☰ open Loading... 19 April 2024|  

टिकटकमा ‘व्यस्त ’अख्तियार टोली
  | २३ आश्विन २०७७, शुक्रबार २०:०३

 

सुर्खेत -अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोली केही दिन अघिदेखि डोल्पा र मुगुका विभिन्न स्थानमा पुगेको छ । अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा आयोगमा परेको उजुरीको छानविन गर्न टोली त्यसतर्फ पुगेको हो ।
उजुरीका विषयमा छानविन गर्न पुगेको टोली त्यहाँको पर्यटकीय स्थलमा पुगी टिकटक बनाउन र फेसबुकमा फोटो पोष्ट्याउन व्यस्त  देखिएका छन् । आफु जानुपर्ने स्थानविन्दु पहिले नै फेसबुकमा सार्वजनिक गर्ने, उच्छृंखल गतिविधीसहितका टिकटक भिडियो अपलोड गर्ने लगायतका क्रियाकलाप उक्त टोलीले गरिरहेको छ । जसको कारण टोलीले अनुसन्धानतर्फ ध्यानकेन्द्रित नगरी पर्यटकीय मनोरञ्जन लिइरहेको स्पष्ट छ ।

उजुरीको छानविन गर्न पुगेको टोली त्यसतर्फ पुग्नुपूर्व सामाजिक सञ्जालमार्फत सार्वजनिक हुने र त्यस किसिमका गतिविधि गरेको पाइएपछि उनिहरुले गरेको अनुसन्धानमाथी नै आशंका सिर्जना भएको छ । जसको कारण उजुरीसँग सम्बन्धित प्रमाण लुक्नसक्ने खतरा समेत देखिएका छन् ।

 

मुगुको रारा छायाँनाथ नगरपालिका, सोरु गाउँपालिका र डोल्पाका ठूलीभेरी नगरपालिकाका उजुरीसँग सम्बन्धित गतिविधिको अनुसन्धान गर्न टोली त्यसतर्फ पुगेको आयोगका निमित्त प्रमुख देवकुमार राईले जानकारी दिए ।
उनका अनुसार आयोगका सूचना अधिकारी मेघनाथ सापकोटाको नेतृत्वमा १० जनाको टोली मुगु गएको हो भने आयोगका डिएसपी सरोज पौडेलको नेतृत्वमा पाँच जनाको टोली डोल्पा पुगेको हो ।
यी दुईवटै टोली हाल डोल्पा हुँदै मुगु पुगेका छन् ।
टोली जानुपूर्व नै सम्बन्धित कार्यालयलाई जानकारी गराई अनुसन्धान टोली गएकोले यस्ता गतिविधिीले छानविनमा प्रभाव नपर्ने राईको भनाई छ ।