☰ open Loading... 9 October 2024|  

“हतोत्साहित बनेर प्रोत्साहन भत्ता लिदैन’
  | १ कार्तिक २०७७, शनिबार १२:१४

 

सुसील केसी ।

सुर्खेत । कर्णालीमा कार्यरत कर्मचारीहरुका लागि प्रदेश सरकारले व्यवस्था गरेको कर्मचारी प्रोत्साहन भत्ता कर्मचारीले नै अस्वीकार गरेका छन् । सरकारले भत्ताको नाउँमा कर्मचारीमाथि दवावमा राखेर काम लिएको भन्दै एक कर्मचारीले उक्त भत्ता नलिने बताएका हुन् ।
भौतिक पूर्वाधार विकास मन्त्रालय अन्र्तगतको खानेपानी, सिचाई तथा उर्जा विकास कार्यालयको लेखा अधिकृत पदमा कार्यरत सुसील केसीले भत्ता नलिने बताएका हुन् ।

सुसील केसीकाे फेसबुक स्टाटस

निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको केन्द्रिय सदस्य एवंम् कर्णाली प्रदेश संयोजक समेत रहेका केसीले यही असोज २१ गते आफ्नो फेसबुक स्टाटसमा ‘कर्णाली प्रदेश सरकारले दिएको प्रोत्साहान भत्ता आजको मितिबाट तिरस्कार गर्दछु ।’ भनी उल्लेख गरेका थिए । त्यसको केही दिनमै पुनः शुक्रबार एक स्टाटस लेख्दै भनेका छन् ‘कर्णाली प्रदेश सरकारले कर्मचारीलाई प्रोत्साहन स्वरुप प्रदान गरेको भत्ता रु. ४००० यो महिनाबाट स्विकार गर्न सकिएन ।’

प्रदेश सरकारले कर्मचारीलाई प्रोत्साहन गरेजस्तो प्रचारबाजी गर्ने तर काम गर्दा राजनीतिक दवावमा राख्ने गरेको केसीले बताए ।
‘सरकारका मन्त्रीबाट कर्मचारीलाई सपोर्ट गरेजस्तो गर्ने, हतोत्साहित बनाउने, दवावमा राख्ने लगायतका क्रियाकलाप भैरहेका छन्’ उनले भने, ‘त्यसैले हतोत्साहित बनेर प्रोत्साहन भत्ता नलिने निर्णय गरेको हुँ ।’

काम गरिरहेका कर्मचारीलाई मनलाग्दी गरेर सरुवा गर्ने, कर्मचारीलाई गालीगलौज गर्ने, प्रदेश लेखा नियन्त्रक जस्तो कार्यालयलाई दवावमा राखेर १७–१८ महिनादेखि दरवन्दी रिक्त राख्ने, पुनः सोही दरवन्दीमा पदस्थापना गर्न दवाव दिने लगायत क्रियाकलाप गर्ने गरेको उनले बताए ।



केसीले भदौं महिनासम्म लिदैं आएको उक्त भत्ता असोजदेखि अस्वीकार गरेका जानकारी दिए ।

‘भदौंसम्म लिएपनि असोजदेखि नलिने निर्णय गरेको छु’ उनले भने, ‘वर्तमान सरकार हुन्जेलसम्म उक्त भत्ता लिदैन । सरकार बदलियो वा पात्र बदलिएर नियत राम्रो देखे भत्ता सहजै स्वीकार गर्न सक्छु ।’