☰ open Loading... 5 October 2024|  

दैलेखमा हाफ म्याराथन प्रतियोगिता हुने
  | १९ फाल्गुन २०७७, बुधबार १९:२१

दैलेख -पहिलो पटक दैलेखमा खुला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ ।इन्द्रदल गुल्म दैलेखको आयोजनमा सेना दिवसको अबसरमा हाफ म्याराथन तथा पाँच किलोमिटर दौड प्रतियोगिता हुने भएको हो। फागुन २५ गते प्रतियोगिता सञ्चालन हुने हाफ म्याराथन प्रतियोगिता नारायण नगरपालिका–६ काँडाचौरमा शुभारम्भ भई नारायण नगरपालिका–१ स्थित ऐतिहासिक कोतगढीमा सम्पन्न हुनेछ । जिल्लाका विभिन्न निकाय र स्थानीयहरुको समन्वयमा सञ्चालन गर्न लागिएको इन्द्रदल गुल्म दैलेखका सेनानी बिके सिंह विश्वकर्माले जानकारी दिए ।

खुलातर्फको हाफ म्याराथन प्रतियोगितामा नारायण नगरपालिकास्थित काँडाचौर, खुर्सानीबारी, भैसेखोर हुँदै रातापानीसम्म पुगि फर्केर भैसेखोर, खुर्सानीबारी, दैलेख बजार हुँदै स्थानीय ऐतिहासिक कोतगढीमा पुग्नुपर्ने रुट तय गरिएको छ । पाँच किलोमिटर दौड तर्फ काँडाचौर हुँदै खुर्सानीबारीसम्म पुगि फर्केर काँडाचौर दैलेख बजार हुँदै स्थानीय ऐतिहासिक कोतगढीमा पुग्नुपर्ने रुट तय गरिएको छ । हाफ म्याराथन हुने रुट एक हजार तीन सय ७५ मिटरदेखि एक हजार छ सय २५ मिटर उचाई र पाँच किलोमिटर दौडको रुट एक हजार तीन सय ७५ मिटरदेखि एक हजार पाँच सय २० मिटर उचाई विच रहने र कच्ची तथा पक्की मोटरबाटो रहने छ ।

हाफ म्याराथन प्रतियोगितामा खुला तर्फको बिजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । हाफ म्याराथन प्रतियोगितामा जिल्लाबासी तर्फ बिजेताले ४ हजार, उपविजेताले ३ हजार र तेस्रो हुनेले २ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै पाँच किलोमिटर दौड प्रतियोगितामा महिला तर्फ बिजेताले १० हजार, उपविजेताले ७ हजार पाँच सय, तेस्रो हुनेले ५ हजार, चौथो हुनेले ३ हजार र पाँचौ हुनेले २ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । पुरुष तर्फ बिजेताले १० हजार, उपविजेताले ७ हजार पाँच सय, तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।