☰ open Loading... 18 April 2024|  

राजधानी धान्न सक्षम देउखुरी
  | २० आश्विन २०७७, मंगलवार २१:०३

राप्ती गाउँपालिकाको भालुवाङ बजार केन्द्र रहेको पाँच नम्बर प्रदेशको स्थायी राजधानी घोषणा भएपछि जिल्लामा उत्साह छाएको छ। राजधानीको केन्द्र भालुवाङ बजारमा दिपप्रज्वलन गरिएको छ। राजधानी घोषणाको उत्साहसंगै राजधानीको ‘भौतिक उपस्थिती’ कहिले होला भन्ने चासो समेत बढेको छ।

प्रदेशसभाबाट मंगलबार घोषित स्थायी राजधानी भौतिक रुपमै स्थापति हुन तत्कालका लागि कतिको सम्भव छ त? प्रदेश राजधानीको केन्द्र राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी भन्छन्, ‘भौतिक पूर्वाधार र जग्गा जमिनको हिसवाले हामीहरु कमजोर छैनौँ।’

उनका अनुसार तत्कालै राजधानीका लागि चाहिने भौतिक पूर्वाधार गाउँपालिकामा छ। गाउँपालिकाको लालमटियामा रहेको राप्ती प्राविधिक शिक्षालयको भौतिक संरचना प्रादेशिक केन्द्र सञ्चालनका लागि तत्कालका लागि पर्याप्त हुने देखिन्छ। यो क्षेत्र भालुवाङ बजारदेखि थोरै पश्चिममा पर्दछ। यो गाउँपालिकाको पुरै क्षेत्र राजधानीका लागि समावेश गरिएको छ।

यो प्राविधिक शिक्षालयमा ३५ को हाराहारीमा एकै स्थानमा ठूला भवनहरु छन्। ‘राप्ती प्राविधिक शिक्षालयमा रहेका भवनहरु प्रादेशिक प्रशासनीक केन्द्र सञ्चालनका लागि पर्याप्त हुन्छन्,’ गाउँपालिका अध्यक्ष सुवेदी भन्छन्, ‘३५ को हाराहारीमा ठूल्ठूला भवनहरु छन्, तत्कालका लागि यिनै भवनहरुको प्रयोग प्रदेश सरकारले गर्न सक्छ।’ उनका अनुसार प्रदेशसभा, तथा मन्त्रालय स्थापनाका लागि यि भवनहरु पर्याप्त हुने छन्। उक्त प्राविधिक शिक्षालयलाई अन्य क्याम्पस, विद्यालयहरुमा स्थानान्तरण गरेर उक्त शिक्षालयको भवनलाई प्रदेशको प्रशासनीक केन्द्र बनाउन सकिने अध्यक्ष सुवेदी बताउँछन्। ‘प्राविधिक शिक्षालयलाई अन्यत्र स्थानान्तरण गर्न सकिने आधारहरु पनि प्रशस्तै छन्,’ उनले भने ‘यो शिक्षालाई अन्यत्र स्थानान्तरण गरेर प्राविधिक शिक्षालयको भौतिक पूर्वाधार प्रदेश सरकारका लागि तत्काल उपयोग गर्न सकिन्छ।’

यसैगरि प्रदेश सरकारका लागि यो गाउँपालिकामा सरकारी जग्गाको अभाव नहुने गाउँपालिकाको दाबी छ। यो गाउँपालिकाले प्रदेशलाई पर्याप्त सरकारी जमिन उपलब्ध गराउन सक्ने बताउँछ। उसका अनुसार १ हजार विघादेखि बढी सरकारी खाली जमिन गाउँपालिकासंग छ। ‘हामीहरु प्रदेश सरकारलाई चाहिने पर्याप्त जमिन उपलब्ध गराउन सक्ने ल्याकत राख्छौँ,’ उनले भने ‘१ हजारदेखि १५ सय विघासम्म सरकारी जमिन हामीसंग छ, त्यो जग्गा प्रदेश सरकारले उपभोग गर्न सक्छ।’ यो गाउँपालिकाको यो जमिन राप्ती नदीको तटीय क्षेत्र तथा बाँझो ऐलानी जमिनसहितको हो।

यसैगरि राप्ती गाउँपालिकासंग सीमा साँध जुधेको गढवा गाउँपालिकाका तीन वटा वडा राजधानीमा समेटिएका छन्। राजधानीमा समेटिएका यो गाउँपालिकाका १,२ र ३ नम्बर वडामा तत्काल भौतिक संरचनाको उपलब्धता भने खासै छैन। वडा नम्बर २ को एउटा सरकारी भवन मात्रै रहेको जनाउँदै गाउँपालिकाका अध्यक्ष सहजराम यादवले भने ‘यो भवनलाई पनि कुनै एक मन्त्रालयका रुपमा प्रयोग गर्न सक्निे देखिन्छ।’ तीन वडा राजधानीमा समावेश गढवाले यि तीनवटा वडाबाट सरकारी जमिन भने पर्याप्त उपलब्ध गराउने सक्ने देखिन्छ। यि तीनवटा वडामा मात्रै यो गाउँपालिकाको झण्डै दुई सय बढी सरकारी जमिन खाली अवस्थामा छ। ‘राजधानीका लागि तीनवटा वडाबाट पर्याप्त जमिन दिन सक्छौँ,’ उनले भने ‘दुई सय विघा भन्दा कम जग्गा हामीसंग छैन।’ यो जग्गा पनि राप्तीको नदी तटिय क्षेत्र हो भने केहि सार्वजनिक ऐलानी जमिन पनि छ।

‘प्रदेश सरकारका लागि दाङ देउखुरीकै दुई स्थानीय तह राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा रहेको सरकारी जमिन पर्याप्त छ,’ गढवाका अध्यक्ष यादवले भने ‘तत्कालै प्रदेश सरकारको भौतिक उपस्थिती गराउने हो भने पनि राप्ती गाउँपालिकामा रहेको राप्ती प्राविधिक शिक्षालयका भवन पर्याप्त हुन्छन्।’

नागरिकन्यूज बाट