☰ open Loading... 9 October 2024|  

शिक्षक नियुक्तिको प्रक्रिया खोज्दा कुटपिट
  | २३ भाद्र २०७७, मंगलवार १७:२०

दैलेख । विद्यालयको कर्मचारी नियुक्तिको प्रक्रिया बुझ्न खोज्दा कुटपिट गरिएको छ । दैलेखको भैरवी गाउँपालिका स्थित महादेव माध्यामिक विद्यालय पानीपोखरामा गरिएको कम्प्युटर शिक्षकको नियुक्त सम्बन्धमा बुझ्न खोज्दा स्थानीय जीवन आचार्यलाई सोही गाउँका भरत बुढाले कुटपिट गरेका हुन् ।
विद्यालयको कम्प्युटर शिक्षकमा खुल्ला विज्ञापन नगरी आन्तरिक प्रक्रियाबाट स्थानीय टेकेन्द्रराज आचार्यलाई नियुक्ति गरिएको पिडीत आचार्यले जानकारी दिए ।
‘विद्यालयको कम्प्युटर शिक्षकमा नियुक्ति कुन प्रक्रियाबाट गरिएको हो । खुल्ला प्रतिस्पर्धाबाट छनौट गर्नुपर्नेमा किन सोझै आन्तिरक प्रक्रियबाट नियुक्ति गरियो । भन्ने कुरा सोध्दै थिए ।’ पिडीत आचार्यले भने, ‘मेरो प्रश्नको जवाफ मुक्काबाट दिइयो ।’

पीडक भरत बुढा भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बुढाका छोरा हुन् भने नियुक्ति गरिएका शिक्षक टेकेन्द्रराज आचार्य अध्यक्ष बुढाका छोरी ज्वाईं हुन् ।
विद्यालयमा शिक्षक नियुक्ति प्रक्रियाकै सम्बन्धमा प्रदेश सभा सांसद सुशील थापा र गाउँपालिका अध्यक्ष बुढाको रोहवरमै आफुमाथि कुटपिट गरिएको पिडीत आचार्यले बताए ।

‘विद्यालयको गतिविधिका बारेमा बुझ्न पाउनु मेरो अधिकार हो ।’ पिडीत आचार्यले भने, ‘सार्वजनिक स्थलको सूचना माग्दा मलाई कुटपिट गरिनु सूचना पाउने अधिकारबाट बन्चित गर्न खोजिएको हो ।’
आफुमाथि कुटपिट भएपछि न्यायका लागि प्रहरी चौकी खम्बगाडेमा उजुरी दिने तयारी भैरहेको पिडीत आचार्यले जानकारी दिए ।