☰ open Loading... 12 October 2024|  

प्रदेशसभा पनि भंग गर्ने तयारी
  | २२ पुष २०७७, बुधबार ०६:४८

राष्ट्रपतिले प्रतिनिधी सभा विघटन गरेको आधा महिना नबित्दै प्रदेश सभा पनि विघटन हुने संकेत देखिएको छ। सरकारका एक मन्त्रीको अभिव्यक्तिबाटै यस्तो संकेत देखिएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रदेशसभा पनि विघटन हुनसक्ने बताएकी छन् ।





विराटनगरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेशहरु विघटनको संकेत दिएकी हुन् ।  प्रदेशहरुमा एकपछि अर्को अविश्वासको प्रस्ताव र राजीनामा दिने क्रम बढेपछि ओली सरकारले प्रतिनिधिसभा जस्तै प्रदेशहरु पनि विघटन गर्ने पूर्वसंकेत दिएको हो । यसअघि प्रधानमन्त्री केपी ओलीले प्रदेश सरकार चलाए आफू एक्शनमा जाने चेतावनी दिएका थिए । 

पत्रकार सम्मेलनमा तुम्बाहाम्फेले केन्द्रमा देखिएको राजनीतिको प्रभाव प्रदेशसभाहरुमा पनि देखिएकाले कानुनसम्मत ढंगले प्रदेशसभा विघटन हुनसक्ने बताइन् । यसअघि कानुनमन्त्री रहेकी उनले प्रदेशसभा सञ्चालन र विघटनको अधिकार प्रदेशमा रहेको बताइन् ।

संसद् विघटन संविधानमा स्पष्ट रुपमा उल्लेख नभए पनि ताजा जनादेशमा जानका लागि प्रधानमन्त्रीले संसद विघटनको निर्णय गरेको भन्दै तुम्बाहाम्फेले यो विधिसम्मत भएको दाबी गरिन् । 

उनले तोकिएको मितिमा चुनाव गराउन सरकार लागिपरेको बताइन् । चुनाब हुन्न कि ? भनेर आशंका नगर्न मन्त्री तुम्बाहाम्फेको आग्रह छ । काम कारवाही सहजरुपमा अघि बढाउन प्रधानमन्त्रीले मन्त्रीमण्डल विस्तार गरेको बताउँदै तुम्बाहाम्फेले तर सरकार कामचलाउ नै भएको स्वीकार गरिन् ।