☰ open Loading... 5 October 2024|  

अस्पताल शिलान्यास गर्न प्रदेश मन्त्रीले गरे हेलिकप्टर चार्टर
  | १५ मंसिर २०७७, सोमबार १९:५०

१५ मंसिर, सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावल हुम्लाको सर्केगाड गाउँपालिकामा अस्पताल शिलान्यास गर्न हेलिकप्टर चार्टर्ड गरेर पुगेका छन् ।सोमबार बिहान मन्त्री रावलसहित सुर्खेतमा रहेका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसहितको टोली नेपाली सेनाको हेलिकप्टर चार्टर्ड गरेर गएका सर्केगाड गएका हुन्।

गाउँपालिकाको रकमबाट हेलिकप्टरको भाडा व्यहोर्ने गरी मन्त्री रावल अस्पतालको शिलान्यास गर्न सर्केगाड पुगेको गाउँपालिका स्रोतले जनाएको छ । सर्केगाड मन्त्री रावलकै निर्वाचन क्षेत्र हो ।

‘यो मन्त्रीज्यूकै निर्वाचन क्षेत्र हो । त्यसैले गाउँपालिकाले नै व्यहोर्ने गरी हेलिकप्टर चार्टर्ड गरेर मन्त्रीज्यूबाट नै अस्पतालको शिलान्यास गरिएको हो’ गाउँपालिका स्रोतले भन्यो ।मन्त्री रावल गाउँपालिकामा बन्न लागेको १५ शय्याको अस्पताल शिलान्यास गरेर सुर्खेत फर्किएको मन्त्रीका स्वकीय सचिव नन्दबहादुर रोकायाले बताए ।

‘मन्त्रीज्यू अस्पतालको शिलान्यास गरेर सुर्खेत फर्किसक्नुभएको छ । उहाँ गाउँपालिकाले चार्टर गरेको हेलिकप्टरमा जानुभएको थियो । मन्त्रालयले चार्टर गरेको हैन,’ रोकायाले अनलाइनखबरसंग भने, ‘हुम्लामा अझै गाडी पुगेको छैन । हेलिकप्टरमा जाँदैमा यसलाई अन्याथै मान्नु पर्दैन ।’

पछिल्लो समय कर्णालीका हिमाली जिल्लाहरुमा सानादेखि ठूला कामसम्म मन्त्रीहरु हेलिकप्टर लिएर जाने गरेका छन् । संघीय सरकारको कार्यक्रममा पनि आफ्नो नाम जोड्न प्रदेश सरकारका मन्त्रीहरु खर्च गरेरै गाउँ पुग्ने प्रवृत्ति देखिएको सर्केगाडका एक स्थानीयले बताए ।

‘गाउँका स्वास्थ्य चौकीमा सिटामोल छैन । मन्त्रीज्यू भने गाउँमा प्रभाव जमाउन हेलिकप्टर चार्टर्ड गरेर शिलान्यास गर्नुहुन्छ’ ती स्थानीय भन्छन् ।

कर्णालीमा ४२ अस्पतालको एकसाथ शिलान्यास

कर्णाली प्रदेशका ४२ वटा स्थानीय तहमा आधारभूत अस्पतालको एकसाथ शिलान्यास गरिँदै छ । प्रदेशका दश जिल्लामा ५, १० र १५ शय्याका अस्पतालको एकसाथ शिलान्यास गर्न लागिएको हो ।

प्रदेशमा पाँच शय्याको एक, १० शय्याको नौ र १५ शय्याका ३२ वटा स्वास्थ्य चौकी सोमबार शिलान्यास गर्न लागिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सल्यानमा आठवटा, सुर्खेत र दैलेखका सात/सातवटा, जाजरकोट र हुम्लामा चार/चारवटा, रुकुमपश्चिम र डोल्पाका तीन÷तीनवटा, जुम्ला र कालिकोटका दुई/दुईवटा स्थानीय तहमा अस्पताल शिलान्यास गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।अनलाइन खबरबाट