☰ open Loading... 19 April 2024|  

कर्णालीमा प्रचण्ड–माधव समूह बलियो
  | २० पुष २०७७, सोमबार १०:१५

तत्कालीन नेकपा एमाले र माआवादीबीच पार्टी एकता हुँदा जिल्ला नेतृत्व भागबण्डाका आधारमा टुंग्याइएको थियो । अध्यक्ष तत्कालीन एमालेको भागमा पर्दा सचिव माओवादी र माओवादीको भागमा अध्यक्ष हुँदा सचिव एमालेले पाउने गरी भागबण्डा गरिएको थियो । नेकपाको एकता तल्लो तहसम्म नटुंगिँदै विभाजन भएपछि अहिले नेताहरु आआफ्नो गुटमा देखिएका छन् । सुर्खेत, जाजरकोट, जुम्ला, मुगु र रुकुम पश्चिममा प्रचण्ड–माधवकुमार नेपाल समूहको जिल्ला नेतृत्व (अध्यक्ष र सचिव) एक्लौटी देखिन्छ । अन्य जिल्लामा भने ओली र प्रचण्ड–माधव नेपाल समूहमा विभाजन भएका छन् । कर्णालीमा डोल्पा, सल्यान र दैलेखमा ओली समूहको अध्यक्ष छन् भने कालीकोट र हुम्लामा सचिव ओली समूहका हुन् । अन्य जिल्लाका अध्यक्ष र सचिव प्रचण्ड–माधव समूहका हुन् ।

उनीहरु अहिले जिल्ला नेता तथा कार्यकर्तालाई आआफ्नोमा समूहमा तान्न दौडधुपमा छन् । एकअर्का समूहले पदीय जिम्मेवारीको अस्त्र प्रयोग गरेर नेता तथा कार्यकर्तालाई आफ्नो समूहमा ल्याउन होडबाजीमा देखिन्छन् । वडास्तरकालाई गाउँ/नगर र गाउँ/नगरमा जिम्मेवारी पाएकालाई प्रदेशको सदस्यको जिम्मेवारी दिने आश्वासन देखाएर नेता तथा कार्यकर्ता तान्नेमा उनीहरु व्यस्त छन् । नेकपा कर्णाली प्रदेशका अध्यक्ष गोरखबहादुर बोगटीले टाउका गन्दा प्रचण्ड–माधव समूहको देखिए पनि सिद्धान्त र विचार बोकेका नेता तथा कार्यकर्ता ओली समूहमै रहेको बादी गरे । ‘एकता प्रक्रियामा जाँदा टाउको गनेर रस्काकस्सी भएको होइनौं,’ उनले भने, ‘सहमतिका आधारमा टुंग्याइएको हो । अहिले त्यही टाउकालाई हेरेर नेतृत्व गनिएको छ ।’ टाउका मात्र गनेर नेतृत्व निर्धारण नहुँदै भन्दै उनले भने, ‘कमिटीभन्दा बाहिर जाँदा ओली समूहनै बलियो छ ।’ जनताको जनाधार र कम्युनिस्टको सिद्धान्त विचार बोक्ने नेता तथा कार्यकर्ता ओली समूहमा भएको उनको भनाइ छ । उनका अनुसार कर्णालीमा ‌‍ओली समूहका तीन जिल्लामा अध्यक्ष र दुई जिल्लामा सचिव छन् । टाउकोमात्र भन्दा जनाधार बलियो हुनु पर्ने उनको तर्क छ । साथै उनले नेता तथा कार्यकर्तालाई आफ्नो समूहमा ल्याउन पदीय आश्वासन, डर, त्रास र लोपलाजज नखाएको बताए ।
प्रतिनिधिसभा सदस्य तथा प्रचण्ड–माधव समूहका नेता ध्रुवकुमार शाहीले जनाधारका आधारमा प्रचण्ड–माधव समूह कर्णालीमा बलियो भएको बताए । ‘स्थानीय तहका प्रमुख हाम्रो समूहमा धेरै छन्,’ उनले भने, ‘उनीहरु जनाधारकै आधारमा आउने हुन् ।’ पार्टीका अध्यक्ष र सचिव पनि जनाधार बाहिरका नभइ जनाधारकै आधारमा भएको उनको भनाइ छ । ‘विभिन्न लोपलालज र आश्वासन देखाएर नेता तथा कार्यकर्ता तानातान हुँदा त्यसले पार्टी बलियो हुँदैन,’ उनले भने । उनका अनुसार नेकपा प्रचण्ड–माधव समूहका नेताले सात जिल्लामा जिल्ला अध्यक्ष र आठ जिल्लामा सचिव भएको बताए । नागरिक दैनिकबाट साभार ।