☰ open Loading... 26 October 2020|   सोमवार, कार्तिक १०, २०७७

कोरोनाको पीडा बिर्साउने सामाजिक त्रास

  |

 

 

 

   

                       विन्दा पाण्डे
कोरोना भाइरसको कहर दिनानुदिन थप त्रासदीपूर्ण बन्दै छ । विज्ञका अनुसार कोरोना समुदायस्तरमा प्रवेश गरेको छ । नतिजाअनुसार कुल संक्रमितमध्ये धेरैले कोरोना भाइरसको त्रासलाई जितेका छन् । तर, संक्रमणमुक्त हुने समयावधि भने लम्बिँदै छ । तर, यसबीच संक्रमितप्रति समाजको दृष्टिकोण भने विभेद र खोटपूर्ण देखिएको छ । त्यसैले, मानिसहरूलाई कोरोनाको सन्त्रासले भन्दा बढी सामाजिक व्यवहारले आतंकित पारेको समाचार आइरहेका छन् । यो अवस्थालाई परिवर्तन गर्न नसक्ने हो भने कोरोनाको फैलाव अझै भयावह हुने निश्चित छ । किनकि समाजको डरले संक्रमण लुकाउने सम्भावना बढ्दो छ । परिणामतः यो भुसको आगोझैँ फैलन सक्छ । यसैले, कोरोना संक्रमितप्रतिको सामाजिक हेराइ र व्यवहार फेर्न सरकारका संयन्त्र मात्र होइन, हरेक नागरिक, संघसंस्था, सञ्चार माध्यम, सबैले महत्वका साथ सचेतना फैलाउन जोड दिनुपर्ने आवश्यकता देखिएको छ ।



गतहप्ता एउटा रेडियोमा एक सञ्चारकर्मीको कुरा सुन्दै थिएँ । उनी भन्दै थिए– ‘चिया पसलमा सँगै चिया खाएको साथीले पर्सिपल्ट आफू कोरोना पोजेटिभ भएको खबर गरे । त्यसपछि अर्को दिन परीक्षणका लागि स्वाब दिएँ र दुई दिनसम्म डेरामै एकलवास बसेँ । त्यसबीच, साथीहरूलाई फोन गरेर पानी, दूधलगायत आवश्यक सामान ल्याइदिन भनेँ । त्यही घरमा बस्ने धरधनीलाई भने भनिनँ ।’ परीक्षणको रिजल्ट नेगेटिभ आएपछि रेडियोमा आएर उनी भन्दै थिए– ‘घरधनीलाई भनेको भए सायद उनीहरू आतंकित हुने थिए, मलाई गर्ने व्यवहार फरक हुन सक्थ्यो ।’ त्यसैगरी, गैह्रीगाउँ डेरा गरी बस्ने अर्का एकजनाले पनि आफूलाई कोरोना संक्रमण भएकोबारे घरधनीलाई भनेनन् । डेरामा छुट्टै शौचालय भएकाले उनी आफ्नै कोठामा बसे । घरधनीलाई अफिस छुट्टी भएकाले घरै बसेको बताए । हप्ता दिनपछिको परीक्षणमा नेगेटिभ आएपछि उनी कार्यालय जान थाले । तर, अझै पनि संक्रमित भएको कुरा घरधनीलाई थाहा दिएनन् । यी दुई प्रतिनिधि उदाहरण हुन् । छुट्टै शौचालय नभएका, बाहिरबाट सहयोग गर्ने साथीहरू पनि नभएका व्यक्तिहरू यसैगरी संक्रमित भए र उनीहरूले सामाजिक त्रासका कारण वास्तविक कुरा भनेनन् भने ती संक्रमणका ‘सुपरस्प्रेडर’ बन्न सक्छन् । यसर्थ, संक्रमितप्रतिको सामाजिक हेराइ र व्यवहार परिवर्तन हुन जरुरी छ ।



विश्वास र सत्य फरक कुरा हुन् :



सत्य अनुसन्धान र प्रयोगका आधारित हुन्छ । विश्वास मनोगत हुन जान्छ । कतिपय अवस्थामा अन्धविश्वास विश्वासका रूपमा स्थापित हुँदा मानव समाज अमानवीय बन्न जान्छ । यो नयाँ महामारी भएका कारण विश्वभरका वैज्ञानिक यसको उत्पत्ति, संक्रमणको कारण र उपचारको उपायबारे प्रयोगशालाहरूमा दिनरात अनुसन्धानमा लागिपरेका छन् । तर, औषधि अझै पत्ता लागिसकेको छैन । हालसम्म पत्ता लागेको वैज्ञानिक तथ्यले यति भन्छ कि कोरोना भाइरस मानिसबाट मानिसमा सर्छ । यो श्वासप्रश्वाससँग सम्बन्धित छ । दुई मिटरसम्मको दूरीमा बसेर कुराकानी गर्दा यो सर्ने सम्भावना एकदमै कम रहन्छ । सबैले नाक र मुख राम्रोसँग ढाकिने गरी मास्क लगाएर कुरा गर्दा सबैजना सुरक्षित रहन सकिन्छ । जान–अन्जानमा हातले नाकमुख छोइन सक्छ । यसर्थ, हामीले पटक–पटक साबुनपानीले हात धुनुपर्छ ।



आमनागरिकको जीवनरक्षाका खातिर जोखिम मोलेर अग्रभागमा खटिएका स्वास्थ्य तथा सुरक्षाकर्मीप्रति सिंगो समाज संवेदनशील हुनु आवश्यक छ फेरि पनि सबैभन्दा सुरक्षित उपाय कसैसँग भेट्दा कम्तीमा दुई मिटरको दूरी कायम गर्ने, मास्कको प्रयोग गर्ने, कुराकानी पनि मास्क लगाएरै गर्ने, समय–समयमा साबुनपानीले हात धुने, यिनै अहिलेसम्मका मानिएका सबैभन्दा सुरक्षित र स्वस्थकर उपाय हुन् । यो नै अनुसन्धानबाट पत्ता लागेको तथ्यगत सत्य हो ।



तर, हाम्रो समाज तथ्यमा भन्दा विश्वासमा बढी चल्छ । विश्वासमा चलेको मानिसलाई तथ्यमा आधारित सत्यमा चलाउन उसको मानसिकता नै परिवर्तन गर्नुपर्ने हुन्छ, जुन सहज छैन । यही (अन्ध)विश्वासका कारण कोरोना संक्रमण भएको व्यक्तिलाई देख्दा पनि सर्छ भन्ने सन्त्रासबाट समाज ग्रस्तजस्तो देखिएको छ ।



उदाहरणका लागि गत चैतमा चीनबाट विद्यार्थी ल्याएर क्वारेन्टाइनमा राख्दा खरिपाटीवरपरका बासिन्दा घरमा ताल्चा नै लगाएर हिँडे । केहीअघि चितवनमा एकजना डाक्टरले सबैलाई सचेत गराउने असल मनसायले आफूलाई संक्रमण भएको कुरा जब सार्वजनिक गरे, समुदाय सहयोग र सद्भाव देखाउन आउनुको सट्टा संक्रमितको घर भन्दै गेटमा ब्यानर टाँग्न आइपुगे । सिभिल अस्पतालमा बिरामी हेरेर परिवारमा जान नसकी बानेश्वरस्थित होस्टलमा बस्न गएका स्वास्थ्यकर्मीविरुद्ध टोलका मानिस जुलुस लिएर आए । यसले, हाम्रा गाउँ हुन् या सहर, तथ्यमा आधारित कुरा सुन्ने, मनन गर्ने र अपनाउनेभन्दा पनि लहैलहैका कुरामा विश्वास गर्ने अवस्थाबाट मुक्त भइनसकेको देखाउँछ । भनिन्छ, हरेक मानिसमा ज्ञान आफैँभित्रको अन्तस्करणबाट आउने र शिक्षा बाहिरबाट दिइने कुरा हो । जब ज्ञान र शिक्षाको सम्मिश्रण हुन्छ, त्यो चेतना बन्छ । यही चेतनाले मात्र मानिसलाई (अन्ध) विश्वासबाट मुक्त गरी तथ्यमा उभिएर सत्यको बाटो हिँड्न सिकाउँछ । अहिलेसम्म कोरोनाविरुद्ध जति शिक्षा दिन खोजिए पनि त्यसले मानिसको अन्तस्करणलाई प्रभाव पार्न नसकेको उल्लिखित घटनाहरूले उजागर गर्छन् ।



सचेतना र कर्तव्यनिष्ठता :



चेतनाले मानिसलाई अधिकार मात्र सिकाउँदैन, कर्तव्य पनि सिकाउँछ । रेडियोमा समाचार सुनेँ– प्रदेश–२ का कोरोना संक्रमितमध्ये घरमा अलग्गै बस्न व्यवस्था नहुने अधिकांश श्रमजीवी वर्गका मानिस सार्वजनिक एकलवासमा गए । ‘हुनेखाने र जान्नेबुझ्ने’ भनिएकाहरू आफ्नै घरमा बसे । तीमध्ये केही कोरोना संक्रमित मर्निङ वाकमा निस्किने, चिया पसलमा अरूसँगै बसेर चिया पिउने र घर फर्किने गर्दा रहेछन्, जुन समुदायमा संक्रमण फैलिने एउटा कारण बन्यो । काठमाडौंमा केही भिआइपीका सुरक्षाकर्मीमा पनि संक्रमण देखियो । त्यसको कारण खोज्दै जाँदा उनीहरूले चिया पसलमा जाने, तर दूरी कायम गर्ने, मास्क लगाउने र हात धुनेजस्ता कुरामा हेलचेक्र्याइँ गरेको पाइयो । कोरोना संक्रमणको परीक्षणका लागि स्वाब दिएका मानिस रिपोर्ट नआउँदै खुल्लमखुल्ला हिँडिदिने प्रवृत्तिसमेत कोरोना फैलिने कारण बनेको छ । यीे अधिकांश मानिस अन्जान वा अशिक्षित होइनन् ।



स्थानीयको सहयोग महत्वपूर्ण :



कोरोना संक्रमितप्रति समुदायको व्यवहारसम्बन्धी समाचारहरू नकारात्मक मात्रै पनि छैनन् । गत केही दिनदेखि बुटवल उप–महानगरपालिकाका मेयर–उपमेयरलागायतको टिम घर–एकलवासमा बस्नेहरूलाई भेट्दै र हौसला दिँदै हिँडेका समाचार पनि आएका छन् । उनीहरूले संक्रमितलाई मनोबल उच्च पार्न उत्साहित गरे । निश्चित दूरीमा रहेर संक्रमितको परिवार, समुदाय र छिमेकीबीच छलफल गरे । समुदायस्तरका समितिदेखि क्लब, संघसंस्था र नागरिकले निर्वाह गर्नुपर्ने भूमिकाबारे अन्तरक्रिया गरे । एकलवासमा बसेका परिवारलाई छरछिमेक, समुदाय र आफन्तले गर्नुपर्ने सहयोग र मनोबल उठाउन देखाउनुपर्ने सद्भावबारे अन्तक्रिया गरे । छोटकरीमा भन्दा नगरपालिकाले अभिभावकत्व देखाएकोे छ ।



त्यहाँका एक संक्रमित समुदायको सहयोग र सद्भावले मनोबल बढेको भन्दै थिए । अर्का एक संक्रमित भन्दै थिए, परिवारमा भएका तीनैजना संक्रमित भयौँ । समुदायले कसरी लिने हो ? भन्ने डर थियो । परीक्षणको रिपोर्ट आएपछि छिमेकी, टोल सुधार समिति र वडा सदस्यलाई खबर गरेर बोलायौँ । घरै बसौँ वा सार्वजनिक एकलवासमा जाऊँ भन्दा छलफलपछि सबैले घरैमा बस्दा हुन्छ । आवश्यक सरसामान ल्याउनुपरेमा हामी सहयोग गर्छौं । तपाईंहरू बाहिर ननिस्किनोस् भने । अहिले कुनै अप्ठेरोविना ढुक्कसँग घरमा बसेका छौँ । संक्रमण निको भएका कैयाँै व्यक्ति अन्य संक्रमितको उपचारका लागि प्लाजा दान गर्ने सोचमा छन् । यी केही सकारात्मक उदाहरण हुन् ।



खेलाँची नठानौँ :



अहिलेसम्म विश्व कोरोनाविरुद्ध खोपको अनुसन्धानमै छ । रुस, अमेरिका, चीनलगायत मुलुक अनुसन्धानमा लागेका छन् । यद्यपि, चीन अनुसन्धानको अन्तिम चरणमा पुगेको र आगामी केही महिनामा व्यावसायिक उत्पादन सुरु हुने कुराले विश्वभर एक किसिमको आशा जगाएको छ । तर, उक्त खोप सफलतापूर्वक प्रयोगमा आयो भने पनि नेपाली नागरिकको त्यसमा पहुँच कति रहने र कहिले पाउने ? भन्ने कुरा सहजै अनुमान गर्न सकिँदैन । यस्तो अवस्थामा सबैभन्दा उत्तम उपाय भनेको सबैले सुरक्षित उपाय अपनाउने र सम्भावित जोखिमबाट दूर रहनु नै हो । जोखिममा सरकारी निकाय सबैभन्दा जिम्मेवार हुनुपर्ने कुरा निर्विवाद छ । तर, जोखिम आउनै नदिन नागरिक समाज, सञ्चार माध्यमदेखि व्यक्तिहरू आफैँ पनि सुरक्षित र कर्तव्यनिष्ठ हुन आवश्यक छ ।



आज विद्वानदेखि निरक्षरसम्म, अर्बपतिदेखि सामान्य श्रमिकसम्म कोरोनाको संक्रमणमा परिसकेका छन् । स्वास्थ्यकर्मीदेखि सुरक्षाकर्मी, पेसाकर्मीदेखि राजनीतिकर्मीसम्म प्रभावित भएका छन् । बाल र वृद्ध मात्र होइन, ठूलो संख्यामा युवाहरूसमेत संक्रमित भएका छन् । यसर्थ, कोरोनाबाट जोगिने सबैभन्दा भरपर्दो उपाय भनेको अत्यावश्यक नभई बाहिर ननिस्किने र निस्किनै पर्दा सुरक्षा उपायलाई गम्भीरतापूर्वक अपनाउनु नै हो । सरकारले गर्नुपर्ने कुरामा घचघच्याउने काम जारी राखौँ । तर, हामी हरेक नागरिकले आफ्नो तहबाट अपनाउनुपर्ने सुरक्षा उपाय र गर्नुपर्ने सहयोगमा अझै गम्भीर बनौँ ।



पेसागत सम्मान र मानवीय व्यवहार गरौँ :



आमनागरिकको जीवनरक्षाका खातिर जोखिम मोलेर अग्रभागमा खटिएका स्वास्थ्य र सुरक्षाकर्मीप्रति सिंगो समाज संवेदनशील हुनु आवश्यक छ । उनीहरूलाई कार्यथलोमा आवश्यक सुरक्षा उपकरण उपलब्ध गराउने दायित्व सरकारको हो । त्यसबाहेक सहज कार्य वातावरण बनाउने, पेसाप्रति सम्मानभाव राख्ने, सेवाप्रति थप प्रतिबद्ध बनाउन काममा सेवाग्राही र आमनागरिकको व्यवहार पनि त्यत्तिकै जिम्मेवार हुन्छ । अग्रभागका कर्मशीलको सेवाप्रति व्यक्त गरिने सम्मानका शब्दले मात्रै पनि काममा उत्साह थप्न सक्छ । सेवाग्राहीको व्यवहारले सेवाप्रदायकलाई थप जिम्मेवार बनाउँछ । जिम्मेवार नागरिक र कर्तव्यनिष्ठ पेसागत व्यवहारले नै समृद्ध संस्कृति निर्माणमा इँटा थप्न सक्छ ।



सद्भाव र सहयोग बढाऔँ :



समाज नै मानवजीवनको सबैभन्दा ठूलो आधार हो । मानवीय सद्भाव र समभाव ऊर्जाका स्रोत हुन् । ‘डुब्न लागेका बेला रौंको पनि सहारा हुन्छ’ भन्ने नेपाली उक्ति यो सन्त्रासपूर्ण अवस्थामा सान्दर्भिक हुन सक्छ । आज विश्व भयावह महामारीलाई उच्च मनोबल, प्रफुल्ल मनस्थिति र सकारात्मक सोचले परास्त गर्नुपर्ने अवस्थामा छ । यस्तो वेलामा छरछिमेक, आफन्त र समुदायको सद्भावपूर्ण व्यवहारले ठूलो अर्थ राख्छ । यसैले कोही कसैलाई कोरोना संक्रमण भए वा नभएको अवस्थामा पनि आपसमा सरोकार राखौँ । अझ छिमेकमा कोही एकलवासमा छन् भने सद्भाव मात्र होइन, आवश्यक सहयोग पनि आवश्यक हुन्छ । एकान्तवासमा बसेको समयमा बाहिर जानु भनेको समुदायमा संक्रमण फैलाउनु हो । त्यसर्थ, त्यस्तो समयमा अत्यावश्यक सेवा र वस्तु ल्याइदिने काममा छिमेकी र आफन्तको सहयोग आवश्यक हुन्छ ।



आजका संक्रमित भोलिका जीवनदाता :



संक्रमणले गम्भीर रूपमा असर गरेका व्यक्तिहरूलाई बचाउन अन्तिम अवस्थामा प्लाज्मा थेरापीको सुरुवात भएको छ । प्लाज्मा थेरापीका लागि तिनै व्यक्तिको मात्र रगत काम लाग्छ, जो एकपटक संक्रमित भएर मुक्त भएका छन् र रगतमा एन्टिबडी बनेको छ । यस प्रक्रियामा पहिलोपटक रगत दिने व्यक्ति उपचारमा खटिँदा संक्रमित भएर ठीक भएका डाक्टर थिए । र, प्लाज्मा लिने व्यक्ति पनि आफैँ अस्पताल चलाएर बसेका साहुजी थिए । यसर्थ, भोलि यस किसिमको अवस्था जोकसैलाई आउन सक्छ । त्यस्तो जोखिमपूर्ण अवस्था आइप¥यो भने जीवनदाता बनेर आउने व्यक्ति तिनै हुनेछन्, जो संक्रमणमा परेका छन् । यसर्थ, आजका संक्रमितप्रति सकारात्मक सोच राख्दै बढीभन्दा बढीलाई मानवीय कर्मका रूपमा भोलि आवश्यक पर्दा प्लाज्मा दान गरेर जीवनदाता बन्नका लागि समेत उत्साहित पार्ने काम गरौँ ।



अन्तमा, यो विषम परिस्थितिमा राज्यका सबै अंग र नागरिक जिम्मेवार हुनैपर्छ । त्यसमा पनि आमनागरिकसम्म सहजै पुग्ने सञ्चारमाध्यमको भूमिका अतुलनीय हुन्छ । सञ्चारजगत् योजनाबद्ध रूपमा लागेमा आमनागरिकमा सहजै सकारात्मक माहोल सिर्जना हुन सक्छ । समाजलाई मर्यादित र सुसंस्कृत बनाउने अभियानका लागि सकारात्मक सन्देश प्रवाह गर्दै सत्यका आधारमा चल्न प्रेरित गरौँ । राज्यदेखि समाजका सबै निकाय र संयन्त्रलाई जिम्मेवार बन्न झकझकाउने काम गरौँ । जीवन रहे आपसी सहमति–असहमतिका कुरा फेरि पनि गर्दै गरौँला । सुरक्षित रहौँ, सहयोगी बनौँ ।मध्यान्ह बाट

प्रकाशित मितिः शुक्रबार, अशोज २, २०७७     2:56:50 PM
error: Content is protected !!