☰ open Loading... 12 October 2024|  

सोती घटनाः पाँचजनालाई धरौटीमा छोड्न उच्च अदालतको आदेश
  | १२ मंसिर २०७७, शुक्रबार २०:२१

सुर्खेत । उच्च अदालत सुर्खेतले रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीमा नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको घटनाका अभियुक्तमध्येका पाँचजनासँग जनही एक/एक लाख रुपैयाँ धरौटी माग गरेको छ । मुख्यन्यायाधीश नहकूल सुवेदीको एकल इजलासले बिहीबार घटनाका ३४ जना अभियुक् मध्ये भीमबहादुर बुढा, डिल्ली घर्ती, क्वापे भन्ने लोकेन्द्र घर्ती, तुलाराम घर्ती र शौरभ पुनको हकमा एक/एक लाख धरौटी माग गरेको हो ।

यसअघि सोती घटनाका विषयमा तत्कालीन मुख्यन्यायाधीश कुमार चुडाल र न्यायाधीश सुदर्शनदेव भट्टबीच अभियुक्तमध्येका ६ जनालाई थुनामै राखेर कारबाही प्रक्रिया अघि बढाउने वा जमानत वा तारेखमा राख्ने सन्दर्भमा राय बाझिएको थियो । असोज २५ गतेको संयुक्त इजलासमा तत्कालीन मुख्यन्यायाधीश चुडालले सर्वजित भनिने सविन पुनसहित भीमबहादुर बुढा, डिल्ली घर्ती, क्वापे भन्ने लोकेन्द्र घर्ती, तुलाराम घर्ती र शौरभ पुनलाई साधारण तारेखमा छोड्नुपर्ने राय पेस गरेका थिए भने न्यायाधीश सुदर्शनदेव भट्टले उनीहरुलाई जिल्ला अदालत रुकुम पश्चिमले थुनामा राख्ने गरी गरेको आदेश सदर गर्नुपर्ने लिखित राय पेस गरेका थिए ।

‘संयुक्त इजलासको राय बाँझिदा एकल इजलासमा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ,’ उच्च अदालतका रजिष्ट्रार माधवप्रसाद आचार्यले भने, ‘माननीय मुख्यन्यायाधीशज्यूको एकल इजलासले ६ जनामध्येका एक सविन पुनलाई थुनामै राख्न र बाँकी पाँचजनालाई धरौटीमा छोड्न आदेश दिएको छ ।’ मुख्यन्यायाधीशले आफूले गरेको आदेश समर्थनका लागि सर्वोच्च अदालतको निवेदन प्रतिवेदन शाखामा पेस गर्न भनिएको छ । मुख्यन्यायाधीश सुवेदीको एकल इजलासले घटना विवरण कागजमा प्रतिवादी सविन पुनले भेरी नदी पार गरेर भागी रहेका व्यक्तिहरुलाई नियन्त्रणमा लिएको, प्रतिवादी पुनले आफू नदीमा गएको र भंगालो पार गरी भागिरहेका मानिसहरुलाई समातेर प्रहरीको जिम्मा लगाएको कुरा स्वीकार गरेकाले जिल्ला अदालत रुकुम पश्चिमको आदेश मिलेको ठहर गरेको छ ।

मुख्यन्यायाधीश सुवेदीको एकल इजलासबाट अन्य पाँचजनाले घटना हुँदाका बखत आफूहरु ढुंगा खानीमा काम गरिरहेको र घटनास्थलमा उपस्थित नभएको, उनीहरु अदालतमा स्वयम् उपस्थितभै बयान दिएको र अन्य तत्काल प्राप्त प्रमाणबाटसमेत उनीहरु घटनास्थलमा थिए भन्ने पुष्टि नभएको आधारमा पछि ठहरेबमोजिम हुने गरी हाललाई जनही एक/एक लाख धरौटीमा छोड्न आदेश भएको छ । गत जेठ १० गते रूकुम पश्चिमको सोतीमा जाजरकोटको भेरी नगरपालिका-४ का नवराज विकसहित गणेश बुढामगर, संजीव विक, भेरी नगरपालिका-११ का लोकेन्द्र सुनार, गोविन्द शाही तथा रुकुम चौरजहारी-१ का टिकाराम नेपालीको हत्या भएको थियो । घटनामा भेरी नगरपालिका-४ का लालबहादुर खड्का, मदन शाह, सरोज भडेल, आशिष विक, सुदीप खड्का, भेरी नगरपालिका-३ का विभाग पुन, इन्द्रगंज शाही, भेरी नगरपालिका-१३ का भोला विसी, भेरी नगरपालिका-११ का गोविन्द सुनार, भेरी नगरपालिका-३ का महेश कार्की, सल्यानको कुमाख गाउँपालिका-४ का डिल्ली विक र बाँकेको राप्ती सोनारी गाउँपालिका-४ का सुनिल सुनार घाइते भएका थिए । पीडित पक्षले अन्तरजातीय विवाह गर्न आफ्नी प्रेमिका लिन गएका नवराजसहितका ६ जनाको सामूहिक हत्या भएको दाबी गर्दै आएका छन् । नागरिकबाट साभार ।