☰ open Loading... 18 April 2024|  

दैलेख प्रहरीले गर्यो, विद्या सरकारलाई सार्वजनिक
  | २३ पुष २०७७, बिहीबार १८:४०

अमेरिका पठाउँछु भन्दै ठगी धन्दा गर्दै आएकी सुनसरीस्थित इटहरी उपमहानगरपालिका-४ की २४ वर्षीया विद्या शर्मा बताउने विद्या सरकार पक्राउ परेकी छिन् । दैलेख प्रहरीको समन्वयमा महानगरीय प्रहरी परिसर टेकु काठमाडौले उनलाई पक्राउ गरेको हो ।

बिहीबार विद्या सरकारलाई दैलेख प्रहरी सार्वजनिकसमेत गरेको छ । दैलेखको नारायण नगरपालिकामा केही समय अघि आइ आफू अन्तर्राष्ट्रिय सिंगापुर रेडक्रस सोसाइटीको नेपाल प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुँ भन्दै उनले ठगी धन्दा गर्दै आएकी थिइन् ।

‘आफ्नो संस्थाले स्थानीय तहमा कोभिड-१९ (कोरोना भाइरस) महामारीको रोकथामका लागि स्वास्थ्य सामग्री, त्रिपाल, सेनिटाइजर, मास्क, पन्जा र खाद्यान्न वितरण गर्ने जिम्मा मलाई दिएको छ भन्दै स्थानीय तहमा स्वास्थ्य सामग्री र राहत बाड्ने गरेकी थिइन्,’ जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक तथा सूचना अधिकारी इन्द्रजित सुनारले भने, ‘आफ्नो (विद्या सरकारको) अमेरिकाको लागि भिसा लागेको र आफूले ८/१० जना युवालाई अमेरिका पठाउन सक्छु भन्दै युवालाई प्रलोभनमेत देखाएको पाइएको छ ।’ उक्त प्रलोभन देखाएर उनले कात्तिक १४ गते नारायण नगरपालिका-१, नयाँबजारका मनोज थापालाई बैंकमार्फत ९० हजार रुपैयाँ जम्मा गर्न लगाएर ठगी गरेको उजुरीसमेत प्राप्त भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । त्यस दिनदेखि मनोजसँग विद्या सरकार सम्पर्कविहीन भएकी थिइन् ।

त्यस्तै नारायण नगरपालिका-१, का २८ वर्षीय विवेक थापालाई पनि अमेरिका पठाउने प्रलोभनमा पारी झुक्याइ वैशाख ३१ गतेदेखि असोज १८ गतेसम्म ५२ लाख १४ हजार दश रुपैयाँ पठाउन लगाएर सम्पर्कविहीन भएकी थिइन् । ठगी कसुरअन्तर्गत विवेकको जाहेरी दरखास्त परेपछि प्रहरी अदालतबाट पुस ९ गते पक्राउ अनुमति पाएको थियो । हाल जिल्ला प्रहरी कार्यालयमा दुईवटा मात्र उजुरी दर्ता भए पनि धेरैजनालाई समाज सेवा र अमेरिका लिने प्रलोभनमा करिब दुई करोडभन्दा बढी ठगेको अनुमान गरिएको छ । यसको पुष्टि भने भएको छैन । ‘दैलेखमा धेरै ठगेको भन्ने आएको छ,’ सूचना अधिकारी सुनारले भने, ‘दिए लिएको कागज नहुँदा धेरैले उजुरी दिन सकेका छैनन् ।’ यो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दैलेख प्रहरीले ठगी कसुरमा सार्वजनिक गरेको अभियुक्त विद्या सरकार