☰ open Loading... 25 April 2024|  

अमानतमै उठायो, ४० हजार बढी घनमिटर नदीजन्य पदार्थ
  | ३० मंसिर २०७७, मंगलवार १२:५७

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन्का लागि टेण्डर स्वीकृत नहुँदै अमानतमा झण्डै ४० हजार घनमिटर नदीजन्य पदार्थ निकासी गरेको छ । नगरपालिकाभित्र पर्ने भेरी नदी, झुप्राखोला र गिरीघाटबाट सो परिमाणको ढुङ्गा, गिटी, बालुवा निकासी गरेको हो ।

आर्थिक वर्षको असोज १ गतेदेखि नदीजन्य पदार्थ उत्खनन् गर्न पाइने प्रावधान बमोजिम नगरपालिकाले सोही मितिदेखि नै वीरेन्द्रनगरका वडा नम्बर ११ को सुब्बाकुना, वडा नम्बर १३ को करेखोला र वडा नम्बर १ को बाङ्गेसिमल नाकाबाट नदीजन्य पदार्थ निकासी गर्दै आएको छ । ती नाकाहरुमा नगरपालिकाका कर्मचारीले नगर कार्यपालिकाद्वारा जारी संक्षिप्त कर विजकमार्फत राजश्व संकलन गर्दै आएका छन् ।

विलअनुसार प्रति ट्याक्टर तीन घनमिटर बराबर रु. तीन सय र प्रति टिप्पर आठ घनमिटर बराबर रु. आठ सय पचास राजश्व संकलन हुँदै आएको छ भने २०७७ साल मंसिर २८ गते अपरान्ह १ः०० बजेसम्म नगरपालिकाबाट जारी विल नम्बर १२ हजार ८ सय ८४ नम्बरको विल कटेको छ ।

सोही विललाई आधारमानी नगरपालिकाको नदीजन्य पदार्थ निकासीमार्फतको रकम रु. ३८ लाख ६५ हजार दुई सय जम्मा भएको देखिन्छ । जसअनुसार सोही रकममध्ये टीप्परबाहेक ट्याक्टरले बोकेको नदीजन्य पदार्थहरु ३८ हजार ६ सय ५२ घनमिटर निकासी भैसकेको छ । यद्यपी नगरपालिकाले मिति २०७७ कार्तिक १४ गते रु. ४२ लाख ३७ हजार न्युनतम् राजश्व बुझाउने गरी ६० हजार ४६ घनमिटर नदीजन्य पदार्थ उत्खनन्का लागि टेण्डर आह्वान गरी सकेको छ । तर नगरपालिकाले अमानतमा उठाइसकेको रकम र परिणाम भने घटाएको छैन ।

यसरी हेर्दा नगरपालिकाले अमानतमा उठाएको राजश्व रकम रु. ४२ लाख ३७ हजारमध्ये ३८ लाख ६५ हजार दुई सय रुपैयाँ घटाउँदा तीन लाख ७१ हजार आठ सयमात्र राजश्व उठाउन पाउने देखिन्छ भने मंसिर २८ गते अपरान्ह १ बजेसम्मको विवरण अनुसार २१ हजार तीन सय ९४ घनमिटर मात्रै नदीजन्य पदार्थ निकासी गर्न पाउने देखिन्छ ।

यद्यपी नगरपालिकाद्वारा राजश्व संकलनका लागि नाकामा खटिएका कर्मचारीहरुको विवरणलाई आधार मान्ने हो भने प्रत्येक दिन दुई सय ट्याक्टरले दैनिक नदीजन्य पदार्थ निकासी गर्दै आएकाले विवरणमा अझै थप हुनजान्छ ।

वीरेन्द्रनगर नगरपालिकाले ठेकेदार कम्पनीसँग सम्झौता भएको मितिदेखि २०७८ जेठमसान्तसम्म ठेक्का अवधि कायम हुने जनाएको छ तर उक्त टेण्डर सूचनाको शर्त नम्बर २६ मा ‘निर्धारित अवधि अगावै तोकिएको परिणाम निकासी भएमा ठेक्का सम्झौता स्वतः समाप्त भएको मानिनेछ ।’ भनि उल्लेख गरिएको छ ।

यता, वीरेन्द्रनगर नगर कार्यपालिकाका योजना अधिकृत प्रकाश पौडेलले नगर कार्यपालिकाको निर्णयअनुसार नदीजन्य पदार्थ अमानतमा निकासी गरेको जनाए ।

‘कार्यपालिकाको निर्णय अनुसार अमानतमा निकासी भएको हो’ उनले भने, ‘के कति परिमाण निकासी भएको छ र त्यसबाट कति राजश्व असूली भएको हो सो हिसाव निकाल्न बाँकी छ ।’

नगरपालिकाको उक्त टेण्डरमा अमानतमा निकासी गरेको रकम र परिमाण नघटेको देखिएपनि हालसम्म नगरपालिकाद्वारा ठेक्का सम्झौता भएको छैन । तर ठेक्का सम्झौतामा परिमाण र राजश्व रकम घट्ने वा नघट्ने विषयलाई विशेष रुपमा हेरिएको छ ।