडमछाड गरेको दृश्य देखेर लाज पनि लजाउँथ्यो । अदालतमा अख्तियारमा समेत भ्रष्टीकरणको दुर्गन्ध आएको बेलामा सचेत विद्यार्थीहरूको प्रयत्न तिनलाई सुधार्नतर्फ बल पुर्याउनुपर्ने होइन र ?

अन्त्यमा गुणस्तरीय र जीवन उपयोगी शिक्षा सहज रूपमा बिनाभेदभाव पाउनुपर्ने हाम्रो उद्देश्य हो । जसरी हुँदाखानेर हुनेखाने वर्गका विद्यार्थीबीच सानैबाट विभेदको लकीर कोरिएको छ यसको समूल नष्ट गर्दै राज्यलाई शिक्षाको पूर्ण दायित्व लिन लगाएर समान शिक्षा लागू गर्नु विद्यार्थी आन्दोलनको अभीष्ट बन्नुपर्छ । जनताका दैनिक समस्या, कमिसनखोरी दलालीकरणले निर्लज्ज राज्यको दोहन गरेका छन् । तीनका विरुद्धमा आन्दोलनको आँधीबेरी सिर्जना गर्दै आमजनतालाई उनका हकहितका जीविकाका पक्षमा विद्यार्थी आन्दोलनबाट सदैव साथ रहनेछ भन्ने भरोसा दिलाउन सक्नु नै यो गौरवशाली विरासतपूर्ण आन्दोलनको सफलता हुनेछ ।

(लेखक अनेरास्ववियुका केन्द्रीय सदस्य हुन् ।)

प्रकाशित मितिः आइतवार, भदौ १४, २०७७     12:36:15 PM
error: Content is protected !!