☰ open Loading... 20 April 2024|  

सोती घटनाः खबरदारी कार्यक्रममा नेता शाहको एक्यवद्धता
  | २२ आश्विन २०७७, बिहीबार १८:४१

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको घटनाका पीडितले उच्च अदालत सुर्खेतमा गरेको खबरदारी कार्यक्रममा नेपाली कांग्रेसका नेता राजीवविक्रम शाहले ऐक्यवद्धता जनाएका छन् ।

बिहीबार पीडित परिवार र दलित अधिकारकर्मीहरूले उच्च अदालत सुर्खेत अगाडि गरेको खबरदारी कार्यक्रममा नेता शाह पनि सहभागी भएर ऐक्यवद्धता जनाएका हुन् ।

उक्त खबरदारी कार्यक्रममा बोल्दै शाहले पीडकलाई कडाभन्दा कडा कारबाही र पीडितलाई न्याय दिनुपर्ने पर्ने बताए । अहिले पीडित परिवार न्यायका लागि भौतारिरहेको भन्दै उनले भने, ‘पीडकलाई हदैसम्मको कारबाही हुनुपर्छ ।’ पीडक भनिएकालाई पछिल्लो समय धरौटीमा छोड्ने चलन स्थापित हुँदै गएको उनको भनाइ छ । ‘घटनामा संलग्न भनिएकालाई धरौटीमा छोड्ने नजिर बसाउनु हुँदैन,’ उनी भन्छन्, ‘जसले गर्दा पीडकले चलखेल गर्ने ठूलो मौका पाउँछ र पीडित न्याय पाउनबाट वञ्चित हुन्छ ।’

साथैवीरेन्द्रनगरमा प्रजातान्त्रिक महासंघ नेपाल सूचना तथा सञ्चार विभाग कर्णाली प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सोती घटना कमजोर गराउन राजनीतिक चलखेल र विभिन्न प्रलोभन देखाइएको बताएका छन् । घटना कमजोर गराउन पोस्ट मार्टम रिपोर्टसमेत त्रुटिपूर्ण बनाएको उनले आरोप लगाए ।

अन्तरजातीय विवाह गर्न जेठ १० गते जाजरकोटबाट रुकुम पश्चिमको चौरजहारी–८, सोतीमा गएका नवराज विकसहित ६ जनाको ज्यान गएको थियो ।

पीडित पक्षले भने सामूहिक हत्या भएको दाबी गर्दै आएका छन् । अहिले यो मुद्दा अदालती प्रक्रियामा छ ।

वीरेन्द्रनगरमा प्रजातान्त्रिक महासंघ नेपाल सूचना तथा सञ्चार विभाग कर्णाली प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रदेश संयोजक विष्णु प्रसाद न्यौपाने, केन्दीय संयोजक रोजी पराजुलीले आफ्नो धारणा राखेका थिए ।