☰ open Loading... 13 October 2024|  

श्रीचौरबाट १५ जना जुवाडे पक्राउ
  | ३० कार्तिक २०७७, आईतवार १९:२९

सुर्खेत । पञ्चपुरी नगरपालिकाका एक वडाध्यक्ष र वडा सदस्यसहित १५ जना जुवाको खालबाट पक्राउ परेका छन् । पञ्चपुरी नगरपालिका-२, का वडाध्यक्ष जगत विसी, वडा नम्बर ३ का वडासदस्य चन्द्रवीर रावतसहित १५ जनालाई शनिबार राति जुवा खेलिरहेको अवस्थामा प्रहरीले श्रीचौरबाट पक्राउ गरेको हो ।

जुवाको खालबाट तीन लाख बढी नगद रुपैयाँ पनि बरामद गरिएको छ । जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई प्रकाउ गरिएको इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रमुख बखतबहादुर शाहीले बताए । उनका अनुसार पञ्चपुरी नगरपालिकाका ३१ वर्षीय रमेश बोहोरा, ३० वर्षीय नवीन शर्मा, ५० वर्षीय चन्द्रविर रावत, २८ वर्षीय बालाराम रोकाय, ५४ वर्षीय जगतबहादुर विसीलाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै ६१ वर्षीय अग्नी शर्मा, ३८ वर्षीय पूर्ण सुवेदी, ३४ वर्षीय खगेन्द्र जैसी, ३८ वर्षीय सुशीलकुमार बुढा, ४८ वर्षीय नवराज शर्मा, ३४ वर्षीय हर्कबहादुर बुढा, १९ वर्षीय लिलबहादुर, २४ वर्षीय कर्णबहादुर बुढा र ४० वर्षीय शिव खनाल पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत प्रमुख एसपी राजेन्द्रप्रसाद भट्टले १५ जनालाई पक्राउ गरिएको बताए । अहिले पक्राउ गरिएकाहरुलाई बाबियाचौर इलाका प्रहरी कार्यालयमा राखिएको उनले बताए । पक्राउ परेकाहरुके विषयमा सोधपुछ नभएकाले को-को प्रकाउ परे भन्न सक्ने स्थिति नभएको उनले बताए । जिल्लामा ल्याएपछि उनीहरुको परिचय खुल्ने उनको भनाइ छ ।