☰ open Loading... 20 April 2024|  

ओली शासन कडाः पहाडी
  | ७ माघ २०७७, बुधबार १८:२९

सुर्खेत । राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्तिको दबाबले नभइ प्रधानमन्त्री केपी शर्मा ओली (खड्गप्रसाद) ले आफ्नै व्यक्तिगत सनकका कारण असंवैधानिक र अलोकतान्त्रिक ढंगले प्रतिनिधिसभा विघटन गरेको मानवअधिकारकर्मी कृष्ण पहाडीले बताएका छन् । मानव अधिकार तथा शान्ति समाजले मंगलबार सुर्खेतस्थित वीरेन्द्रनगरमा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले खड्गप्रसादले व्यक्तिगत सनकका कारण खड्ग प्रदर्शन गरेको बताएका हुन् ।

खड्गको अर्थ फलामबाट बनेको एक किसिमको घातक हतियार, सोझो किसिमको तवार भन्ने बुझिन्छ । त्यही खड्ग प्रधानमन्त्री ओलीले पदर्शन गरेको उनको आरोप छ । ‘प्रधानमन्त्री ओली राष्ट्रिय जोकर मात्र बनेनन्,’ उनले भने, ‘उनी जहाँ टेक्छन् त्यहाँ आगो लगाए ।’ पार्टी, प्रतिनिधिसभा विघटन र संविधान उल्लंघन गरेको विषयलाई आगोको संज्ञा दिँदै उनले भने, ‘प्रधानमन्त्री ओली सत्तामा आउनासाथ सम्पूर्ण शक्ति आफूप्रति केन्द्रीय गरे ।’ संसद् विघटन हुँदा पूर्व संविधानसभा अध्यक्ष सुभासचन्द्र नेम्वाङसमेत बिकेको आरोप लगाए । यस्तो अवस्थामा अदालतले तेल र पानी छुट्याउनु पर्ने उनको धारणा छ । दलीय व्यवस्थालाई लत्याउँदै ओली निर्दलीय व्यवस्थातिर लागेको उनको आरोप छ ।

साथै उनले शाही शासनका बेलाभन्दा नागरिक केपी शर्मा ओलीको शासनकालमा बढी हिरासत जीवन बिताएको बताए । ‘शान्तिपूर्ण ढंगले नागरिक सरोकारका विषयमा प्रदर्शनमा बसेका मानवअधिकारकर्मी, पत्रकार, आमनागरिकलगायतले पूर्व राजा ज्ञानेन्द्र शाहको शासनभन्दा बढी पटक हिरासतमा बस्नु प¥यो,’ उनी प्रश्न गर्दै भन्छन्, ‘यो लोकतन्त्र होकी ओली तन्त्र ?’

विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड–१९) को समयका बेला नागरिकलाई सुरक्षित राख्न छाडेर आफू शक्ति सञ्चय गर्न लागेको बताए । त्यस्तै कवि अर्जुन पहाडीले संसद् विघटन गर्नुलाई बिरामीलाई एम्बुलेन्समा नभइ शववहानमा लिइएको प्रसंगामा जोडे । ‘बिरामीलाई एम्बुलेन्समा लिइयो भने अस्पताल पु-याइन्छ,’ उनले कवितामार्फत भने, ‘शववहानमा चढाएर लिइयो भने आर्यघाटन पु-याइन्छन् ।

जहाँ बिरामीको उपचार नभइ अन्तिम दाहसंस्कार गरिन्छ ।’ प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर संविधानलाई आर्यघाटनमा पु-याएको बताए । यस्तो अवस्थामा संविधानको रक्षाका लागि सबै नागरिक एकजुट हुनुपर्ने उनको भनाइ छ ।