☰ open Loading... 23 January 2021|   शनिबार, माघ १०, २०७७

कर्णाली भर्सेज लखनउ, वाउ ! कर्णाली
  |

गणेश विशु
नेपालको लुम्बिनी प्रदेशस्थित नेपालगन्जसँग सीमा जोडिएको रुपैडिहा नियमित बजार थियो । खाद्यान्नदेखि, अन्य उपभोग्य सामग्री किन्न रुपैडिहा आउनु दैनिकी जस्तै हुन्थ्यो । अहिले बाँकेबाट कार्य क्षेत्र कर्णाली प्रदेश भएकाले त्यो दैनिकी आजभोलि अनियमित बनेको छ । कहिले कसो मात्र किनमेलका लागि रुपैडिहा पुग्छु । भारतको उत्तरा प्रदेशमा पर्ने रुपैडिहाको विषयमा केही ज्ञान भने छ । नेपाली बजारभन्दा सस्तोमा समान पाइने हुँदा नेपाली सेवाग्राहीको बाक्लो भिड हुन्छ । बजार त्यति व्यवस्थित र सभ्य जस्तो देखिँदैन । रुपैडिहाभन्दा लखनउसम्म धेरै पहिला बिहान गएर साँझ फर्केको थिएँ । आउँदा बिरामीसँग र फर्किँदा रात परिसकेकाले लखनउ केही नियाल्न सकेन । भलै यसको विषयमा सुन्ने मौका मात्र पाए ।
तर, यसपालि भारतको सबैभन्दा ठूलो प्रदेशको रूपमा रहेको लखनउलाई सुन्न मात्र होइन अवलोकन गर्ने अवसर मिल्यो । म लखनउ घुम्न भने आएको थिएनँ, छोरा सम्राटविक्रमको उपचारको शिलशिलामा पुगेको छुँ । तर अस्पतालमा लामो बसाइँ भएकाले घुम्ने समय निकालेँ । यतिबेला कोभिड–१९ (कोरोना भाइरस) का कारण घुम्ने समय त छैन तर पनि सवारी साधन प्रयोग नगरि पैदलै ठाउँठाउँ घुम्न पुगेँ । रुपैडिहादेखि लखनउसम्म पुग्दा निर्माण गरिएका सडक बाटोका विषयमा गाडीमै धेरैपटक वाउ ! वाउ ! भन्दै पुगियो । कहिँकतै कालोपत्रेसमेत नउत्रिएको आनन्ददायी सडकमा सररर पुग्दा नेपालसँग सिंगो भारत होइन लखनउसँग तुलना गर्दा पनि नेपालको विकास कम भएको महसुस म मात्र होइन मसँगै लखनउ पुगेकी श्रीमती प्रेमा गौतमलाई पनि भएको छ ।
सहरी र बजार क्षेत्रमा हुने भिडमा आकासे पुल, सडक चौडा आवश्यक पर्ने ठाउँमा चौडा बनाइएका छन् । आकासे पुलले लामो दूरीका साधनलाई झन्झट कम बनाएको छ । बजारभित्रको जामबाट छुटकरा दिन आकासे पुलले महत्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ । ठूल्ठूला घर । व्यस्त बजार । पार्कदेखि लिएर चोकसम्मका पूर्वाधार लोभ लाग्दा छन् । खोलानाला, मठ मन्दिर उस्तै किसिमले सिंगारिएका छन् । मान्छेको उपस्थितिले ती क्षेत्र रंगीन बनेका छन् । संगीतमय बनाइएका छन् ति क्षेत्रलाई । नेपालको पिछडिएको मानिएको कर्णाली प्रदेशलाई हेर्दा र अनुभूति गर्दा लाग्छ वाउ ! लखनउ ।
तर भौतिक संरचना र विकासको मोडेल देख्दा मात्र वाउ ! भन्दै जिब्रो टोक्ने बनायो तर, त्यही चिल्ला सडक, झक्किझकाउ खोला, मठमन्दिर नजिकैको दुर्गन्ध हेर्दा भने वाउ ! भन्न हिच्किचाउने अवस्था आउँछ । एक दिन बिहान पैदल यात्रा गर्दै थिए । चरक चौक नजिकै पुगे । त्यहाँ जथाभावी फालिएको फोहोरसँग मेरा आँखा ठोकिए । उताबाट हर्न बजाउँदै अटो रिक्सा आउँछ । फोहोर कुल्छिएर रोकिन्छ । अटोभित्रका यात्रु नाक थुन्छन् । केही छिन त्यहीनेर रोकिएँ । सयौं मान्छे यताउता गर्छन, खाएको फोहोर सडकमै फ्याक्छन् । यति मात्र होइन सहर नियाल्दै अर्को चोकमा पुगे । त्यहाँ पनि चोकमा सजावट, संरचना वाउ ! त्यहाँसम्म पुग्ने सडकको अवस्था कत्ति पनि गुनासो गर्ने ठाउँ थिएन ।
मैले यस विषयलाई कर्णालीसँग जोड्न खोजिरहेको छुँ । भौगोलिक विकटता र मुलुक संघीय संरचनामा जानुभन्दा पहिला सरकारको आँखा त्यहाँसम्म नपुग्दा कर्णाली पूर्वाधार निर्माणमा पछाडि छ । तर, कर्णालीका मान्छे त्यति असभ्य भएजस्तो मलाई लाग्दैन । कर्णालीभन्दा बाहिरबाट जानेले पनि बेलाबेला कर्णालीको सौन्दर्यतासँगै त्यहाँका सर्वसाधारणको पनि तारिफ गर्छन् । सामान्य जीवनशैली, प्राकृतिक सौन्दर्यतासँगै व्यस्त कर्णालीवासीको परिचय सभ्यतासँगै संस्कार र संस्कृति पनि छ । त्यसैले कर्णाली अहिले नै असभ्य भएको महसुस गर्नु परेको छैन । व्यस्त सडक छेउमा उभिएर दिसापिसाब गर्न त परको कुरा पछिल्लो समय त्यस्तै बाध्यताबाहेक शौचालयभन्दा बाहिर दिसापिसाब गर्ने बानी कमैमा छ । पूर्वाधार विकास मात्र ठूलो होइन, संस्कार र संस्कृति पनि उत्तिकै महत्वपूर्ण छ भन्ने कुरा लखनउ घुम्दा अझ बढी महसुस भयो ।
घरमा आएका पाहुँना मात्र होइन बाटो हिँड्ने बटुवालाई समेत पानीले स्वागत गर्ने संस्कार कर्णालीमा अझै पनि विद्यमान छ । एक घरमा आफ्ट्यारो पर्दा अर्को ले सहयोग गर्ने बानी कर्णालीका लागि नौलो होइन । तर बढ्दो सहरीकरणका कारण बाक्लो बनेको लखनउमा मैले त्यो अनुभूति गर्न सकेन । लखनउको व्यस्त बजार क्षेत्र पुग्दै थिए । सवारी साधनको बाक्लो चाप थियो । सडक छेउमा हिँड्ने पैदलयात्रीको पनि उस्तै चाप । तर त्यही चापको वास्ता नगरि सडक छेउमा एउटा पुरुष टिंग उभिएका । उनी त्यहाँ त्यसै होइन, मान्छे यताउता गर्दागर्दै त्यहीनेर पिसाब गर्दै थिए । पैदलयात्री देखे पनि नदेखेझैं गर्न बाध्य छन् । नाक थुनेर र मन्ठो घुसारेर हिँड्नुबाहेक त्यहाँ पैदलयात्रीको अर्काे विकल्प थिएन । किनकी यो सहरमा त्यसरी नै हिँड्न बानी परेको छ ।
जतिजति मान्छेको भिड भएको क्षेत्र जाँदै छु त्यति नै असभ्यताका रुप देखिन्छन् । विकास पूर्वाधारले मात्र होइन, सभ्यता, संस्कार र संस्कृति पनि चाहिन्छ । सभ्यता, संस्कार र संस्कृतिबिनाको सहरमा एकअर्काप्रतिको सद्भाव र मित्रता भेटाउन मुस्किलै पर्ला । जसले समाजलाई हिंसाप्रति ढकल्न मद्दत पु-याउँछ । सद्भाव र मित्रताका लागि पूर्वाधार अत्यावश्यक हुँदैन । जहाँ सभ्यता, संस्कार र संस्कृति हुन्छ त्यहाँ सद्भाव र मित्रता सँगसँगै सुख, शान्ति, अमनचयन र हिंसारहीत समाज हुन्छ । अनि अर्को कुरा राज्यले मात्र आफ्नो कर्तव्य निर्वाह गरेर सभ्य समाज निर्माण हुँदैन । जसका लागि त्यहाँ बसोबास गर्नेले पनि आफ्नो कर्तव्य पूरा गर्न जरुरी छ । सरकारले सडकलगायतका पूर्वाधार बनाउँदै जाने, सर्वसाधारण भत्काउँदै, फोहोर गर्दै र संरक्षण नगर्ने भन्ने कुरा हुँदैन । यो यही अभाव देखे मैले लखनउमा । जुन कर्णालीमा बिरलै पाइन्छ ।
लखनउको अर्को चोकमा पुग्दा सवारी साधन र पैदलयात्रीको चाप कत्ति कम थिएन । पसलहरूमा किनमेलका लागि ठेलमठेल थियो । कोरोना भाइरसको त्रासका बीच मान्छे केही आफ्नै सवारी साधनमा किनमेलका लागि आएका थिए । केही पैदल त कोही सार्वजनिक सवारी साधन अटो, ट्याम्पू चढेर आउने जाने क्रम चल्दै थियो । त्यही भिडमा एउटा चिल्लो कार सडक छेउमा रोकिन्छ । म नजिकै भएकाले ढोका खोल्न समस्या होला भनेर अलि छेउ सर्छुँ । कारको ढोका खुल्छ । आँखामा चस्मा, सफा कपडा लगाएका व्यक्ति कारभित्र थिए । शिक्षित र धनाड्य भएको आकलन सहजै गर्न सकिन्थ्यो । लाग्दैनथ्यो कि उनी कुनै सामान्य व्यक्ति होइनन् । उनले मुखमा गुट्खा चपाइ रहेका थिए । कारबाट नओर्लिएरै प्याच्च गुट्खा थुक्दै सानका साथ हुइकिए । सडक रातो भयो । उनी मात्र होइन मैले शिक्षित, अशिक्षित वर्गका व्यक्तिले पान, गुट्खा खाएर जथाभावी थुकेको देखेको छुँ । मैले मात्र होइन सहर छि-यो भने जो कोहीले देख्न सक्छ । यसले सडकै भत्काउने त होइन, करोडौं लगानी गरेर बनाएको चिल्लो सडकलाई दुर्गन्धित बनाएको छ । त्यति मात्र होइन, यसरी जथाभावी फोहोर फाल्दा र थुक्दा हाम्रा सन्ततिलाई कस्तो शिक्षा दिने भन्ने प्रश्न पनि उठ्छ । मैले सुनेको ठूला सहरमा जथाभावी थुक्न पाइँदैन । त्यसरी थुक्दा जरिवाना तिर्नुपर्छ । थुक्न मात्र होइन फोहोर फाल्ने ठाउँ र डस्बिनबाहेक अन्यत्र फाल्न पाइँदैन । तर लखनउमा जथाभावी फाल्दा सहर कूरुप र दुर्गन्धित हुँदै गएको छ ।
सहरीकरण हुनु आफैँमा राम्रो हो । सहकारीकरणसँगै सभ्य संस्कार र संस्कृति भुल्नु हुँदैन । जसले सहरलाई असभ्यता मात्र होइन, हिंसात्मक र फोहोरबाट पनि बचाउँछ । त्यसैले चेतना भया कि, ‘सभ्यतापूर्वक आफ्नो कर्तव्य पूरा गर्न जरुरी छ । आफैँबाट अहिले देखिनै सभ्य र कर्तव्यनिष्ट बनौं ।’ जसले सुन्दर, शान्त समाजसँगै विकासको नयाँ गतिमा लिने छ ।
लेखकः नागरिक दैनिकका पत्रकार हुन् ।

प्रकाशित मितिः बिहिबार, मंसिर १८, २०७७     6:37:38 PM