☰ open Loading... 9 October 2024|  

चामुण्डाविन्द्रासैनी नगरपालिकामा डेरी सञ्चालन
  | २८ भाद्र २०७७, आईतवार ०७:१६

 


दैलेख । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नम्बर २ चाल्ने चौतारामा जिल्लाकै नमुना डेरी संञ्चालन भएको छ । सृजन चामुण्डामाई बहुद्देश्यीय सहकारीले स्थापना गरेको डेरी शुक्रबार कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले उद्घाटन गरेका हुन् ।

सभामुख शाहीले समाजको आर्थिक समृद्धिको लागि कृषि महत्वपूर्ण पाटो भएको र डेरी स्थापना गर्ने चामुण्डा बहुद्देश्यीय सहकारीलाई धन्यवाद दिँदै शाहीले कृषि प्रवद्र्धन कार्यक्रमका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यस्तै कर्णाली प्रदेश भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला के।सी। ले कृषि नै समाज रूपान्तरणको मुख्य पाटो भएको भन्दै कृषि व्यावसायी तथा उद्यमीलाई मन्त्रालयले सहुलियतपूर्ण ऋण कार्यक्रम सञ्चालन गरेको बताइन्।

उद्घाटनमा उपस्थित चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख सुर्यबहादुर शाहीले सहकारीलाई धन्यवाद दिदै डेरीलाई थप आधुनिक बनाउन नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखबाट १ करोड, चामुण्डाविन्द्रासैनी नगरपालिकाबाट ३१ लाख, सृजन चामुण्डामाई बहुद्देश्यीय सहकारीबाट ३० लाख र सुर्खेत डेरीबाट प्राप्त भएको ६ लाखसहित १ करोड ६७ लाख लागतमा डेरी स्थापना भएको हो ।

डेरी सञ्चालक समितिका सचिव रविन्द्र कँडेलले लिटरका आधारमा नभएर दुधको गुणको आधारमा मूल्य निर्धारण गरिएको बताए । ‘कृषकबाट प्रतिलिटर ६० देखि ६५ रूपैयाँमा दुध खरिद गर्छौं। दुधमा रहेको फ्याटको मात्राअनुसार प्रतिलिटर ९० देखि १०० रूपैयाँसम्ममा पनि खरिद गर्ने गरेका छौं ।’ सचिव कँडेलका अनुसार एउटा पनि भैंसी नपालेका कृषकहरू अहिले २ वटा भैंसी पालिरहेका कृषकहरू ४ वटा भैंसी पाल्न थालेका छन्।