☰ open Loading... 20 April 2024|  

सल्यानमा एक वर्षमै बने पाँच पक्की पुल
  | २६ भाद्र २०७७, शुक्रबार ०५:२८

 

सल्यान -सल्यानमा एक वर्षमा पाँचवटा पक्की पुल निर्माण भएका छन्।​ कालाखेत, शंखमुल, घट्टेखोला, लुहाम र मोख्लामा एक वर्षको अवधिमा पक्की पुल निर्माण भएका हुन्। राप्ती राजमार्गको कालाखेत पिपलनेटा जोड्ने शारदा खोलामा तीन करोड ४० लाखमा पुल निर्माण सम्पन्न भएको छ। ३० मिटर लामोपुल निर्माण भएपछि आवतजावतमा सहज भएको छ। त्यस्तै, झिम्पे सडक खण्डको लड्केनी शंखमुल पुलमा २५ मिटर लामो पक्की पुल निर्माण भएको छ।
तीन करोड ३९ लाख लागतमा यो पुल बनेको हो। सोलावाङग रिम सडक खण्डको घट्टे खोलामा १५ मिटर लामो पुल पनि निर्माण भएको छ। यस्तै, स्थानीय सडक पुल कार्यक्रममार्फत त्रिवेणी लुहाम सडक खण्डको लुहाम खोलाको ९९ मिटर लामो पुल निर्माण सम्पन्न भएको छ। सो पुल ८ करोड २७ लाख लागतमा बनेको हो।
सल्यान थारमारे वडागाउँ रुकुम चौरजारी सडक खण्डको त्रिवेणीमा रहेको जिमाली खोलामा १८ मिटर लामो पक्की पनि निर्माण भएको छ। पुल निर्माणको लागी दुई करोड चार खर्च भएको छ। सिद्धकुमाख गाउँपालिका–१ मोख्ला र छत्रेश्वरी गाउँपालिका दामाचौर सडक खण्डको मोख्लामा ३५ मिटर लामो लम्बाइको पुल तीन करोड ८३ लाखमा सम्पन्न भई केही दिनमै सञ्चालनमा आउने भएको छ। यस्तै, लंकेनी चरंगे र नाथेखोला पुलको काम ९० प्रतिशत सकिएको सडक डिभिजन कार्यालय दाङका इन्जिनियर रिकेश महर्जनले बताए। बन्दाबन्दीले विकास निमार्णमा केही समस्या भए पनि समयमा नै काम सम्पन्न गर्ने गरी काम भइरहेको उनको भनाइ छ। राप्ती राजमार्गअन्‍तर्गत पटारेमा ८० प्रतिशत र शंखमुलमा ५० प्रतिशत काम सम्पन्न भएको लकडाउनका कारण केही समस्या भएको उनको भनाइ छ।