☰ open Loading... 12 October 2024|  

समय थप्न माग गर्दै नगरपालिकामा तालावन्दी
  | २६ माघ २०७७, सोमबार २१:३०

सुर्खेत-भूमि सम्वन्धी लगत संकलनका लागि गठन भएको वडा समितिले विभेद गरेको भन्दै कार्यपालिका सदस्यको अगुवाईमा भेरीगंगा नगरपालिका–११ को वडा कार्यालय र नगरपालिका कार्यालयमा तालावन्दी गरिएको छ । वडा कार्यालयलाई समय थप गर्न आग्रह गर्दा अटेर गरेकाले सोमबार तालावन्दी गरिएको कार्यपालिका सदस्य शेरबहादुर कामीले जानकारी दिए। ‘वडा कर्यालयले लगत संकलनका लागि शुक्रबारदेखि लागू हुने गरेर तीन दिनको समय दिएको थियो,’ कार्यपालिका सदस्य कामीले भने, ‘जनताले समय थप्न माग गरेपनि सुनुवाई नभएपछि तालावन्दी गरेका हौं ।’
कार्यपालिका सदस्य कामीका अनुसार शुक्रबार वडा नं. ११ को भिमपुर टोलमा १७७ घर संख्या छ । ‘शुक्रबार आधा समय र शनिबार विदा भएकाले आइतबारसम्म ११२ जनाले मात्रै फारम भर्न सक्नु भयो,’ उनले भने, ‘स्थानीयले एक दिन थप गर्न माग गर्नुभएको थियो, वडाध्यक्षले अटेर गरेपछि तालावन्दी गरेका हौं ।’
उनले समय थप्नका लागि नगर प्रमुख भूपेन्द्रबहादुर चन्दलाई पनि जानकारी गराइएको बताए । ‘नगर प्रमुखले समय थप्न निर्देशन दिँदा पनि वडाध्यक्षले अटेर गर्नुभयो,’ उनले भने, ‘त्यसैले बाध्य भएर तालावन्दी गर्नुपरेको हो ।’ भिमपुरका स्थानीयहरु सोमबार विहानैदेखि आन्दोलित भएका छन् । स्थानीयहरुले कर्मचारी र फारमको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।