☰ open Loading... 25 April 2024|  

जनहितकारीको प्रविधिमैत्री साधारणसभा
  | २१ मंसिर २०७७, आईतवार १०:१७

सुर्खेत । जनहितकारी वचत तथा ऋण सहकारी संस्था वीरेन्द्रनगर सुर्खेतले २२औं वार्षिक साधारणसभामा प्रविधिको उच्चतम प्रयोग गरी सम्पन्न गरेको छ । शनिबार वीरेन्द्रनगर – ४ मा रहेको संस्थाको सभा हलमा सम्पन्न भएको कार्यक्रममा प्रविधिको भरपुर प्रयोग गरिएको भन्दै सहभागीहरुले उच्च प्रशंसा गरेका थिए । कोरोना भाइरसको महामारीको बीचमा पनि सहकारीले वर्षभरी गरेका कार्यक्रमहरुको बारेमा प्रविधिलाई उच्चतम प्रयोग गरेर जानकारी दिएकोमा सदस्यहरुले सहकारी नेतृत्वलाई धन्यवाद दिएका छन् ।

नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले जुम प्रविधिमार्फत सम्बोधन गर्दै सहकारीले प्रविधिको उच्चतम प्रयोग गरी देश विदेशमा रहेका सहकारीका सदस्यहरुलाई आफूले गरेका गतिविधिका बारेमा जानकारी दिएकोमा प्रशंसा गरे । राज्यमन्त्री रावतले सरकारले नै सहकारीलाई अर्थतन्त्रका तीन खम्बामा राखेकाले समाजमा आर्थिक क्रान्ति ल्याउनका लागि सहकारीले आफ्ना सदस्यहरुलाई बढी भन्दा बढी परिचालनमा ल्याउनुपर्ने बताए ।

यसैगरी कर्णाली प्रदेश सभा सदस्य यामलाल कंडेलले कोरोना भाइरसको समयमा समेत सहकारीले आफ्ना सदस्यहरुको हितमा रहेका काम गरेको प्रतिवेदन सुन्दा खुशी लागेको बताए । उनले समाज परिवर्तनका लागि जनहितकारी सहकारी मार्फत जुटेका तमाम सहकारीकर्मीहरुले कर्णाली प्रदेशमा मात्र नभएर देशकै नमूना सहकारी बनाउने गरी काम गरिरहेकोमा प्रशंसा गर्नुभयो ।यसैगरी प्रविधिको उपयोग गर्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, कार्यपालिकाका सदस्य तथा वडा नं. ४ का अध्यक्ष नीलकण्ठ खनाललगायतले सहकारीले प्रविधिको प्रयोग गर्दै साधारण सभामार्फत आफ्ना गतिविधिलाई आफ्ना सदस्यहरु र सरोकारवाला निकायसमक्ष पु¥याएकोमा जनहितकारी सहकारीको उच्च प्रशंसा गरे ।

कोरोना भाइरसका कारण सबै सदस्यहरु एकै ठाउँमा भेला भएर साधारणसभा सम्पन्न गर्ने वातावरण नभएपछि प्रविधिको उच्चतम प्रयोग गरेर भए पनि सहकारीका बारेमा सबैलाई जानकारी दिने उद्देश्यका साथ प्रविधिलाई प्रयोग गर्दै साधारण सभा मनाइएको संस्थाका अध्यक्ष हरिहरनाथ योगीले जानकारी दिए ।

साधारणसभामा अध्यक्ष हरिहरनाथ योगीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै कोरोना महामारी, जनहितकारीको जिम्मेवारी र सहकारी एकीकरण अभियानका बारेमा चर्चा गरेका थिए ।

यसैगरी संस्थाका कोषाध्यक्ष नवराज कंडेलले आव २०७६÷०७७ को वास्तविक आय–व्यय विवरण तथा आव २०७७/०७८ को प्रस्तावित आय–व्यय विवरण सहितको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष कंडेलले आव २०७६/०७७ मा शेयर पूजीतर्फ ४ करोड ९१ लख ५८ हजार २०० रुपैयाँ र जगेडा कोषतर्फ ३ करोड ८० हजार ८ सय २५ रुपैयाँ भएको जानकारी दिनुभएको थियो । उनले संस्थाले ४१ करोड ३६ लाख ६५ हजार ८ सय ७५ रुपैयाँ ६८ पैसा ऋण लगानी गरेको छ भने ४१ करोड ४० लाख ३८ हजार ३८ रुपैयाँ पाँच पैसा कुल बचत गरेको छ ।

साथै कोषाध्यक्षको प्रतिवेदन अनुसार सहकारीको हालसम्मको कुल सम्पत्ति ५४ करोड १४ लाख १९ हजार एक सय दुई रुपैयाँ ५१ पैसा भएको जानकारी दिए । उनले आव २०७७÷७८ का लागि ६० करोड २० लाख ४६ हजार ९६५ रुपैयाँको प्रस्तावित बजेट प्रस्तुत गरे ।

संस्थाको साधारणसभालाई रेडियो जागरण एफएम र सुनगाभा टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरेको थियो । यसैगरी जुममार्फत र सहकारीको फेसबुक पेज जनहितकारी साकोसबाट पनि प्रत्यक्ष प्रशारण गरेको थियो । उपलब्ध भएका प्रविधिका सबै उपायहरुलाई प्रयोगमा ल्याएको साधारणसभा अत्यन्तै प्रभावकारी भएको सदस्यहरुले प्रतिक्रिया दिएका थिए ।