| ४ माघ २०७७, आईतवार १८:५३
सल्यान — अटो दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । बन्गाड कुपिण्डे नगरपालिका–९ जयतपानीबाट सदरमुकाम खलंगा आउँदै गरेको रा १ ह ३५५० नम्बरको यात्रुबाहक अटो आइतबार बिहान साढे १० बजे शारदा नगरपालिका–८ सिमखर्कको सबुज चौतारामा दुर्घटना भएको हो ।
तीव्र गति तथा ब्रेक फेल भएका कारण भित्तामा ठोक्किएर अटो दुर्घटनामा परेको हो । दुर्घटनामा गम्भीर घाइते भएका चालक बन्गाड कुपिण्डे नगरपालिका–९ जयतपानीका १७ वर्षीय विमल बुढाथोकी र स्थानीय १७ वर्षीय आर्षिक कुँवरलाई उपचारको लागि नेपालगन्ज लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले बताए ।घाइतेमध्ये २४ वर्षीया प्रेमी यरी र १८ वर्षीया सुष्मा रेउलेको जिल्ला अस्पतालमा उपचार भइरहेको र रेउलेको अवस्था सामान्य रहेको उनले जानकारी दिए ।