☰ open Loading... 20 April 2024|  

‘सिडिओ ग्रैहेको निरंकुश र अलोकतान्त्रिक कार्य’
  | ११ पुष २०७७, शनिबार १७:३७

सुर्खेत । रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बद्रीनाथ गैह्रेको हर्कत, व्यवहार र चरित्र निरंकुश, अलोकतान्त्रिक र सेवाग्राहीप्रति असंवेदनशील भएको नेपाल प्रेस युनियनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको सेवामा ढिलासुस्तीबारे प्रकाशित समाचारप्रति पत्रकार गणेश विशु र गोविन्द केसीसँग स्पष्टीकरण मागेपछि युनियनले शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै सिडिओको आचरणमा प्रश्न उठाएको हो ।

निरन्तर जनतालाई सूसुचित गराउन तत्लीन पत्रकारहरुलाई हतोत्साहित गर्ने कार्यप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीद्वारा हस्ताक्षेरित विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘आफ्नो मातहतको कार्यालयबाट सेवाप्रवाह राम्रो नगर्ने अनि सोही विषयमा समाचार प्रकाशित भएपछि पत्रकारहरुलाई हतोत्साहित गर्नेगरि सिडिओ गैह्रेले छानबिन समिति बनाइ नागरिक दैनिकसँग आबद्ध पत्रकार विशु र पश्चिम नेपाल डटकमका सम्पादक गोविन्द केसीसँग स्पष्टीकरण माग्ने कार्यको युनियन कडा शब्दमा आपत्ती जनाउँदछ,’ विज्ञप्तिमा भनिएको छ, ‘सेवा प्रवाहमा आमनागरिकका पीडा समेटेर समाचार लेखेका विषयमा आपत्ती जनाउँदै पत्रकारमाथि छानबिन गर्न समिति बनाउने सिडिओ गैह्रेको हर्कत, व्यवहार र चरित्र निरंकुश, अलोकतान्त्रिक र सेवाग्राहीप्रति असंवेदनशील देखिएको युनियनको ठहर छ ।’ ‘आफ्नो कार्यालयका बारेमा आएका समाचारपछि सेवाप्रवाहमा सुधार ल्याउनुभन्दा पनि आफू दूधले धोएको झै गरी समाचार लेख्ने पत्रकार र समाचारका स्रोतलाई समेत हतोत्साहित गर्ने सिडिओ गैह्रेले शक्तिको दुरुपयोग गरेका मात्र छैनन् प्रेस स्वतन्त्रालाई पनि कुल्चेका छन्,’ विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै नेपाल पत्रकार महासंघ जिल्ला शाखा रूकुम पश्चिमले पनि घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला प्रशासन कार्यालयले कार्यसम्पादनसम्बन्धी सेवाग्राहीका गुनासाहरू समेटेर नागरिक दैनिकमा प्रकाशित समाचारको सन्दर्भमा सिडिओले छानबिन समिति बनाएको र उक्त छानबिन समितिले पत्रकार र स्रोतसँग स्पष्टीकरण सोधेको प्रति गम्भीर ध्यानाकर्षण भएको शाखाका अध्यक्ष गणेश चिन्तनद्वारा हस्ताक्षेरित विज्ञप्तिमा उल्लेख गरिएको छ । लोकतान्त्रिक शासन व्यवस्थामा उक्त कार्यको घोर निन्द्रासमेत महासंघले गरेको छ । सिडिओ ग्रैहेले अझै यस्तो हर्कत दोहोर्या ए महासंघ आन्दोलनमा जाने महासंघले निकालेको विज्ञप्तिमा जनाइएको छ । यसभन्दा अघि नेपाल पत्रकार महासंघ केन्द्र र प्रदेशले पनि सिडिओ ग्रैहेको कदमप्रति आपत्ति जनाइ सकेका छन् ।

प्रकाशित समाचारप्रति पत्रकारसँग स्पष्टिकरण माग्ने किसिमले अधिकृतस्तरीय चार सदस्यीय छानबिन समिति बनाएका थिए । उक्त समितिले नागरिक दैनिकका पत्रकार गणेश विशु र पश्चिम नेपाल डटकमका सम्पादक गोविन्द केसीसँग स्पष्टिकरण मागेको थियो । पत्रकारहरूले भने स्पष्टिकरण दिएका छैनन् । रिपब्लिक मिडिया प्रालिको अनलाइन संस्करण नागरिक न्यूज डट कममा कात्तिक २४ गते ‘नागरिकता लिन दिनभरि कुनुपर्छ’ र नागरिक दैनिक पत्रिकामा कात्तिक २८ गते (शुक्रबार) ‘कर्मचारीको ढिलासुस्तीले सेवाग्राहीलाई समस्या’ भन्ने शीर्षकमा समाचार प्रकाशित भएको थियो । उक्त समाचार पश्चिम नेपाल डट कममा समेत प्रकाशित भएको थियो । उक्त प्रकाशित समाचारका विषयमा पत्रकारसँग स्पष्टिकरण माग्न सिडिओले छानबिन समिति बनाएका थिए ।