☰ open Loading... 5 October 2024|  

कर्णालीका जिल्लामा वितरण गर्ने चामल भक्तपुर पठाउने व्यापारी प्रहरीको नियन्त्रणमा
  | १८ कार्तिक २०७७, मंगलवार १३:३८

कर्णालीको मुगु पठाउनुपर्ने चामल भक्तपुरतर्फ लैजाँदै गर्दा नियन्त्रणमा लिइएको चामलका ढुवानीकर्ता वासुदेव शर्मालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र भट्टका अनुसार शर्मालाई मंगलबार बिहान ११ बजे पक्राउ गरिएको हो ।

उनको स्वास्थ्य परीक्षणपछि म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयमा लगिने एसपी भट्टले जानकारी दिए । उनका अनुसार शर्मालाइ कालोबजारी ऐनअन्तर्गत मुद्दा चलाउने गरी प्रक्रिया अघि बढाइएको छ ।

प्रहरीले चामल नियन्त्रणमा लिनेबित्तिकै बयानका लागि बोलाए पनि शर्मा प्रहरी कार्यालय गएका थिएनन् ।

 

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको आपूर्तिकर्ता शर्मा ढुवानी सेवाका सञ्चालक शर्माले २ सय ५० क्विन्टल चामल भक्तपुर पठाउने क्रममा बिहीबार प्रहरीले सुब्बाकुनाबाट नियन्त्रणमा लिएको थियो । उनले उक्त चामल मुगुको कालैका लागि कम्पनीको गोदामबाट उठाएका थिए ।

सुर्खेतका एसपी भट्टका अनुसार शर्माको वीरेन्द्रनगरस्थित गोदाममा करिब २ सय बोरा (६० क्विन्टल) चामल रहेको छ । बाँकी (करिब ७ सय ३० क्विन्टल) चामल कहाँ बिक्री भयो भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए ।