☰ open Loading... 19 April 2024|  

तीन दिनभित्र क्रसर उद्योगको कागजात बुझाउन निर्देशन
  | २६ कार्तिक २०७७, बुधबार १७:५५

  1.  जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लामा सञ्चालित क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगलाई कानुनी प्रक्रिया पूरा गरेको उद्योग दर्तासम्बन्धी कागजात पेस गर्न अनुरोध गरेको छ ।

बुधबार प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकले उक्त अनुरोध गरेको हो ।

मंगलबार मन्त्रिपरिषद्ले सबै जिल्लामा सञ्चालित अवैध क्रसर उद्योग बन्द गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको थियो ।

सोहीअनुसार जिल्ला प्रशासन कार्यालयले यहाँका क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगलाई आफ्ना कागजात बुझाउन अनुरोध गरेको हो । जिल्ला प्रशासन कार्यालयले तीन दिनभित्र कागजात बुझाउन भनेको सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेले जानकारी दिए ।

हाल जिल्लाका विभिन्न ठाउँमा अवैध क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योग सञ्चालन हुँदै आएका छन् । कर्णाली प्रदेश सरकारले समेत अवैधरुपमा सञ्चालन भएका क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगको अनुगमन गरिरहेको छ ।