☰ open Loading... 19 April 2024|  

विद्यालय निर्माणमा अनियमितता
  | २३ भाद्र २०७७, मंगलवार ०९:२०

 

सुर्खेत – सुर्खेतको चिंगाड गाउँपालिका–३, स्थिति नेपाल राष्ट्रिय माध्यमिक विद्यालय काँडाघुवानीको दुई तले पक्की भवन निर्माण गर्दा पहिलो तलामै सम्झौता उल्लंघन गरेको पाइएको छ । विद्यालय भवनको भित्तामा इँटा, सिमेन्ट र बालुवाको प्रयोग गर्ने उल्लेख भए पनि माटो र ढुंगा प्रयोग गरेर विद्यालय व्यवस्थापन समितिले उक्त सम्झौताको उल्लंघन गरेको हो ।

 

५० लाख रूपैयाँ लागतमा निर्माण हुन लागेको उक्त भवनको भित्तामा माटो र ढुंगा प्रयोग गरिएको छ । सम्झौताविपरीत काम हुँदा भवनको गुणस्तरीयतामाथि नै स्थानीयले शंका गर्न थालेका छन् । विद्यार्थी संख्याको अनुपातमा अपर्याप्त कक्षा कोठा हुँदा शिक्षा विकास निर्देशनालयले यहाँ दुई तले पक्की भवन निर्माण गर्न लागेको थियो । उक्त भवन निर्माणको जिम्मा विद्यालय व्यवस्थापन समितिले लिएको छ । दुई तले बन्नु पर्ने भवन अहिले एक तलसम्म पूरा भएको छैन तर शिक्षा विकास निर्देशनालयबाट दोस्रो किस्तासमेत भुक्तानी भइसकेको छ । ‘विद्यालय भवन मापदण्डविपरीत भएको छ,’ स्रोतले भन्यो, ‘इँटा, सिमेन्ट र बालुवा प्रयोग गर्ने भनिए पनि माटो र ढुंगा मात्र प्रयोग गरिएको छ ।’ जसले गर्दा भवनको गुणस्तरीयतामाथि प्रश्न चिन्ह खडा हुने उनको भनाइ छ ।

 

इँटा, सिमेन्ट र बालुवा प्रयोग नगरि निर्माण जिम्मा लिएकाले रकम हिनामिना गर्न खोजेको उनको आरोप छ ।
यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोधविक्रम जिसीले भने माटो र ढुंगा प्रयोग गर्ने नियति नभइ बाध्यता भएको बताए । बन्दाबन्दी (लकडाउन) को समयमा इँटा, सिमेन्ट र बालुवा ढुवानी गर्न नसक्दा माटो र ढुंगा प्रयोग गरेको उनको भनाइ छ । ‘लकडाउनमा सामग्री ढुवानी गर्न समस्या भयो,’ उनले भने, ‘त्यसैले सम्झौताअनुसार काम हुन सकेन । भित्तामा प्रयोग गरिएका ढुंगा पनि राम्रो प्रयोग गरेका छौं ।’ भवनको अन्य काम सम्झौताअनुसार भएको उनले बताए । विद्यालयका प्रधानाध्यापक शेरबहादुर जिसीले विद्यालयको भवन निर्माण कार्य सम्पन्न नभएको बताए । ‘भवन निर्माण कार्य सकिएको छैन,’ उनले भने, ‘अहिले नै यसो भयो उसो भयो भन्नु राम्रो हुँदैन ।’ भवन कार्य सकिएपछि सम्झौताअनुसार भए नभएको विषय उठाउनु पर्ने उनको भनाइ छ । उनले यसो भनिरहँदा सुरुदेखि त्रुटि गर्ने र पछि भवनलाई रंगरोगन गरेर सम्झौताविपरीत भएको काम लुकाउन खोजेको स्रोतको भनाइ छ ।

 

 

शिक्षा विकास निर्देशनालयले पनि सम्झौताअनुसार काम नभएको बताएको छ । सम्झौतामा भवनको भित्ता निर्माण गर्दा इँटा, सिमेन्ट र बालुवा प्रयोग गर्ने भनिए पनि माटो र ढुंगा प्रयोग भएको बताएको छ । शिक्षा विकास निर्देशनालयबाट प्राविधिक कोरोनाका कारण अनुगमन गर्न नसक्दा विद्यालय व्यवस्थापन समितिले आफूखुसी सम्झौताविपरीत काम गरेको शिक्षा विकास निर्देशनालयकी निमित्त निर्देशक दीपा हमालले बताइन् । ‘लकडाउनले हामी फिल्ड जान सकेनौं,’ उनले भनिन्, ‘विद्यालय व्यवस्थापन समितिले ढुंगा र माटो प्रयोग गरेको हामीलाई जानकारी गराएन । पछि हेर्न जाँदा सम्झौताभन्दा फरक काम भएको पाइयो ।’ अरु काम सम्झौताअनुसार भए पनि भित्ता भने सम्झौताविपरीत भएको उनको भनाइ छ । विद्यालय व्यवस्थापन समितिले नागरिकसँग ढुंगा र माटो प्रयोग गर्ने विद्यालयको निर्णय शिक्षा विकास निर्देशनालयमा जानकारी गराएको भने पनि शिक्षा विकास निर्देशनालयले भने अहिलेसम्म माटो र ढुंगा प्रयोग गर्ने विषय जानकारी नआएको बताएको छ ।


१) माटो र ढुंगा प्रयोग गरिएको निर्माणाधीन विद्यालय भवन ।
२) भवन निर्माणका लागि गरिएको सम्झौता ।