☰ open Loading... 5 October 2024|  

कोरोनाले चिनाएको हाम्रो मानसिकता
  | ९ आश्विन २०७७, शुक्रबार ०८:४५

 



केमिका घिमिरे

मेरो घर चितवन जिल्लाको खैरहनी नगरपालिकामा पर्छ । आफ्नो काम विशेषले म भरतपुर महानगरपालिकामा भाडामा बस्छु । मेरो श्रीमान् बैंकमा काम गर्नुुहुन्छ । साथमा हाम्रो ४ वर्षको छोरा छ । विश्वव्यापी रूपमा कोरोना संक्रमणले भयावह रूप लिँदा हाम्रो देश पनि अछुतो रहेन । त्यसमा पनि चितवन जिल्ला ट्रान्जिट प्वाइन्टमा रहेकाले रेड जोनमा परेको छ । हामी सबै जना त्रासमा बाँचिरहेका छौँ । यतिखेर हामी अदृश्य भाइरससँग युद्घ गरिरहेका छौँ । हाम्रो देशमा भएको पहिलो लकडाउनमा पनि बैंक तथा वित्तीय संस्थाहरु अति आवश्यक क्षेत्र भएकाले मेरो श्रीमान रोटेसनमा अफिस जानुहुन्थ्यो । फ्रन्टलाइनमा काम गर्नुपर्ने, दैनिक रूपमा धेरै कस्टमरहरुसँग भेट्नुपर्ने हुँदा उहाँ एकदम जोखिममा हुनुहुन्थ्यो । जब संक्रमण रफ्तारमा बढ्न थाल्यो, हामीले मनस्थिति बनाइसकेका थियौँ, त्यहीअनुसार योजना पनि । त्यसपछि उहाँ भरतपुर आउन छाड्नुभयो । किनकि कतै संक्रमण भइहालियो भने भाडाको कोठामा आइसोलेट भएर बस्न गाह्रो हुन्छ भनेर । उहाँ हाम्रो खैरहनीमा रहेको घरमा जानुहुन्थ्यो । नभन्दै हामीले सोचेको तर नचाहेको कुरा भइदियो । श्रावण २९ गतेतिर सम्पर्कमा आएका एक जना कस्टमरलाई संक्रमण देखिएपछि उहाँ पनि कन्ट्याक्ट ट्रेसिङमा पर्नुभयो । त्यसपछि भरतपुर अस्पतालमा स्वाब टेस्ट गर्न २, ४ दिनै कुर्नुपर्ने र रिपोर्ट आउन टाइम लाग्ने भएपछि उहाँले चितवन मेडिकल कलेजमा स्वाब संकलन गर्नुभयो ।



भाद्र ५ गते स्वाब संकलन भयो । त्यसपछि उहाँ घरमै आइसोलेसनमा बस्न थाल्नुभयो । स्वाब संकलन गरेको रात एकदम छटपटीमा बित्यो । बिहान उठेपछि सीएमसीको फेसबुक पेज स्क्रोल गर्न थालेँ । फेसबुक स्क्रोल गर्दै गर्दा पनि हातहरु काँपेका थिए… कतै नेगेटिभको लिस्टमा उहाँको नाम रहेनछ भने.. । नेगेटिभको रिपोर्ट लिस्टमा आँखाहरु दौडिए । ५ पटक लिस्ट पढेँ सबैको नाम कण्ठै भइसक्यो तर आफूले खोजेको नाम त्यहाँ थिएन । त्यसपछि मन एकदम आत्तियो । संक्रमित उहाँ हुनुहुन्थ्यो तर शरीर मेरो तातेको थियो । बेस्सरी चिच्याएर रुन मन लाग्यो तर साथमा बाबु थियो । ऊ आत्तिन्छ भनेर पनि आँशु लुकाउन बाध्य भएँ । तत्काल हस्पिटलमा फोन गरेँ । रिपोर्ट पोजेटिभ छ । एकछिनमा फेसबुकमा पोष्ट गर्दैछौँ भन्ने जवाफ आयो । सम्हालिनुको विकल्प थिएन । त्यतीखेरसम्म उहाँलाई याी कुराहरु थाहा थिएन, फोन गरेर जानकारी गराए ।



उहाँलाई संक्रमण देखियो तर साधारण लक्षणहरु (घाँटी दुख्ने, खोकी, जिउ, दुख्ने, स्वाद र बास्ना हराएको) मात्र थिए । त्यसैले होम आइसोलेसनमा बस्ने निर्णय भयो । त्यसपछि उहाँले गुर्जो । बेसार र कागती पानी रेगुलर खाने, व्यायम गर्ने र साथमा दिनको ३ चोटी बाफ लिनुहुन्थ्यो । साथमा मल्टी भिटामिन पनि खानुभएको छ । उहाँमा भएको आत्मविश्वास र सकरात्मक सोचले लाग्थ्यो यो युद्घ हामी जित्नेछौँ ।



जब संक्रमणको खबर हावासरी फैलियो…



हामी भरतपुरमा थियौँ । प्राइमरी कन्ट्याक्टमा हामी परेनौँ । हामी सबै जना घरमा डाइबेटिज हुनुभएको मम्मी र ८२ वर्षको हजुरबुबाको बारेमा धेरै चिन्तित थियौँ । यदि उहाँहरुलाई संक्रमण भइहाल्यो भने जोखिमपूर्ण हुने हाम्रो अनुमान र बुझाइ थियो । घरतिर अर्थात् खैरहनीको समुदायमा केही व्यक्तिले हाम्रो घरतिर आएपछि हेर्दैमा, बोल्दैमा कोरोना सर्छ कि झैँ मुन्टो बटारेर हिँड्नुभए पनि धेरै छिमेकी र आफन्तहरुको सहयोग र हौसला हामीले प्राप्त गर्यौँ ।



म यता चितवन जिल्लाको मुटु भरतपुरमा थिएँ । उहाँको संक्रमणको खबर हावासरी फैलेको थियो । घरबेटी दिदी पसलमा सामान लिन जानुभएछ । उहाँलाई देखेर वरिपरिका व्यक्तिहरु ४ कोस पर सर्नुभएछ । अनि केके हो केके श्रीमती र छोरालाई सरेको होला । सुरुमा लक्षण नदेखिन सक्छ भन्ने खालका कुराहरु गर्नुभएछ । दिदी मसँग आएर आत्तिनुभयो । ८ लाखभन्दा बढी मानिसको मृत्यु गराएको भाइरस मेरो संसारको सबैभन्दा नजिकको व्यक्तिको शरीरभित्र हुँदा म पनि धेरै नै आत्तिएको थिएँ । उहाँ ३ हप्तादेखि यहाँ आउनुभएको छैन । हामीलाई संक्रमण भएको छैन भनेर सम्झाएँ । दिदी कन्भिन्स हुनुभयो । केही राहत महसुस भयो । म र बाबु संक्रमित छैनौँ भन्ने विश्वस्त हुदाँहुँदै पनि म ३ दिन पूरै कोठाभित्र लक भएर बसेँ ।



तेस्रो दिनको बेलुका बाबु साहै्र आत्तियो । रोयो मामु एकैछिन भए पनि बाहिर निस्कौँ न भन्यो । उसको त्यो निर्दोष अनुरोधलाई नर्कान सकिनँ र हामी बाहिर निस्क्यौँ । सधैँझैँ बाबुसँग बोल्ने वरिपरिका मानिस हामीलाई देखेर पनि नदेखेको झैँ गर्नुभयो । ऊ दौडिँदै अलि पर पुग्थ्यो । उहाँहरुको चिउँडोमा अड्याएको मास्क माथि सार्नुहुन्थ्यो । हामीलाई टाढाबाट देख्दैमा पनि संक्रमण हुन्छ झैँ व्यवहार गर्नुभयो । जहाँसम्म म एउटा सचेत नागरिकको हैसियतले ३ हप्तासम्म हाम्रो भेट नभएको व्यहोरा उहाँहरुलाई जानकारी गराइसकेको थिएँ । अझै धेरै नरमाइलो लागेको त दिउँसोमा कहिल्यै लक नहुने गेटहरुमा पनि ताल्चा लाग्न सुरु भयो । बाबु सानो छ, बुझ्दैन जान्छ भनेर होला । धेरै जनालाई थाहा थियो एक पटक तिम्रो श्रीमानलाई कस्तो भएको छ भनेर कसैले सोध्नुभएन । मनै अमिलो भएरै आयो । अनि अचम्मै लागेर आयो पनि कोरोना भाइरसको संक्रमणको बारेमा हाम्रो बुझाइ देखेर । कस्तो समय न कसैलाई भेट्न पाइने यसो समय कटाउन फेसबुक खोल्यो । कोरोना संक्रमित यति जनाको मृत्यु भनेर आएको न्युज देख्थेँ । मुटु चिसो भएर आउँथ्यो, उफ् यो १२ दिन त मैले जीवनकै सबैभन्दा छटपटीमा बिताएको छु । यति धेरै पीडा, डर अनि त्यागिएको मैले कहिल्यै महसुस गरेकी थिइनँ । उसो त कोभिड १९ संसारकै लागि ठूलो परीक्षा बनेर आएको छ । मैले पनि आफूलाई अझ बढी बलियो भएको महसुस गरेको छु ।



श्रीमान्को स्वास्थ्य अवस्था

जब उहाँ संक्रमित हुनुभयो । त्यसपछि उहाँले गुर्जो, बेसार, कागती पानि मल्टिभिटामिन्स तथा दिनको ३ पटक वाफ लिने र पोषिलो खाने कुराको साथमा व्यायम पनि गर्नुहुन्थ्यो । उहाँ तथा परिवारका सबै व्यक्तित्वहरु आत्तिनुभएको महसुस मैले गरिनँ । उहाँसँगै सबै जनाले गुर्जो लगायतका घरायसी आहार बिहार खानुभयो । त्यसपछि पोजेटिभ रिपोर्ट आएको १ हप्तामा उहाँ लगायत सबै जनाको स्वाब टेस्ट भयो । सबै जनाको रिपोर्ट नेगेटिभ आयो । हामी सबैजना धेरै खुशी छौँ । सकरात्मक सोच, आत्मबल र राम्रो खानपिनले उहाँले कोभिडविरुद्घको युद्घ जित्नुभएको छ । यद्यपि उहाँ कोभिड १९ प्रोटोकलअनुसार अझै १ हप्ता आइसोलेसनमा बस्नुपर्नेछ।



मेरो कौतूहल–कन्ट्याक्ट ट्रेसिङमा पर्नुभन्दा अगाडि परिवारसँगै बस्ने, खाने गर्दा पनि यो भाइरस परिवारको अन्य सदस्यलाई सरेन या सरेर पनि बिना लक्षण उहाँहरुलाई पनि निको भएको होला ?



सन् २०२० संसारकै लागि एकदमै नराम्रो रह्यो त्यसैगरी हामीले पनि ठूलै कठिनाइको सामना गर्यौँ । यो कठिनाइको समयमा पनि कति पनि नडगमगाउने प्रिय व्यक्ति, आफै संक्रमित पो भएको छु कि भन्ने त्रासदीमा पनि छोरा र परिवारलाई १८ घण्टा निरन्तर सेवा गर्ने सकारात्मक र शान्त स्वभाव हुनुभएकी मेरी सासू आमा, बुवा, भाइ लगायत हामीलाई प्रत्यक्ष रूपमा सहयोग गर्नुहुने खैनपा १२ का वडा अध्यक्ष एवं आदरणीय अंकल, घरमै गएर सान्त्वना दिनुहुने खैनपा.का मेयर, स्वास्थ्यकर्मीहरु तथा फोनमार्फत स्वास्थ्य सहजीकरण गर्नुहुने डाक्टर तथा सम्पूर्ण हाम्रा आफन्तजनहरु, आदरणीय व्यक्तित्वहरु, साथीभाइ जसले हामीलाई कोरोनाविरुद्घको लडाइँ जित्न हौसला प्रदान गर्नुभयो, सम्पूर्णमा हृदयदेखि नै धन्यवाद व्यक्त गर्दछु ।



विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोभिड–१९ भोलि हामी जोकोहीलाई पनि हुनसक्छ, हतास नबनौँ, संयमित रहौँ । सकरात्मक सोच र आत्मविश्वास अनि खानपिनमा ध्यान पुर्यायौँ भने हामी सजिलै यो भाइरसलाई परास्त गर्न सक्छौँ । संक्रमित र संक्रमितको परिवारलाई कठिनाइको अवस्थामा तपाईंहरुले गर्नुभएको एउटा फोन कलले पनि धेरै धेरै हौसला मिल्ने रहेछ । संक्रमितलाई घृणा नगरौँ । बेवास्ता नगरौँ, प्रेम गरौँ हौसला प्रदान गरौँ । सहयोग गरौँ । कोभिड–१९ सँग हामी धेरै नडराऔँ, संक्रमितसँगै बोल्दैमा यो रोग संक्रमण हुँदैन रहेछ र भइहालेमा पनि हामीले सोचेजस्तो डरलाग्दो रोग होइन रहेछ । सकारात्मक सोचौँ, व्यायम गरौँ, शारीरिक स्वास्थ्यसँगसँगै मानसिक स्वास्थ्यको पनि ख्याल गरौँ, आशा छ यो भाइरस आफै हार्नेछ र यो संसारबाट हराउनेछ अनि हामी छिट्टै पहिलेकै दैनिकीमा फर्किनेछौँ।