☰ open Loading... 9 October 2024|  

महामारीको बेलामा कम्पनीको साधारणसभामा अनलाइन उपस्थिति
  | २४ भाद्र २०७७, बुधबार ०८:२९

 

अवतार न्यौपाने


कम्पनी कानूनद्वारा सृजित व्यक्ति भएकाले कम्पनीले आफै प्राकृतिक व्यक्तिसरह हकअधिकार प्रयोग गर्न सक्दैन । त्यसैले कम्पनी सञ्चालन गर्न प्राकृतिक व्यक्ति संलग्न भएका विभिन्न अंगको जस्तै साधारणसभा, सञ्चालक समितिसमेतको व्यवस्था गरिएको छ । कम्पनीका सम्पूर्ण सेयरधनी संलग्न भएर निर्णय गर्ने औपचारिक रूपमा सञ्चालन भएको सभालाई साधारणसभा भनिन्छ । सेयरधनीले कम्पनीप्रति देखाउने चासो तथा कार्यले कम्पनीको समुचित व्यवस्थापन तथा सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्छ । साधारणसभामार्फत सेयरधनीले कम्पनी सञ्चालनमा नियन्त्रण कायम राख्छन् । कम्पनीको साधारणसभाले सञ्चालकको निर्वाचन÷नियुक्ति गर्ने र तिनीहरूको भत्ता तथा पारिश्रमिक तोक्ने, लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने, कम्पनीको वार्षिक लेखापरीक्षण प्रतिवेदनसहितका आर्थिक विवरण (वासलात) र सञ्चालक समितिको प्रतिवेदनमा छलफल गर्ने, कम्पनीको मुनाफाबाट वितरण गरिने लाभांशको दर निर्धारण गर्ने, कम्पनी गाभ्ने वा गाभिने, डिबेञ्चर जारी गर्ने, कम्पनी खारेज गर्ने वा खारेजीमा पठाउनेलगायत कार्य गर्न सक्छ ।



विश्वमा हाल कोरोना भाइरसले धेरै क्षेत्रमा असर पारेको छ । नेपालमा समेत २०७६ चैतदेखि कोरोनाको असर परेको छ । नेपाल सरकारले २५ जनाभन्दा बढी नागरिक एकैपटक जम्मा हुन निषेध गरेको छ । कम्पनीले प्रत्येक आर्थिक वर्ष पूरा भएको ६ महिनाभित्र वार्षिक साधारणसभा गराउनुपर्छ । यदि आर्थिक वर्ष समाप्त भएको तोकिएको म्याद ६ महिना र थप ३ महिना गरी ९ महिनाभित्र पनि वार्षिक साधरणसभा नबोलाइएमा कम्पनी रजिस्ट्रारको कार्यालयले वार्षिक साधारणसभा बोलाउन निर्देशन दिन सक्छ । यदि तोकिएको समयमा साधारणसभा नबोलाइएमा त्यस्तो कम्पनीका सञ्चालक तथा पदाधिकारीलाई ५० हजार रुपैयाँसम्म जरीवाना हुन सक्छ । त्यसैले कम्पनी ऐनले तोकेको समयमा नै साधारणसभा बोलाउनुपर्छ । हाल कोरोना त्रास तथा सरकारले लगाएको निषेधाज्ञाका कारण कम्पनीले विद्युतीय माध्यम वा भिडियो कन्फरेन्सद्वारा साधारणसभा बोलाउन सक्छन् । कम्पनी ऐन, २०६३ ले पब्लिक कम्पनीको साधारणसभामा सञ्चालकलाई मात्र भिडियो कन्फरेन्सद्वारा उपस्थित हुनसक्ने व्यवस्था गरेको छ तर सेयरधनीलाई यो अवसर दिएको छैन ।



कम्पनी ऐन, २०६३ को दफा ६८ (२) मा कम्पनीको कुनै सञ्चालक नियन्त्रणबाहिरको परिस्थिति परी कम्पनीको साधारणसभामा स्वयम् उपस्थित हुन नसकेमा भिडियो कन्फरेन्स वा त्यस्तै प्रकारको अन्य प्रविधिमार्पmत साधारणसभामा उपस्थित हुन र आफ्नो मत प्रयोग गर्न सक्छ । यसरी भिडियो कन्फरेन्स वा त्यस्तै प्रकारको अन्य प्रविधिबाट उपस्थित भई साधारणसभामा आप्mनो मत प्रयोग गर्न सक्छन् भनी उल्लेख गरिएको छ र यो विशेष व्यवस्था सञ्चालकलाई मात्र गरिएको हो । त्यस्तै कम्पनी ऐन, २०६३ को दफा ७५ (२) मा कम्पनीले साधारणसभामा भएको काम कारबाहीको विवरण (माइन्यूट) एउटा छुट्टै किताबमा राख्दा, सभाको सूचना कसरी जारी गरियो, कति सेयरधनीहरू उपस्थित थिए, भिडियो कन्फरेन्स वा त्यस्तै प्रकारका अन्य प्रविधिमार्फत साधारणसभामा उपस्थित भएकोमा त्यसरी उपस्थित हुने सञ्चालकको संख्या जम्मा सेयरको कति प्रतिशतको प्रतिनिधित्व भएको थियो, सभामा केके निर्णय गरियो र मतदान भएकोमा मतदानको परिणाम के भयो आदि सबै विषय खुलाउनुपर्छ भनी उल्लेख गरिएको छ । कम्पनी ऐनका यी व्यवस्थाले पब्लिक कम्पनीको वार्षिक साधारणसभामा सञ्चालकले भिडियो कन्फरेन्स वा त्यस्तै प्रकारको अन्य प्रविधिबाट उपस्थित भई साधारणसभामा आफ्नो मत प्रयोग गर्न सक्छन् भने सेयरधनीले आफ्नो मत प्रयोग गर्न पाउने गरी कुनै व्यक्तिलाई आफ्नो प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न पाउँछ ।



सबै प्राइभेट कम्पनीको साधारणसभामा सञ्चालक तथा सेयरधनीले भिडियो कन्फरेन्स वा त्यस्तै प्रकारको अन्य प्रविधिबाट उपस्थित भई साधारणसभामा आफ्नो मत प्रयोग गर्न सक्छन् । तर, यो व्यवस्था कम्पनीको नियमावलीमा वा सर्वसम्मत सम्झौतामा व्यवस्था गरिएबमोजिम हुनेछ । कम्पनीको नियमावलीमा रोक लगाएको अवस्थामा बाहेक कुनै प्राइभेट कम्पनीको कुनै सेयरधनीले कुनै पनि सञ्चारमाध्यमबाट सबै सेयरधनीसँग सञ्चार सम्पर्क गरी प्रत्येक सेयरधनीले बोलेको कुरा अन्य सेयरधनीहरूले सुन्न वा पढ्न सक्ने गरी अर्को सेयरधनीसँगको सञ्चार सम्पर्कमा सहभागी भएमा त्यसरी सञ्चार सम्पर्कमा सहभागी हुने प्रत्येक सेयरधनीले अन्य सेयरधनीसँग साधारणसभामा भाग लिएको मानिनेछ भन्ने व्यवस्था कम्पनी ऐन, २०६३ को दफा १५० मा गरिएको छ ।



त्यस्तै एकल सेयरधनी भएको प्राइभेट कम्पनीले सञ्चालक समितिको बैठक तथा साधारणसभा बोलाउनु नपर्ने व्यवस्था कम्पनी ऐन, २०६३ ले गरेको छ । कम्पनी ऐन, २०६३ को दफा १५२ मा एकल सेयरधनी भएको कम्पनीले नियमावलीमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक कम्पनीको सञ्चालक समिति वा साधारण सभाबाट गर्नुपर्ने भनिएको सम्पूर्ण कामकारबाही तथा निर्णय त्यस्तो सेयरधनीको लिखित निर्णयअनुसार हुनेछ । त्यसका लागि सञ्चालक समितिको बैठक वा साधारणसभा बोलाउनुपर्ने छैन । कुनै प्राइभेट कम्पनीका सेयरधनीहरूबीच भएको सर्वसम्मत सम्झौतामा कम्पनीको वार्षिक साधारणसभा नगर्ने कुरा उल्लेख भएको रहेछ भने सो सम्झौताको अवधिभर त्यस्तो प्राइभेट कम्पनीले वार्षिक साधारणसभा गर्नुपर्ने छैन । वार्षिक साधारणसभा नगर्ने गरी सर्वसम्मत सम्झौता भएकोमा साधारणसभाबाट गर्नुपर्ने विषयमा निर्णय गर्ने कार्यविधि तथा निर्णय गर्ने अख्तियारका बारेमा भने उक्त सर्वसम्मत सम्झौतामा उल्लेख गर्नुपर्छ । साथै सोही सर्वसम्मत सम्झौतामा तोकिएको व्यक्ति वा निकायबाट निर्णय गरी कार्यान्वयन गर्नुपर्छ । प्राइभेट कम्पनीलाई भिडियो कन्फरेन्स वा त्यस्तै प्रकारको अन्य प्रविधिमार्फत साधारणसभा सञ्चालन हुन सक्ने आधुनिक प्रविधिलाई कम्पनी ऐनले व्यवस्था गरेको छ र यो व्यवस्था पब्लिक कम्पनीको हकमा समेत लागू गर्न कम्पनी ऐन, २०६३ मा संशोधन गर्न आवश्यक छ ।