☰ open Loading... 9 October 2024|  

शिव शिखरले विज्ञापनमा तोकेको तलब नदिएर झुक्कायो
  | ९ पुष २०७७, बिहीबार १६:५७

शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शाखा कार्यालयले विभिन्न पदमा ४० जनाको कर्मचारी चाहिने भन्दै विज्ञापन गर्‍यो । बेरोजगारले पिरोलिएका युवायुवती लामबद्ध भएर आवेदन दिन गए । विज्ञापनमै आकर्षक पारिश्रमिक उल्लेख गरिएपछि करिब आठ सयभन्दा बढी आवेदन दर्ता भए । योग्यता र क्षमताभन्दा भनसुनमा कर्मचारी छनोट गरिएको आरोप मात्र लागेन विज्ञापनमा उल्लेख गरिएअनुसारको नभइ घटाएर पारिश्रमिक दिने भन्ने कर्मचारी र संस्थाबीच हुँदा अहिले आलोचना बढेको छ ।

विज्ञापनअनुसार पारिश्रमिक नदिएपछि छनोट भएका कतिपय कर्मचारीले जागिरसमेत छाडेका छन् । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडतर्फ सेवा केन्द्र प्रमुखको ५० हजार, बजार अधिकृतको ३० हजार, कर्जा अधिकृत ३० हजार, लेखापाल सहायक अधिकृतको २५ हजार, क्यासियरको २० हजार, रिसेप्सनिष्टको १५ हजार, बजार प्रतिनिधि १२ हजार पाँच सय, कार्यालय सहयोगी १२ हजार पाँच सय र सेक्यूरिटी गार्डलाई १५ हजार रुपैयाँ पारिश्रमिकत विज्ञापनमै उल्लेख गरिएको थियो ।

गार्डेन मार्टतर्फ मार्ट सुपरभाइजरलाई २५ हजार, सहायक मार्ट सुपरभाइजरको २० हजार, फ्लोर सेल्सको १२ हजार पाँच सय, सेक्युरिटी गार्डको १५ हजार रुपैयाँ पारिश्रमिक विज्ञापनै उल्लेख गरिएको थियो । तर विज्ञापनमा एउटा र कर्मचारी छनोट गर्दा अर्को पारिश्रमिक दिँदा ठगी भएको जागिर छाडेकाहरुको भनाइ छ । कतिपयले थोरै पारिश्रमिक भए पनि घरमा आर्थिक अभाव हुँदा बाध्यताले जागिर खानु परेको बताएका छन् । ‘विज्ञापनमा आकर्षक तलब खुलाएपछि मैले आवेदन दिए,’ स्रोतले भन्यो, ‘छनोट भएपछि पारिश्रमिक कम हुने भएपछि मैले जागिर खाएन ।’ माथि उल्लेखित सबै पदमा करिब तीन हजारदेखि पाँच हजार पाँच सयसम्म पारिश्रमिक घटाइएको स्रोतको दाबी छ । ‘एउटा पारिश्रमिक देखाउने र अर्को पारिश्रमिक दिने भनेर हामीलाई झुक्यायो,’ स्रोत भन्छ ।

आवेदन दिएकाहरुमध्ये कतिपयलाई योग्यता र क्षमताभन्दा भनसुनका आधारमा कर्मचारी छनोट गरेको गुनासो पनि आएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नयाँ आर्थिक वर्षदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार चार सय ५० रुपैयाँ निर्धारण गरेको छ । तर उक्त संस्थाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नयाँ आर्थिक वर्षदेखि लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिकभन्दा कम पारिश्रमिकसमेत दिइएको छ । बेरोजगारीको फाइदा उठाउँदै उक्त संस्थाले ठगी गर्न खोजेको आरोप लागेको छ । यता शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका मुख्य प्रबन्धक रमेश खाइजुले तीन महिनाको परीक्षण हुने बताए । तर विज्ञापनमा तीन महिना परीक्षण हुने उल्लेख गरिएको छैन ।