☰ open Loading... 20 April 2024|  

अर्थ व्यवस्था समितिका सभापतिको गाडीले छोरा देखि घाँससम्म बोक्छ 
  | ४ पुष २०७७, शनिबार १८:५१

सुर्खेत । कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडी शनिबारको दिन घाँस बोक्न प्रयोग भएको पाइएको छ । जाजरकोटबाट निर्वाचित प्रदेश सभा सांसद एवं समितिका सभापति गणेशप्रसाद सिंह चढ्ने गाडीमा घाँस बोकेको पाइएको हो ।

कर्णाली प्रदेश ०२ ००१ झ ००४० नम्बरको उक्त गाडीले वीरेन्द्रनगर नगरपालिका ११ भेरीबाट घाँस ल्याएर आउँदै गर्दा सुब्बाकुनास्थित ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

आफ्नो छोरालाई नेपालगञ्ज विमानस्थल पुर्याउन गाडी त्यसतर्फ गएको र आफु सुर्खेतस्थित पश्चिम बड्डिचौर भएको सभापति सिंहले जानकारी दिए । ‘गाडी छोरालाई पुर्याउन विहान गएको थियो म योजना आयोगको गाडीमा बड्डिचौर आएको छु’ उनले भने, ‘बाटोमा फर्किदा ड्राइभरले घाँस ल्याएको हुनसक्छ ।’

प्रदेश सभा संसदीय समितिको सभापतिको हैसियतमा सिंहलाई यातायात सुविधाका लागि गाडी प्रदान गरिएको भएपनि सिंहको भनाईअनुसार उनले पारिवारिक प्रयोजनमा गाडी प्रयोग गरेको बुझिन्छ ।