☰ open Loading... 16 November 2024|  

वीरेन्द्रनगरमा यात्रु उत्साहित, टिकट काटन सुरु
  | ३१ भाद्र २०७७, बुधबार १८:०१

 

सुर्खेत, ३१ भदौ ।
कर्णालीको राजधानी वीरेन्द्रनगरको बसपार्क कोरोनाका कारण विगत लामो समयदेखि सुनसान थियो । एकाध गाडी पार्किंग गरेर राखिएपनि न कसैको चहलपहल नै थियो न कोही यात्रु त्यता तिर जाने गर्थे । असोज एक गते देखि गाडी चल्ने खबर सार्वजनिक हुँदा टिकट काउण्टरमा कर्णालीका विभिन्न जिल्लामा जानका लागि टिकट काटनेहरुको लाईन लाग्न सुरु भएको छ । लोकान्तर सम्वाददाता विहान साढे एघार बजे बसपार्क पुग्दा हरेक काउण्टरमा दर्जन बढि यात्रुहरु लाईन लागेका देखिन्थे ।
कालिकोटको खाँडाचाक्र जाने तयारीमा रहेका हिक्मत विश्वकर्मा मकै भाँच्ने र बारी जोत्ने समयमा घर जान पाईने आशमा थिएनन् । आज विहानै रेडियोमा उनले असोज एक गते देखि गाडी सञ्चालन हुने भने पछि उनी बसपार्क आए । टिकट काटन लाईनमा लागे । अब यसरी यात्रुवाहक साधन बन्द कहिल्यै नहोइदिउन भन्ने उनले कामना गरे ।
मुगुको छायानाथ रारा नगरपालिकाका सरोज शाही यसअघि अन्य गाडीमा यात्रा गर्न पाएनन् । एक त गाडी नै चल्दैन थिए भने नीजि गाडीमा जाँदा कम्तिमा ८ हजार भाडा तिर्नु पर्ने अवस्था रहेको बताउँछन् । गाडी खुल्ने भनेपछि टिकटका लागि लाईनमा लाग्न आएको हुँ । भोली विहानको पहिलो गाडीमा घर जान्छु ।

 

यता, सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटाले भोली देखि लामो तथा छोटो दुरीको सवारी साधन सञ्चालन हुने बताए । आधा सिटमा यात्रु राख्ने, भाडाको पचास प्रतिशत भाडा बढि लिने गरेर गाडी सञ्चालन गर्ने तयारी भएको उनको भनाई छ ।
देउती नागरिक यातायात प्रालिका अध्यक्ष कमल खड्का जुनीले भने छोटो दुरीमा यात्रा सुरु हुने तर काठमाडौं जाने गाडी भने पाँच गतेबाट मात्रै क्यु खोल्ने तयारी भइरहेको बताए । यस्तो गर्नुको कारण विगत ६ महिना देखि गाडी थन्किएका र त्यसको सर्भिस गर्नु पर्ने भएको बताए ।