☰ open Loading... 6 December 2021|   सोमवार, मंसिर २०, २०७८

Advertisement
जीवनदान ( कथा)
  |

 


कुलराज सुवेदी

गए साल हिउँदमा धेरै सदरमुकामहरुमा माओवादीहरुले आक्रमण गरे । अछामको मंगलसेन र साफेमा पनि आक्रमण भयो । यही नजिकै दैलेखको दुल्लुमा समेत आक्रवण भयो । जिल्ला सदरमुकामहरू कब्जा हुँदा पनि शाही सेनासँग भने खासै भिडन्त भएको छैन ।आक्रमणको तारो मा धेरैजसो नेपाल प्रहरी र सशस्त्र प्रहरी पर्ने गरेको छ।

मेजर प्रेम सिङ्ग शाही बन्दै गरेको कर्णाली राजमार्गको मान्मा नाग्म खण्ड निर्माणको लागि सुर्खेतबाट खटिई आएका थिए । ९० जनाको उनको टोली सदरमुकाम मान्म भन्दा झण्डै १३ किलोमिटर पर पीलिमा अस्थायी कायाम्प बनाएर बसेको थियो । नेपाली सेनाले आफ्नो विकास निर्माण महाशाखा अन्तर्गत माओवादी अतिप्रभावित छवटा जिल्लामा जनताको मन जित्ने उद्देश्यले यस्तै प्रकृतिका विकास निर्माण कार्यमा सेनाको प्लाटुन हरुलाई खटाउने गरेको थियो ।

जिल्लाकै रास्कोट घर भएका मेजर शाही आफ्नै जिल्लामा सडक निर्माण गर्नेगरी खटिन पाउँदा खुशी पनि थिए । स्थानीयको समेत सहयोगमा मान्मा )ताडी खण्डको पहरो फोरी ट्रयाक खोल्ने काम पूरा गरेपछि जंगी अड्डाले समेत फोन गरेर बधाई दिएको थियो । बेलामौकामा माओवादीबाट आक्रमणमा परिन्छ कि भन्ने चिन्ता पनि नभएको होइन , तर जिल्ला सदरमुकामहरू कब्जा गर्दा पनि सेनासँग खासै भिडन्त नभएको र निर्माणकोलागि खटिएको टुकडी माथि आक्रमण गर्दा माओवादी आफै अलोकप्रिय हुने सम्भावनाले आक्रमणमा परीदैन भन्नेमा उनी ढुक्क थिए । त्यसो त जिल्लाका माओवादी कमाण्डरहरु संगपनि बेलामौकामा भेट हुँदा हाय हेल्लो पनि चल्ने गरेकै थियो ।

साउनको महिना घाम डुबे सँगै चिसो सिरेटो चल्थ्यो । पारी तीनचुली डाँडाको हिउँ भिर खर्क गाउँसम्मै झर्थ्यो । मान्मा को डाँडामा पनि माथिल्लो खोरिया पुरै हिउँले ढाकेको थियो । साझ ७स्३० मा खाना को घन्टी बज्यो । सबै जवानहरु थाल लिएर खानाको लाइनमा बसेको उनले आफ्नो कोठाको सानो प्वालबाट देखिएको थियो । एउटा जवान खान ल्याएर ढोका बाहिर उभिएर उनलाई बोलायो तर खान रुचि छैन भनेर फर्काइदिए । कोठा पनि के भन्नु पुरानो टीनले बारेको र सल्लाले छाएको लामो खोर जस्तो गोठको एउटा कुनामा टीनकै ढोका राखेको एउटा सानो भाग । यहाँ आएर अस्थायी क्याम्पमा बसेको पनि छ महिना भइसकेछ । पछिल्लो पटक माइली छोरी बिरामी भएर सुर्खेत सम्म लैजानको लागी गाउँ गएको पनि पुरै ३ महिना भएछ । मान्मा र ताडी बीचको ठूलो पहरो फोरेर अगाडि ५ किलोमिटर जति सडकको ट्र्याक खोलिसकेको छ । यही गतिले काम हुने हो भने डेढ वर्ष जति लाग्ला नाग्म सम्म ट्र्याक पुग्न । सडक निर्माण क्रममा दुई जना जवानको विस्फोट मा पारेर र पहरामा बाँधिएको रसी चुँडिएर मृत्युसमेत भइसकेको छ । बर्षदिन पुगेपछि नयाँ प्लाटुन खटाएर आफूलाई फिर्ता बोलाउछ कि भन्ने आशा पनि छ ।

यस्तै सोच्दै थिए कतिबेला निदाएछन् पत्तै भएन । अचानक पारी न्यौपाने गाउँको कुकुरहरु चर्को स्वरमा भुकेपछि उनको निद खलबलियो । सिरानी मुनि को घडी निकालेर हेरे ११स्३० भएको रहेछ । कुकुर भुकाइ को आवाज झन् चर्को हुँदै गएपछि माहोल पनि वुज्ने र पिसाब पनि फेर्ने निहुँले उनी बाहिर निस्के । सेन्ट्री मा बसेको रामसिंह थापाले माथिबाटै मधुरो स्वरमा बोल्यो स् सर छापामारहरु अगाडि बढे जस्तो छ, ५र६ वटा लाइट पनि बलेका छन् । अझै निधो गरेर हजुरलाई बोलाउन जान्छु भन्ने सोचेको थिए, आइपुग्नु भो ।

औंशीको चकमन्न रात थियो। उनीहरुले क्याम्प बनाएको ठाउँको केही मिटर पर बाटै ठाडो भिर तिलामा गएर मिसिन्छ । कलङमलङ आवाज अलि प्रस्ट हुन त थाल्यो । दुबैजनाले ध्यान दिएर हेरे अब भने छापामारहरुको आएको कुरा ढुक्क भयो । मेजर प्रेम सिंहले मध्यम स्वरमा अलर्ट भने । सेकेन्ड लेफ्टिनेन्ट तारा सहित सबै जवानहरु जर्याक जुरुक्क उठे । उनले छोटो व्रिफ िगरी हतियार भएकाहरुले हतियारसहित र अन्य पनि पोजिसनमा रहन निर्देश गरे । तत्काल सदरमुकाम मान्म स्थित दल भन्जन गण मा सम्पर्क गरी आक्रमण हुन सक्ने सम्भावना भएकोले सहयोगको लागि याचना गरे । कर्णेल ले केही क्षणमा स्थिति बुझि उतैबाट खबर गर्ने बताएपछि तारासँग बसेर युद्दकार्य तयारीको योजना बनाए । निर्माण कार्यमा खटिएकोले उनीहरुसँग इमर्जेन्सी हतियार मात्रै थिए । १५ थान इन्सास, ५ थान थ्रिनट थ्रि र तीन थान रसियन पेस्तोल मात्र थिए । त्यसका लागि आवश्यक गोलीगठ्ठा पनि अत्यन्त कम थियो।

बिस्तारै आबाज नजिकिँदै आयो । अब पाँच मिनेटको दुरीमा मात्र छापामारहरु थिए । ताराले क्याम्प भित्रका सबै लाइट बन्द गरी मुख्य गेट बाहिरको फ्ल्यास लाइट मात्र बाले । ठीक त्यही बेला दल भन्जन गणबाट फोन आयो । मेजर प्रेमले रिसिभ गरेको भएतापनि वाकिटकी को आवाज बाहिरबाटै सुनिएको थियो । सदरमुकाममा समेत आक्रमण गर्ने तयारीको साथ आएको हुन सक्ने र ताडि वरको बाटोमा एम्बुस राखिएको सूचना समेत आएकोले सहयोग गर्न नसक्ने जानकारी आयो । सिडिओलाई फोन गरेको आफूसँग जिल्ला सदरमुकाम सुरक्षा गर्न को लागि समेत प्रयाप्त प्रहरी नभएको जानकारी आयो ।

थोरै हतियारसहित अठार बीस जना जवानहरुले अग्रमोर्चामा रहेर पोजिसन लिएका थिए । छापामारहरु के कति संख्यामा र के कस्ता हतियारसहित आएका छन् भन्नेकुरा को कुनै आकलन वा पूर्वसूचना थिएन ।आफूहरुसँग जेजति हतियार र गोलीगठ्ठा छन् ती नसकुन्जेल सम्म बहादुरीसाथ लड्ने रणनीति बन्यो। क्याम्पको पूर्व र पश्चिम तर्फ साँघुरो भूगोल थियो भने दक्षिणतर्फको ठाडो भिर सिधै तीलामा गएर ठोक्किन्थ्यो । छापामार हरुले तिनै तिरबाट घेरिसकेका रहेछन् । क्याम्प भन्दा माथिको सानो थुम्कामा अलि बढी आवाज सुनिन्थ्यो ,धेरै छापामारहरु त्यतै जम्मा भएछन् सायद । ठीक १२स्१० मा उनीहरुले माइकिङ सुरु गरे। कमरेड ज्वालाले भन्दैथिए स् हाम्रो मुख्य युद्ध भनेको सामान्ती राज्य व्यवस्थासँग हो खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने यो व्यवस्था पुरै असफल भएर डुङ्डुङ्ती गनाई सकेको छ । निभ्ने बेलाको बत्ती चर्को भनेजस्तै खुनी हत्यारा ज्ञानेन्द्रले आफ्नो अन्तिम प्रयास जारी राखेको छ । तर अब जनसत्ताले छिट्टै सहरकेन्द्रित युद्ध छेडेर काठमाडौँ कब्जा गर्दै छ । त्यसैले इतिहासमा एकाध घटना बाहेक राष्ट्रियताको पक्षमा उभिएको शाही सेनाले पनि यो मोर्चामा हातहतियारसहित जनमुक्ति सेना सामु आत्मसमर्पण गर्न हामी अनुरोध गर्दछौं । हाम्रो सत्ता स्थापना हुँदा जनताको पक्ष्यमा लाग्ने सेनाको उच्च मूल्याङ्कन हुनेछ।

आत्मसमर्पण गर्ने त सम्भावना नै थिएन । देश अनन्त युद्धमा गइसकेको थियो । समयमै नदिई उताबाट फायर सुरुभयो, पहिलो गोलि नै सेन्ट्री मा बसेको रामसिंह लाग्यो र रगताम्य हुँदै भुइँमा ढले । अचानक तिनै तिरबाट आक्रमण सुरु भयो । लडाइँलाई जतिसक्दो लामो बनाएर कम क्षतिमा समाप्त गर्न चाहन्थे प्रेमसिंह । ४ घन्टाजति लम्ब्याउन सके विहान हुने र त्यसपश्चात छापामारहरु जंगलतर्फ लाग्ने आकलन उनले गरेका थिए । तर पेस्तोल सहित जम्मा २३ वटा हतियारले लडाईंलाई कतिनै लम्ब्याउन सकिन्थ्यो र रु त्यसमाथि छापामारहरुको ढाइ तीनसयको संख्यामा रहेछन । सदरमुकामहरू आक्रमण गर्दा कब्जा भएका ब्प् द्धठ कोसमेत आबाज आइराखेको थियो। लडाइँ सुरु भएको १ घण्टा नहुँदै सेनाभित्र ठूलो क्षति भयो । ७ जना जवानको मृत्यु भइसकेको थियो र थुप्रै घाइते । त्यसमाथि भारतमा बनेका इन्सास राइफल तात्ने नपढ्किने र निशाना समेत सही नलाग्ने। त्यस्तो अवस्थामा समेत १३ किमी टाढाको सदरमुकामबाट सहयोग नपाउने अवस्था । जवानहरु हतोत्साही भएको देखेर मेजर प्रेमसिंह ले एउटा थ्री नट थ्रि समातेर अगाडीमात्र के बढेका थिए बिजुलीको गतिमा आएको गोलि उनको देब्रे कोखा बाट भित्र छिर्यो । पानी पनि भन्न नपाई उनी जहाँको त्यहीँ ढले र साहदत प्राप्त गरे । बढुवा भएको दुई वर्ष पुग्न २५ दिन बाँकी हुँदा सडक खन्ने कामको नेतृत्व लिएका शाहीले आफ्नै जिल्लामा मृत्युवरण गरे ।

शाही ढलेपछि सेकेन्ड लेफ्टिनेन्ट ताराले कमाण्ड सम्हाले । त्यतिन्जेल सम्म १३ जना जवानहरु सहिद भइसकेका थिए । युद्ध लम्ब्याउने शक्ति र सामर्थ्य दुवै थिएन उनीहरूसँग ।कमाण्डरको मृत्यु भइसकेकोले जवानहरु अत्यन्तै आत्तिएको देखिन्थे । त्यो देखेर ताराले आत्मसमर्पणको खबर बाहिर पठाए । तर सुरुमै आत्मसमर्पण नगरेकोले अब कारबाही जारी रहने खबर माइकिङ मार्फत प्राप्त भयो । ठीक त्यही बेला देब्रे पट्टिको टीनको बार भत्काएर एकहुल छापामार भित्रै छिरे । अब भने हातहतियार छाडेरै सेनाको भागाभाग भयो । तिनै तिरबाट घेरिएका थिए त्यसैले निस्पट्ट अँध्यारोमा सबै दक्षिणतर्फको तिला माथिको भुर तर्फ लागे । भाग्ने क्रममा भीरबाट सिधै टिलामा खसेर , भिरपहरामा ठोक्किएर , रुखका हाँगामा घोचिई २५ जना जवानहरूको मृत्यु भयो । तिलाको भेलले पारी फालेका केही जवानहरु भाग्दाभाग्दै २० किमि टाढा दैलेखको राकम बजारसम्म हिँडेरै पुगेका थिए । लडाइँ सुरु भएको तीन घण्टा नहुँदै १८ थान हतियार कब्जा गरेर छापामारहरु पश्चिमतर्फ लागे ।

मेजर प्रेमसिंह की पत्नी मोतिसरा बिहान गोठाधन्दा सकेर छोराछोरीलाई एक एक गिलास तातो दूध दिएर पानी लिन पधेरा पुगिन् । नुहाइधुवाइ सकेर एकसरो धोती पखालेपछि शिलाबरको गाग्रीमा पानी बोकेर घर फर्कँदै गर्दा घाम एक टंगालो माथि आइसकेको थियो ।आँगनमा पाइला टेक्दा पिढी र आँगनमा जीममाल कान्छा, नरप्रसाद , चौवन्नी रामु र धामी साइला लाई देखिन , मन अमिलो भयो। डोको पिढीमा बिसाएर गाग्री झिकिन् । विगत १० वर्षदेखि हरेक दिन बिहान र साँझमा धूपबत्ती गरेर जे नहोस् भनेर कामना गर्थिन् त्यही भएको थियो । जिम्माल कान्छाले टाउकाको टोपी हातमा राखेर भने ू हेर मोतीसरा, हुने हार दैव नटार भनेजस्तै हाम्रो मेजर प्रेम सिंहलाई दैवले हामीसित चुँडेर लग्यो । हिजो माओवादीले पिली हानेछन् । हाम्रो कान्छो सहित २५ जना ठाउँको ठाउँ ठहरै भएछन । छापामार तर्फ पनि उत्तिकै संख्यामा मरेका छन् रे । तर सेनातर्फ अरु थुप्रै तिलाले बगाएर र भाग्दा भिरमा लडेर मरेका छन् भन्ने पनि कुरा छ । सरकारको सिन्दुर लाए पछि लाए अह्राएको गर्नै पर्यो । हाम्रो कान्छाको दिन यत्ति नै रहेछ ।

जिम्माल कान्छाले मलिन अनुहारमा मधुर स्वरले सबै वृतान्त सुनाए । मोतिसरा लाई भने जिम्मालको बोलि जिन्दगीको सबैभन्दा गरौ भोली भयो । उनी टेकेको आँगन भासियो, वरिपरिका डाँडा हल्लिन थाले , पृथ्वी फनफनी घुम्न थाल्यो । उनी ठाउँको ठाउँ मुर्छित भइन् । झण्डै एक घण्टा पछि उनी विउँझदा आँगन मा मान्छेको भीड थियो । जेठी छोरी मालति, माइली मनसरा र कान्छो छोरा विरे उनको फरिया समातेर रोई राखेका थिए । उनी विउँझिए पछि फाट फुट गरेर मान्छेहरु लाख पाखा लागे । शिरमाथि घाम हुँदा उताबाट खबर आयो स् लास घर पठाउने अवस्था छैन, सेनाले सबै मृतकको आजै सामुहिक अन्त्येष्टि गर्छ । आफ्नै धर्म संस्कृतिअनुसार आज साँझबाट क्रिया सुरु गर्दा हुन्छ । अब भने प्रेमसिंह का एकाघरका बाहेक सबै मान्छे घरतिर लागे । भाइ सल्लाह गरी छोरो वीरसिंह को कर्म फुकाएर क्रियामा बस्ने व्यवस्था मिलाईयो ।

भोलिपल्ट दिउँसो रास्कोट र सान्निको आकाशमा सेनाको हेलिकप्टरले चार पांच पटक फन्को मार्यो ।दुई तीन पटक गोलाबारी को आवाज पनि सुनियो । पीलि हानेका छापामार कर्णाली तरेर रास्कोट तिर लागेका रहेछन् ।

मोतीसराको आँखा ओभानो भएको थिएन । अब तीनवटै लालाबालाको पालनपोषण र शिक्षा दीक्षाको जिम्मा उनैको थाप्लोमा परेको थियो । १२ बर्ष सेनामा जागिर गरेर पनि उनको श्रीमानले तराईमा जग्गाजमिन वा सुर्खेत नेपालगन्जमा घडेरी जोड्न सकेका थिएनन्। औल को चार हलको खेर र लेख को १० रोपनी पाखो बारी खनजोत गर्दा हातमुख जोर्न त पुग्थ्यो तर मुस्किलले ।

साझा ८ बजेतिर कसैले ढोका ढक ढक्यायो । क्रियामा भएपनि सानै भएकोले छोरालाई संगै सुताइएकी थिइन । निदाएको छोरीमाथि सिरक मिलाएर राखिन् । टुकी बालेर ढोका खोल्न निस्किइन । ढोका बाहिर तीन जना हतियारधारी प्रहरी थिए । उनीहरुले मोतीसरालाई साझपख कोही नया मान्छेहरु हिँडेको देख्नुभयो कि भनेर सोधे । उनले कसैलाई नदेखेको कुरा बताइन् । एउटा पातलो अग्लो पुलिस ढोकानेर आएर भित्र चियायो र तीनवटा ओछ्यानमा को को सुतेको छ भनेर सोध्यो । उनले एउटा बिस्तारामा दुइटा छोरीहरु अर्को बिस्तारमा छोराहरु र भू ईको बिस्तारामा आफू एक्लै सुतेको बताए पछि ढोका बन्द गर्न लगाएर पुलिसहरु आफ्नो बाटो लागे।

उनीहरू गएपछि ढोकाको अग्लो लगाएर मोतिसरा आफ्नो ओछ्यानमा गइन् । टुकीको उज्यालोमा छोराको मुहार हेरिन् र निधारमा हात राखिन् । कल्याङ मल्याङ आवाजले छोरीहरु विउँझिएका रहेछन् ।जेठी छोरी मालतीले दक्षिण कुनाको विस्तार तर्फ देखाउँदै मम्मी त्यो खाटमा सुतेका मान्छे को हुन् भनेर सोधिन् । टुकीको मधुरो उज्यालोमा मोतिले चोर औँला मुखमा लगेर छोरीहरुलाई नबोल्न संकेत गरिन । आफ्नो ओछ्यानबाट उठेर गई दुवैलाई अंगालोमा बाधिन् र म्याई खाएर सुत्न लगाइन् ।

हो , मोतिसराले आधी घण्टा मात्र अगाडी हस्याङफस्याङ गर्दै आफ्नो घर छिरेका दुईजना छापामारलाई जीवन दान दिइन् । हो,मोतीसराले अस्ति साँझ मात्रै पिलीमा आक्रमण गरेर आफ्नै श्रीमान् लगायत २५ जना सेना मार्ने समूहका छापामारलाई जीवन दान दिइन् । हो मोतीसराले २ आमाका कोख हरुलाई र २ निर्दोष महिलाका सिउँदो लाई जीवन दान दिइन् । किनभने मोतीसरा संहारकर्ता होइनन् जन्मदाता थिइन् । कुनै आमाको कोख रित्तिदै गर्दा र कुनै महिलाको सिउँदो पुछिदा कति पीडा हुन्छ त्यो उनलाई थाहा थियो । किनभने मोतीसरा एउटी आमा थिइन , जननी थिईन् , धरती थिइन् र पृथ्बी थिइन् ।




प्रकाशित मितिः शुक्रबार, कार्तिक १४, २०७७     7:02:46 PM