☰ open Loading... 9 October 2024|  

‘कर्णालीमा उपलब्धि बन्‍यो कोरोना, दुर्गममा पुग्‍यो भेन्टिलेटर र आइसियु’
  | २८ भाद्र २०७७, आईतवार ०५:४०

 

सुर्खेत। ​ हरेक वर्ष कर्णालीका विकट बस्तीमा झाडा पखालाले कति नागरिकको मृत्यु हुने होरु या त मौसमी भाइरलले सिटामोल नपाएर कति नागरिकको मृत्यु हुने हो भन्ने चिन्ता हुन्थ्यो। काठमाडौंको नजरमा कर्णालीमा हरेक वर्ष सामान्य औषधिका अभावमा नागरिकले ज्यान गुमाउने कुरा सामान्य नै हुन थालिसकेको थियो। ​कर्णालीवासीले राम्रो उपचार पाउनको लागि प्रदेशबाहिर काठमाडौंदेखि भारतको लखनऊ लगायतका शहरहरूमा जानुपर्ने बाध्यता थियो। अहिले कर्णालीमा कोरोनाका कारण आर्थीक अवस्था तहसनहस भएको छ। नागरिकले रोजगारी गुमाएका छन्। दैनिकी छाक टार्न समस्या भइरहेको छ। तर, स्वास्थ्य क्षेत्रमा कर्णालीलाई भने कोरोनाका कारण केही फाइदा पुगेको छ भन्दा फरक नपर्ला।

आइसियु र भेन्टिलेटरको विस्तार

कोरोना भाइरसको महामारी अघि सुर्खेत र जुम्लाबाहेक कर्णालीका अन्य जिल्लामा आइसियु र भेन्टिलेटर सेवा थिएन। जिल्ला अस्पतालहरूमा आइसियु र भेन्टिलेटर नभएकै कारण जटिल प्रकृतिका बिरामी रिफर गर्नुपर्ने बाध्यता थियो। जुम्ला र सुर्खेतमा पनि आइसियु र भेन्टिलेटरका सीमित बेड भएकाले बिरामीले मृत्युको सामना गर्नुपर्ने अवस्था थियो। तर, कोरोना भाइरसको त्राससँगै कर्णालीका अस्पतालहरूमा भौतिक पूर्वाधारमा सुधार भएको छ।

प्रदेश अस्पताल सुर्खेतमा थपिए बेड

कोरोनाअघि पाँच बेड आइसियु र तीन बेड भेन्टिलेटर भएको प्रदेश अस्पताल सुर्खेतमा २० बेड आइसियु र सात बेड भेन्टिलेटर थप गरिएका छन्। अस्पताललाई एउटा भेन्टिलेटर कुमारी ट्रष्ट ९संविधानसभा सदस्य राजिवविक्रम शाह०ले उपलब्ध गराएका हुन् भने बाँकी ६ वटा भेन्टिलेटर अस्पताल आफैंले खरिद गरेको हो। हाल अस्पतालमा २५ आइसियु र १० भेन्टिलेटर छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कोरोनाअघि तीन आइसियु र पाँच बेड भेन्टिलेटर थिए। हाल प्रतिष्ठानमा १० आइसियु बेड र ६ वटा भेन्टिलेटर तयार गरिएको छ।

डोल्पाबाहेक सबै जिल्लामा आइसियु सेवा

कोरोना महामारी सुरु भएसँगै डोल्पाबाहेक अन्य सबै जिल्लामा आइसियु सेवा पुगेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार तथ्याङ्क अनुसार मुगुमा दुई वटा आइसियु र एउटा भेन्टिलेटर, हुम्लामा पाँच बेड आइसियु र दुई बेड भेन्टिलेटर, कालिकोटमा पाँच बेड आइसियु र दुई बेड भेन्टिलेटर, दैलेखमा पाँच बेड आइसियु र दुई बेड भेन्टिलेटर, जाजरकोटमा दुई बेड आइसियु र एक बेड भेन्टिलेटर र रुकुम पश्चिममा दुई बेड आइसियु र एक बेड भेन्टिलेटर सेवा थपिएको छन्। त्यस्तै, सल्यानमा दुई बेड आइसियु र एक बेड भेन्टिलेटर र रुकुम चौरजहारी सामुदायिक अस्पतालमा चार बेड आइसियु सेवा सञ्चालनमा ल्याइएको छ। डोल्पामा पनि छिट्टै आइसियु र भेन्टिलेटर सेवा सञ्चालन गर्ने तयारी छ। प्रदेशभर कुल ६२ बेड आइसियु र २६ बेड भेन्टिलेटर सेवा सुरु भएको छ। कोरोना प्रतिकार्यका लागि पूर्वाधार खरिदमा कर्णाली प्रदेश सरकारले प्रदेशका १७ वटा अस्पताललाई कुल ३० करोड ५९ लाख १५ हजार रुपैयाँ उपलब्ध गराएको थियो। सोही बजेटबाट आइसियु र भेन्टिलेटर लगायतका उपकरणहरू खरिद गरिएको हो। कुल बजेटमध्ये २३ करोड ४८ लाख ६९ हजार रुपैयाँमात्रै खर्च भएको छ।

अक्सिजन प्लान्ट बन्दै

आइसियु र भेन्टिलेटर सेवा सुरु गर्नका लागि सबै जिल्लामा अक्सिजन पुर्‍याउने उद्देश्यले सुर्खेतमा अक्सिजन प्लान्ट सुरु गर्न लागिएको छ। दैनिक ७० सिलिन्डर अक्सिजन उत्पादन गर्ने गरी अक्सिजन प्लान्ट सुरु गर्न थालिएको प्रदेश अस्पताल सुर्खेतका सूचना अधिकारी विनोद बस्नेतले जानकारी दिए। यसअघि प्रदेश अस्पतालमा दैनिक १० देखि १२ सिलिन्डर उत्पादन गर्ने अक्सिजन उत्पादन थियो। हाल त्यसको क्षमता वृद्धि गरेर ७० सिलिन्डर अक्सिजन उत्पादन गर्ने गरी काम थालिएको हो। अबको तीन महिनाभित्र अक्सिजन उत्पादन गर्ने गरी काम अघि बढेको बस्नेतले जनाए। हाल कर्णाली प्रदेशका जुम्ला र सुर्खेत मात्रै अक्सिजन प्लान्ट छ। प्रदेश अस्पतालले सुरु गर्न लागेको ठूलो क्षमताको अक्सिजन प्लान्टले कर्णाली प्रदेशका सबै जिल्लाको अक्सिजन पुर्‍याउने लक्ष्य राखिएको छ। आयोजना सुरु भएको खण्डमा प्रदेश अस्पतालका लागि आम्दानीमा महत्वपूर्ण सहयोग मिल्ने अपेक्षासमेत गरिएको छ।

कर्णालीका लागि ऐतिहासिक

उपलब्धि सिटामोलसमेत नपाएर ज्यान गुमाउनुपर्ने कर्णालीका दुर्गम जिल्लामा पनि भेन्टिलेटर र आइसियु सेवा सुरु गर्न पाउनु कर्णालीका लागि ऐतिहासिक उपलब्धि भएको स्वास्थ्यकर्मीहरूको भनाइ छ। ‘कोरोना महामारी भन्दा पहिले कर्णालीमा १७ बेड आइसियु र १० बेड भेन्टिलेटर थिए,’ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले भने, ‘कोरोना कर्णालीका लागि स्वास्थ्य क्षेत्र सुधार्ने अवसर बनेको छ।’ उनका अनुसार आइसियु र भेन्टिलेटर पुगेको स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम दिएर सेवा सुरु गर्ने तयारी गरिएको भइरहेको छ। वर्षौंसम्म आइसियु र भेन्टिलेटर नपुगेका अस्पतालमा कोरोनाले पाँच महिनाको अवधिमा आइसियु र भेन्टिलेटर सेवा पुर्‍याएको छ। कोरोनासँगै जनशक्ति व्यवस्थापन, भौतिक पूर्वाधार निर्माण र औषधी उपकरणहरू थपिन थालेका छन्। आइसियु र भेन्टिलेटरको अभावमा मृत्युको बाटो रोज्नुपर्ने कर्णालीबासीलाई केही राहात मिल्ने भएको छ। कर्णाली प्रदेशभर २७ वटा क्षेत्रमा विशेषज्ञ उपचार सेवा सुरु गरिएको छ। जिल्ला अस्पतालसहित दश जिल्लाका २७ वटा स्वास्थ्य संस्थालाई रणनीतिक अस्पतालका रुपमा अगाडि सारिएको छ।

सरसफाइ गर्ने बानीको विकास

कर्णालीका दुर्गम बस्तीहरूमा सरसफाईको समस्या स्वास्थ्य समस्याका रुपमा रहेको थियो। जसका कारण साना साना रोगहरूले पनि पटक पटक महामारीको रुप लिने गरेका थियो। सामान्य रुघाखोकी तथा झाडापखालाले पनि कर्णालीका विभिन्न बस्तीमा महामारीको रुप लिने गरेको सर्वविधितै छ। विश्वमा कोरोना महामारीको त्राससँगै हातलाई राम्रोसँग धुनुपर्छ र अन्य सरसफाइलाई पनि विषेश ध्यान दिनुपर्छ भन्ने कुरा आम सर्वसाधारण नागरिकले व्यवहारत प्रयोग गरेका छन्। यसअघि, पनि कर्णालीमा विभिन्न संघ संस्थाहरूले नागरिकलाई हात मिचि मिचि धुनु पर्छ भन्दै सिकाउदै आएका थिए। करौडौं बजेट खर्च भएको ती प्रोजेक्टले गर्न नसकेको काम कोरोना महामारीका कारण नागरिकहरू सरसफाईमा ध्यान दिन थालेका छन्। सधैँ सरकारी अस्पताल र निजी क्‍लिनिकमा घुइँचो लाग्ने बिरामीहरू अहिले अस्पताल नै गएका देखिँदैनन्। सरसफाईमा ध्यान दिएकै कारण नै पनि नागरिकहरू कम बिरामी भएको स्वास्थ्यकर्मीहरूको भनाइ छ। कर्णाली प्रदेश अस्पतालका डाक्टर नवराज केसीले कोरोनाका कारण नागरिकमा सरसफाइसम्बन्धी जनचेतना जागेको बताए। उनले खास गरी हात धुने र सरसफाइ गर्ने बानीको विकास भएको जनाए।थाहा खबरबाट