☰ open Loading... 13 October 2024|  

प्रहरीको मिलोमतोमा ऐन विपरित चल्छन सवारी साधन
  | १३ मंसिर २०७७, शनिबार १३:५९

  • सुर्खेत । कर्णाली प्रदेश राजधानी सुर्खेतबाट सञ्चालन हुने सार्वजनिक सवारी साधनहरु ऐन विपरित सञ्चालित भैरहेको पाइएको छ । देउती नागरिक यातायात प्रालि सुर्खेतले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ विपरित सार्वजनिक सवारी चलाएको पाइएको हो ।

प्रालिका अनुसार तीनवटा सवारी साधन अस्थायी नम्बर प्लेटमा चलिरहेका छन् । यद्यपी सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा (१४) बमोजिम सवारी खरिद गरेको १५ दिनभित्र अधिकार प्राप्त अधिकारी समक्ष दर्ता गराई स्थायी नम्बर प्लेट लिनुपर्ने हुन्छ ।

उक्त यातायात प्रालिका लु.अ आ.सा ३७० नम्बरको गाडी र लु.अ अ.सा.३६८ नम्बरको एसएमएल गाडी नेपालगन्ज, सुर्खेत, रामघाट हुँदै बहाँकोट, जुम्ला रुटमा आवातजावत गरिरहेका छन् । उक्त गाडीले रोड परमिट, दुर्घटना विमा लगायतका कानुनी प्रक्रिया नपुर्याइ निर्वाधरुपमा यात्रु ओसार पसार गरिरहेका हुन् । जसको कारण यस्ता गाडीमा सवार यात्रुको दुर्घटना भएमा विमा, उपचार खर्च लगायतका सुविधाबाट बन्चित हुन्छन् ।

यातायातका साधन नियमसंगत भए वा नभएको नियमन गर्ने निकाय ट्रफिक प्रहरी समेत मुकदर्शक बनेको छ । यद्यपी ट्राफिक प्रहरी यी रुटमाहरु २४ सै घण्टा ड्यिुटि निर्वाह गरिरहेका हुन्छन् । नियम विपरित निर्वाध रुपमा चलिरहेका यस्ता यातायातका साधनहरुलाई कारबाहीको दायरामा ल्याई कानून पालना गराउन नसक्नु ट्राफिक प्रहरीको काम, कर्तव्य तथा कार्यक्षमता माथि आशंका पैदा भएको छ ।

देउती नागरिक यातायात प्रालिका सचिव रमेश खड्काले प्रालिले त्यस्ता गाडीहरु समितिमार्फत नचलाई आफुखुशी चलाएको बताए ।

सवारीधनीले आफुखुशी चलाइरहेका छन् । उनले भने, हामीले कानुनतः विभिन्न समस्याहरु आउछन् भन्दै पटक पटक खबरदारी गर्दा समेत मानेका छैनन् । यदि यस्ता गाडीहरु दुर्घटना भएपनि त्यसको जवाफदेही प्रालि हुँदैन ।

सुर्खेतमा सञ्चालित यस्ता प्रकृतिका अन्य यातायातका साधनहरु (टिप्पर, जीप, भ्यान) कानुनविपरित निर्वाध रुपमा चलिरहेका छन् । तर नियमनकारी निकायको मौनता देखिएको छ ।

जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख उपेन्द्र प्रसाद आचार्यले यस्ता प्रकृतिका सवारी साधनलाई कारबाहीको दायरमा ल्याइने बताए ।

तर, ट्राफिक र प्रहरीको निगारनी रहने मंगलगढी चौक, सुब्बाकुना, बांगेसिमल, छिन्चु, बबई, इत्राम लगायतका सिमानाकाबाट निर्वाधरुपमा यस्ता यातायातका साधनहरु सञ्चालन भैरहेको छन् ।