☰ open Loading... 9 October 2024|  

मालपोत कार्यालय सुर्खेत प्रकरणः मुख्य अभियुक्त विक पक्राउ
  | १२ चैत्र २०७७, बिहीबार २०:०६

 

 

सुर्खेत । मालपोत जग्गा प्रकरणका विषयमा मुख्य अभियुक्त ठहरीएका कम्प्युटर अपरेटर गणेश विक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विकलाई आज पक्राउ गरेको हो । वीरेन्द्रनगर नगरपालिका ६ का स्थानीय सौगात रावतको नाममा रहेको जग्गा उनलाई थाहै नदिएर अर्काको नाममा नामसारी गर्ने कार्यमा संलग्न रहेको आरोपमा मुख्य अभियुक्त ठहर गर्दै जिल्ला अदालत सुर्खेतले विकलाई पक्राउ गर्न आदेश दिएको थियो । विकको नाममा पक्राउ पूर्जी जारी भएको लामोसमय भैसक्दापनि उनलाई प्रहरीले पक्राउ गरेको थिएन । यद्यपी विक चैत्र १२ गते (आज)सम्म मालपोत कार्यालयमा हाजिर भएका छन् । विकको हाजिर गरेको भेटिएपछि प्रहरीले पक्राउ गरेको हो । जग्गा नामसारि गराउने कार्यमा संलग्न भएको आरोपमा तत्कालीन मालपोत कार्यालय प्रमुख लक्ष्मी खत्री, अन्य कर्मचारी कमला सापकोटा, कृष्ण थापा, तिर्थ बहादुर महतारा, नापी कार्यालय सुर्खेतमा कार्यरत कार्यालय प्रमुख राजेन्द्र थापा, भिमलाल आचार्य, दिपेन्द्र पुलामीविरुद्व मुद्दा दायर भएको थियो । जिल्ला अदालत सुर्खेतले गत फागुन २७ गते जग्गा नामसारी कार्यमा संलग्न मालपोत कार्यालय सुर्खेतका कम्प्युटर अपरेटर सुनिल राना र जग्गा आफ्नो नाममा ल्याएका सहवीर कार्कीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । जिल्ला अदालत सुर्खेतका न्यायाधीश विलप्रसाद सापकोटाको एकल इजलासले मालपोत कार्यालयका नायव सुब्बा विश्वरुप साउँदसहित छ जनालाई धरौटीमा छोड्न आदेश दिएको थियो । जग्गा प्रकरणमा संलग्न अभियुक्तलाई पक्राउ परेको समय अर्थात मुद्दा किनारा नलाग्दासम्म स्वतः निलम्वन हुने कानुनी प्रावधान भएपनि जिल्ला अदालत सुर्खेतले सामान्य धरौटीमा उनीहरुलाई छोडेको थियो । यद्यपी धरौटीमा छुटेका कर्मचारीहरु हाल कार्यालयमा दैनिक हाजिर भैरहेका छन् ।