☰ open Loading... 9 October 2024|  

सल्यानको श्रीनगरका वडामा गरिएको शिल खुला
  | ११ मंसिर २०७७, बिहीबार २०:४०

सल्यान । सल्यानको शारदा नगरपालिकाका केही वडामा कात्तिक २७ गतेदेखि लगाइएको शिल पूर्णरूपमा खुला भएको छ । सल्यानको श्रीनगरमा ४६ जनाको स्वाब परीक्षण गर्दा ३३ जना कोरोना भाइरसका संक्रमित भएपछि श्रीनगर र आसपासका क्षेत्र शिल गरिएको थियो ।

पछिल्लो समय ८५ जनाको स्वाब परीक्षण गर्दा १२ जनामा कोरोना पुष्टि भएपछि उच्च स्वास्थ्य सतर्कता साथ शिल खुला गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । संक्रमितलाई सुरक्षित होमआइसोलेसनको सुनिश्चितता गरी अन्य पसल, व्यवसाय र क्रियाकलापसमेत भौतिक दुरी कायम गरी, मास्क, सेनिटाइजर, पसलमा अनिवार्य डोरी टाँगी, भिडभाड नगराई स्वास्थ्य मापदण्डको पालना गर्ने गरी शिल गरिएका क्षेत्र खुला गरिएको प्रशासनले विज्ञप्ति जारी गरेर जानकारी गराएको छ ।
उच्च सतर्कताका लागि प्रशासनले कात्तिक २७ गतेदेखि मंसीर १० गतेसम्म शारदा नगरपालिका वडा नम्बर १ का चैवाङ्ग, जिउला, शान्तिनगर, श्रीनगर बजार, छापडाँडा, दारिमचौर र पटनेरी, वडा नम्बर २ को जोगिदेउखोला र वडा नम्बर ६ को बरला आसपासका क्षेत्र शिल गरिएको थियो ।

अहिले उक्त क्षेत्रमा शिल खुला गरिएको छ । निश्चित मापदण्ड बनाएर शिल गरिएका क्षेत्र खुला गरिएको प्रशासनले जनाएको छ । बजार क्षेत्रमा कोरोना भाइरस भयावह हुन नदिन यहाँ श्रीनगर र आसपासका क्षेत्र शिल गरिएको थियो ।