☰ open Loading... 20 April 2024|  

समाचार प्रभाव: विद्यालय भवनमा अनियमितता, अख्तियारले थाल्यो छानबिन
  | २५ भाद्र २०७७, बिहीबार २०:३७

 

सुर्खेत – सुर्खेतको चिंगाड गाउँपालिका–३, स्थिति नेपाल राष्ट्रिय माध्यमिक विद्यालय काँडाघुवानीको दुई तले पक्की भवन निर्माणमा अनियमितता भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ। विद्यालय भवनको भित्तामा इँटा, सिमेन्ट र बालुवाको प्रयोग गर्ने भनिए पनि माटो र ढुंगा प्रयोग गरी भवन निर्माणमा अनियमितता भएको थियो।

शिक्षा विकास निर्देशनालयको ५० लाख रूपैयाँ लागतमा निर्माण हुन लागेको उक्त भवनको भित्तामा माटो र ढुंगा प्रयोग भएपछि नागरिक दैनिकमा समाचार प्रकाशित भएको थियो। उक्त समाचार प्रकाशन भएपछि अख्तियारले भवन निर्माणका विषयमा छानबिन सुरु गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए।

सम्झौताविपरीत काम भएपछि भवनको गुणस्तरीयतामाथि स्थानीयले प्रश्न उठाउँदै आएका छन्। दुई तले बन्नु पर्ने भवन अहिले एक तले पनि पूरा भएको छैन। आधासम्म काम नहुँदा पनि भवन निर्माणका लागि शिक्षा विकास निर्देशनालयबाट दोस्रो किस्तासमेत भुक्तानी भइसकेको छ।

‘विद्यालय भवन मापदण्डविपरीत भएको छ,’ स्रोतले भन्यो, ‘इँटा, सिमेन्ट र बालुवा प्रयोग गर्ने भनिए पनि माटो र ढुंगा मात्र प्रयोग गरिएको छ।’ जसले गर्दा भवनको गुणस्तरीयतामाथि प्रश्न चिन्ह खडा हुने उनको भनाइ छ। इँटा, सिमेन्ट र बालुवा प्रयोग नगरि निर्माण जिम्मा लिएकाले रकम हिनामिना गर्न खोजेको उनको आरोप छ।साभार:नागरिक दैनिक