☰ open Loading... 12 October 2024|  

सहकारी दिवसका अवसरमा गणेशजलले शुरु गर्‍यो ई–टेलर, ई–पेमेन्ट र फोन–पे सुविधा
  | २२ चैत्र २०७७, आईतवार ०६:४४

सुर्खेत -श्री गणेशजल बहुउदेश्यीय सहकारी संस्था लि.ले ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सदस्यहरुका लागि ३ वटा नयाँ सुविधा थप गरेको छ । संस्थाले आजबाट ती सुविधाको औपचारिक रुपमा शुरुवात गरेको हो ।

६४औं राष्ट्रिय सहकारी दिवसको ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने नारा रहेको र त्यसैलाई सार्थकता दिन नयाँ प्रविधि शुरु गरिएको संस्थाका कार्यकारी अध्यक्ष प्रेमकुमार वि.सीले जानकारी दिए । संस्थाले ई–टेलर, ई–पेमेन्ट र फोन–पे सञ्चालनमा ल्याएको हो । सदस्यहरुले संस्थाको मुख्य कार्यालय सहित सबै सेवा केन्द्रबाट उक्त सुविधा लिन सकिने वि.सीले बताए । सदस्यहरुले गणेशजल स्मार्ट एप को प्रयोग गरी उक्त सुविधाहरु लिन सक्नेछन ।

‘ई–टेलर बैंकिङ सेवा लिनका लागि संस्थाको क्यास काउण्टरमा राखिएको क्यूआर कोड स्क्यान गरी रकम झिक्नका लागि अनुरोध गर्न सकिन्छ,’ वि.सी थपे ‘सदस्यले गरेको अनुरोधका आधारमा चेक बिना नै रकम उपलब्ध गराइन्छ र सदस्यले माग गरेको रकम प्राप्त गर्न सक्छन ।’ यो सुविधा लिन संस्थाको कार्यालयमा नै जानुपर्ने हुन्छ ।

त्यसैगरी संस्थाले ई–पेमेन्ट सुविधा पनि शुरु गरेको छ । सदस्यले ई–पेमेन्ट सेवाका लागि शुरुमा एउटा फारम भरेर पिन कोड लिनुपर्ने हुन्छ । पिन कोड प्राप्त भएपछि सो को प्रयोग गरेर घरमै बसेर रकम ट्रान्सफर गर्न सकिनेछ भने पिन कोड कै आधारमा सदस्यले भुक्तानी दिन चाहेको व्यक्ति संस्थाको काउण्टरमा गई रकम भुक्तानी लिन समेत सक्छन ।

त्यसैगरी फोन–पे ई–टेलर सुविधा मार्फत सदस्यहरुले कुनै पनि बैंक तथा वित्तीय संस्थामा भएको पैसा गणेशजल सहकारीमार्फत झिक्न सक्नेछन । यो सुविधा निःशुल्क उपलब्ध गराएको वि.सीले बताए ।

‘सदस्यको कुनै बैंक खातामा पैसा छ भने उसले फोन–पे मार्फत स्क्यान गरेर गणेशजलको काउण्टरबाटै पैसा झिक्न सक्छ । बैंकको शाखा खोज्दै हिँड्नु पर्दैन, उक्त एपको प्रयोग गरी सहज रुपमा रकम निकाल्न सकिन्छ’ उनले भने।

संस्थाले ई–सेवा र फोन–पेसँग सम्झौता गरेर ती सेवा सञ्चालनमा ल्याएको हो । संस्थाले ती सुविधाहरुको प्रयोगको विषयमा आफ्ना बजार प्रतिनिधिहरुमार्फत सिकाउँदै आएको छ ।

संस्थाले नयाँ प्रविधिहरुलाई आत्मसात गर्दै अगाडि बढेको र कोभिड १९ पछि त नयाँ नयाँ प्रविधिको प्रयोगले झनै तीब्रता पाएको उनको भनाइ छ । पैसाबाट पनि विभिन्न रोगका भाइरसहरु फैलिन सक्ने हुँदा सबैले प्रविधिलाई आत्मसात गर्नु अनिवार्य हुन गएको वि.सीको बुझाई छ ।

प्रतिस्पर्धी बजारमा प्रविधिलाई नअपनाई संस्था दीर्घकालिन रुपमा सञ्चालन गर्न नसकिने र अबको एकदुई वर्षपछि सबै कारोबार क्यूआर कोडमय हुने हुँदा संस्थाले पनि अहिलेदेखि नै त्यस्ता प्रविधिहरुलाई भित्राई अगाडि बढेको उनले बताए ।
‘संस्थाले प्रविधिलाई मात्रै भित्राएको छैन त्यसको सुरक्षाको विषयमा पनि गम्भीर रुपले हेरिराखेको छ,’ उनले थपे ‘भोलिका दिनमा हुनसक्ने सम्भावित दुर्घटना हुन नदिन समेत हामीले सचेत छौं ।’

‘बजारमा धेरै किसिमका सहकारी छन सहकारीमा समस्या पनि छ त्यसैले संस्थागत सुशासनमा चलेका, प्रविधिमा जोडिएका र सिद्धान्तअनुसार चलेका संस्थामा मात्र कारोबार गर्न म अनुरोध गर्छु’ उनले भने । प्रविधिमा जोडिएर संस्थाले सदस्यहरुलाई सहज रुपमा सेवा दिन लागिपरेको र यसबाट सदस्यको समयको समेत बचत हुने हुँदा सदस्यहरुलाई समय सापेक्ष के–कस्ता प्रविधिको आवश्यक पर्छ सल्लाह सुझाव समेत दिन उनले आग्रह गरे।