☰ open Loading... 20 September 2021|   सोमवार, अशोज ४, २०७८

मुलुक ‘प्रोक्सी रुल’ तिर
  |

 

छैटौँ खेपमा छौँ आज छलफल शृंखलाको, नेपालको अर्थ राजनीतिलाई हेर्ने क्रममा। विदेशी मालिकलाई नरिझाइकन सत्तामा पुग्न पनि सकिँदैन र सत्तामा टिक्न पनि सकिँदैन भन्ने मानसिकताबाट निसृत छ यो– ऐतिहासिक समय–प्रवाहको। अहिले जे देखिएको छ त्यो भनेको यसै निरन्तरताको एउटा अत्यन्त दुष्कर स्वरूप हो। यस्तो बेलामा यो स्वरूप पटाक्षेप भएको छ जुन बेलामा नेपाली ’सरकार नै नभएको अवस्था’ मा छन्। दिउसै मैन बत्ती बालेर सरकार खोजेर हिँडिरहनुपरेको अवस्था छ। आमनागरिकलाई निरीह पारिएको छ। अक्सिजन नपाएर मरिरहेका छन् दिनको करिव दुई सय नेपाली। यो संख्या बढ्दो छ। निसास्सिएका छौँ हामी कोरोना र राजनीतिको अनिष्टकर मिलनबाट। यो परिणति बुझ्नका लागि कारक तत्व पत्ता लगाउने जमर्को गरौँ। यसका लागि अलिकति फराकिलो विश्व क्यानभासबाट हेर्नुपर्ने हुन्छ।

विश्व इतिहास साक्षी छ एउटा कुराको। त्यो भनेको प्रजातन्त्र सङ्घर्ष मात्र होइन। यो संस्कार हो, विश्वास हो र आदर्श पनि हो। अर्थात् मुलुकलाई अगुवाइ गर्ने व्यक्तिको सङ्घर्ष र आदर्श जब सँगै जाँदैनन् एक रथको दुई पांग्रोसरह, तब प्रजातन्त्र दुर्घटनाग्रस्त हुन्छ। सङ्घर्षको प्राप्तिलाई हिफाजत गर्ने केवल आदर्शले मात्र हो। त्यसको अभावमा प्रजातन्त्र एउटा विभत्स स्वरूपमा बिस्तारै रूपान्तरित हुँदै जान्छ। जनताको लागि भनेर सत्ता कब्जाको सशस्त्र सङ्घर्ष गरेको, जेल बसेको, प्रजातान्त्रिक चुनाव लडेर सत्तामा पुगेको आधारमा मात्र त्यो व्यक्ति प्रजातान्त्रिक हुन्छ भन्ने कुरा बिलकुलै होइन। र, उदाहरणका लागि एउटा व्यक्ति नै किट्नुपर्दा एडोल्फ हिटर नै हुन्।

यसका विभिन्न संयोजित स्वरूपहरू विश्वको धेरै मुलुकमा अहिले पनि छन् जो आवधिक आमचुनाव वा चुनावको नामबाट आएर शासन गरिरहेका छन्। प्रजातन्त्रको भाषण गरेर खिर खानेहरू पाखण्डी मात्र होइनन्, वास्तविकरूपमा प्रजातन्त्रका दुस्मन साबित भएका छन्। बिपी कोइरालाले २०३७ सालमा एउटा लामो संवादमा मलाई नै प्रतिप्रश्न गर्दै सोधेको कुरा यतिखेर सम्झन पुगेको छु–  ‘विश्वमा धेरै तानाशाह त कमनर (सर्वसाधारण) नै भएका छन्, होइन र ?’ मैले भनेँ– ‘त्यो त हो।’ यो संवाद त्यतिबेला नै प्रकाशित भएको थियो। समग्रमा भन्नुपर्दा, प्रजातन्त्र जीवन पद्धति हो। यसका लागि प्रजातान्त्रिक पद्धति बलियो पार्ने विश्वास र मन चाहिन्छ। लहडमा शासन गर्न चाहने मनले हुँदैन। मूलतः प्रजातन्त्र बाँच्नका लागि नियन्त्रण र सन्तुलन प्रणालीमा शासकको विश्वास हुनुपर्छ।

जे/जस्तो झुटमुठ गरेर भए पनि आवधिक चुनाव जित्ने हो। बाँकी जनता र विकासको नाममा कानुन मिलाएर, छलेर, भत्काएर वा संशोधन गरेर नियन्त्रण प्रणाली भत्काएर लुटपाट गर्ने हो भन्ने आवेग जब मूल प्रवाह राजनीति बन्छ तब अनेक विकृत स्वरूपहरूले राज गर्छन्। प्रजातन्त्र कहालिलाग्दो बन्छ। यस क्रममा जनता र प्रजातन्त्रको नाममा व्यक्ति पूजा सुरु हुन्छ। अहिलेको उदाहरण लिने हो भने जस्तो भारतमा मोदीको नै छ।

व्यक्ति पूजापछिको गन्तव्य बन्छ ‘कल्ट राजनीति’। यो अवस्था भनेको व्यक्तिलाई देवत्वकरण गर्दै लैजाने हो। शासकलाई एउटा ‘आइकन’ बनाउने र जनतालाई जनताकै नाम लिएर अमूर्त पार्दै लग्ने। यो त्योबेलामा सम्भव हुन्छ जब मानिसले शासकले बोलेको झुटलाई सत्य भनेर विश्वास गर्दै जान्छन्। यस्ता मान्छे धर्ममा जस्तै कट्टरपन्थी हुने कारणले गर्दा यी जति बढ्दै जान्छन् त्यही अनुपातमा मुलुकको प्रजातान्त्रिक राजनीति भताभुङ्ग हुँदै जान्छ। संयन्त्रहरू विधिमुखी होइन व्यक्तिमुखी बन्छन्। विश्वको उदाहरण हो एडल्फ हिटलर। हालसालको कुरा गर्ने हो भने प्रजातन्त्रबाटै कल्ट राजनीति उघ्रिन खोजेको एउटा धमिलो स्वरूप ट्रम्पको पालामा अमेरिकामा देखियो। राष्ट्रपतिबाट ट्रम्प हटे पनि यसको प्रभाव अझै छ र कहिलेसम्म हुन्छ किटान गर्न सकिँदैन्। यतिसम्म कि पूर्व अमेरिकी उपराष्ट्रपति डिक चेनीकी छोरी लिज चेनीलाई हालै रिपब्लिकन पार्टीले आफ्नो नेतृत्व पङ्कितबाट हटायो यस कारण कि ट्रम्पको झुटलाई उनले स्वीकार गरिनन्। शायद उनको राजनीति नै समाप्त पनि हुन सक्छ।

यस्तो कल्ट राजनीतिको स्वरूप विभिन्न मुलुकमा विभिन्न संयोजनमा बदलिरहेको हुन्छ। यसको कारण त्यसतर्फ जाने तागत र त्यसलाई रोक्ने तागतबीच अनवरत सङ्घर्ष भइरहेको हुन्छ। यस क्रममा दुवैतिरको मारमा परेर जनताले दुःख पाइ नै रहेका हुन्छन्। सिस्टम कति बलियो छ त्यसले निर्धारण गर्छ मुलुक कता पुग्छ भनेर। राज्यको सबै अङ्गमा प्रभाव या पकड जमाउन ‘काले काले मिलेर खाऊँ भाले’ भन्ने फर्मुला हो। हाम्रो देशको पनि समस्या यहाँनिरै हो। अरू मुलुकमा भन्दा हाम्रोमा धेरै नै जटिले बनेको छ यो समस्या। कारण हो– बाहिरी मालिकहरू निर्णायक बनेका छन् यहाँ। र, शासकहरू पात्र बनेका छन्।

धरती गाउँ बनेको अहिलेको विश्वमा तागत भएका मुलुकले अर्को मुलुकमा खेल्न खोज्ने र सके असन्तुलित पारेर आफ्नो स्वार्थ परिपूर्ति गर्दै आएका छन्। अमेरिका जस्तो मुलुकमा रसियाले आन्तरिक राजनीतिमा प्रभाव पार्न खोजेका समाचार आइ नै रहेका हुन्। हाम्रो जस्तो सानो र कमजोर मुलुकको के कुरा गर्ने र ? तर यसका बाबजुद पनि नेपाल न आन्तरिकरूपमा बलियो हुँदै जान सक्यो न छिमेकीहरूलाई हाम्रो राष्ट्रिय स्वार्थ जगेर्ना हुन सकेमा मात्र उनीहरूको स्वार्थ पनि हिफाजत हुन सक्छ भन्नेमा विश्वासमा राख्न सक्यो। मालिक रिझाएर सत्तामा पुग्ने र टिक्ने सूत्रसँग आबद्ध राजनीति नै हाम्रो नेताहरूको मन्त्र भयो। भाइरसले टिक्नका लागि म्युटेसन गरेजस्तो अर्थात् स्वरूप बदले जस्तो सत्तामा टिक्न शासकले स्वरूप बदल्दै मात्र गइरहेका छन्।

स्वरूप बदल्ने कुरामा आइपुग्दा अब अलिकति पात्र र प्रवृत्तिबाट छलफल गरौँ। यस्तो छलफल मुलुकलाई अगुवाइ गर्ने राजनीतिक नेतृत्व तहमा मात्र सीमित गरौँ। मुलुकको प्रधानमन्त्री भएकाले प्रतिनिधि पात्रका रूपमा खड्गप्रसाद ओलीलाई लिने हो भने उनी अरू भन्दा क्षमतावान् देखिएका छन्। उनको क्षमतालाई ‘नेटिभ कनिंग्नेस’ अर्थात् ‘जन्मजात धुत्र्याइँ’ भएको व्यक्तिका रूपमा सीमित गरिनु हुँदैन। त्यस्तै, पेटभर दुई छाक खान नपाएर अल्पशिक्षा र अल्लारे अवस्थामा रामनाथ दाहालको पछि लागेर हिँड्दा कानु सन्यालको भाषणबाट ‘राजनीतिक रोम्यान्टिसिज्म’ मा रमाएको एउटा केटाको भौतारिएको यात्राका रूपमा।

वास्तवमा उनी राजनीतिमा धेरै नै खारिएका व्यक्ति छन्। म त भन्छु उनी बराबरको नेता छैन अहिलेको नेपालमा। जो छन् र जो ‘पावर सिकर’ को रोलमा छन् अर्थात् शक्तिमा पुग्न लालायित छन् तिनीहरू सबैजसोको प्रवृत्तिमा समानता छ। त्यो भनेको विदेशी मालिकलाई रिझाएर सत्तामा पुग्ने। अनि जनता र विकासको नाममा स्वेच्छाचारी शासन गर्ने र भ्रष्टाचार निर्मूल गर्ने नाममा कानुनसम्मत राज्य दोहन गरेर रकम कलम जम्मा गर्ने– आफ्ना लागि, पार्टीका लागि र चुनावका लागि। यसरी मुलुक लुट्दा पनि ‘स्पोन्टेनियस ग्रोथ’ अर्थात् सरकार नै नभएर पनि हुने विकास त मुलुकमा भएकै हुन्छ। त्यसैको रङ्गीचङ्गी बेलुन उडाएर देखाउने र मिथ्याङ्कको घनचक्करमा जनतालाई दिग्भ्रमित पार्ने।

विदेशी बैङ्कमा रकम राखिएकोबारे ओलीको मात्र होइन, अझ पहिले त प्रचण्डको नै आएको हो। फेरि आफ्नै नाममा यस्ता पात्रहरू किन राख्छन् र ? हामीले त देखेकै छाैं व्यापारीलाई राज्यशक्तिको दुरुपयोग गरेर पैसा दिलाइदिएपछि उसले दिने कमिसन रकमबाट घर किनिदिन्छ र व्यापारीकै नाममा रहन्छ। मिडियामा कुरा उठे टक्टकिएर भन्छ पात्र– ‘लाएको कोट र मोबाइलबाहेक केही पनि छैन। भाडाको घरमा बसेको छु। पार्टीले भाडा तिरिदिन्छ। मुलुकका लागि काम गर्ने मान्छे मेरो भन्नु त मुलुक र जनता मात्र हो।’ जब अवसर अनुकूल हुन्छ त्यो व्यापारीको नामबाट आफ्नो नाममा ल्याएर बेचेर पैसा बैङ्कमा राख्छन्।

उनले यसको प्रदर्शन सत्तामा आउन नाकाबन्दीको बेला देखाए भने टिक्नका लागि पछि चुच्चे नक्सा उपयोग गरे। उनी समयको पहिचान गर्न सक्छन्। यसका लागि प्रश्न र उत्तर दुवै आफ्नै खल्तीमा बोकेर हिँड्ने मान्छे हुन ओली।

माथिको विवरण कुनै उपन्यासमा लेखिएको कुरा होइन। यसका विभिन्न स्वरूप र संस्करणहरू यो मुलुकको भित्ता भित्तामा लेखिएका छन्। सुका खाएको देखिए गोली खान तयार छु भन्नेले यो किन भन्दैनन् स्विस बैंकमा मेरो पैसा भेटिए राज्य कोषमा राख्न तयार छु भनेर। प्रवृत्ति यही नै हो। अहिलेका पात्रहरू सबै यसैको सेरोफेरोमा ग्रहहरू घुमेको जस्तो गरेर घुमिरहेका छन् सूर्य वरिपरि। कहिले प्रकाशको पुञ्ज परेर आल्हादित भएर ललकार्छन्। कहिले ग्रहण लाग्दा एक एक अर्कोलाई विदेशी एजेन्ट वा भारतीय एजेन्ट भन्छन्। ओलीलाई ‘भारतको टाङमुनि छिरिसकेको’ देउवाले देखे पनि यहाँनिर मान्नैपर्छ, ओली अरू पात्रहरू भन्दा अग्लो देखिएका छन्– आफ्नो क्षमता, सिप र जाँगर प्रयोग गर्न।

उनले यसको प्रदर्शन सत्तामा आउन नाकाबन्दीको बेला देखाए भने टिक्नका लागि पछि चुच्चे नक्सा उपयोग गरे। उनी समयको पहिचान गर्न सक्छन्। यसका लागि प्रश्न र उत्तर दुवै आफ्नै खल्तीमा बोकेर हिँड्ने मान्छे हुन ओली। समय हेरेर बसेका हुन्छन्। विप्लवको पार्टीलाई आफैँले प्रतिबन्ध लगाए, कार्यकर्तालाई जेल हाले। अहिले प्रतिबन्ध हटाए र कार्यकर्ता अलिअलि मात्र छोड्दैछन्। दाम्लो लगाएका छन्। मधेस आन्दोलन र मधेसी पार्टीका कार्यकर्ताको पनि कुरा यही नै हो। जनता समाजवादी पार्टीका ३२ सांसदमध्ये करिब १५ सांसद बोकेका महन्त र राजेन्द्र जोडी, जो ओलीबाट नै प्रताडित थिए, आज आँखा चिम्लेर उनको सत्ता जोगाउन लागे। कसरी ? ओलीलाई त अहिले उनीहरूको माग पूरा गर्ने मसिहा बनाएका छन्। यो झन् कसरी ? माधवहरूलाई कारबाही गरे। सत्ता जोगाउने अन्तिम अवसरमा यो अस्त्र पनि प्रयोग गरे– आफ्नै कारबाही फुकुवा गरेर। प्रष्टीकरण प्रकरण त बाँकी छ। त्यसको उपयोगको अवसर बाँकी नै होला।

उनको क्षमतालाई सत्ता चलाउने पकडमा मात्र सीमित गर्न मिल्दैन। मूलतः भन्नुपर्दा राज्यका सबै अङ्गमा प्रभाव जमाउन सक्नुमा छ। यतिसम्म कि सपथ ग्रहण गर्दा राष्ट्रपतिलाई आदेशात्मक शैलीमा भन्न सक्छन् उनी– ‘त्यो पर्दैन।’

प्रधानन्यायाधीशको मात्र होइन, शेरबहादुरका मान्छे राख्ने नै गरेका छन् नियुक्तिहरूमा। देउवाकी सासूलाई पदावधि सकिए पनि फिर्ता बोलाएका छैनन् भने उनकी श्रीमतीतर्फ छुस्स अख्तियार लगाइदिन सक्ने सङ्केत देखाए। आरजु डराइन्। ओली असन्तुलित भएपछि जङ्गिएर देउवाले बल्ल मुख खोले– ओलीले अख्तियारलाई ब्लाकमेल गर्ने संस्था बनाएका छन्।

यो दृश्य शृंखलाबाट प्रस्ट देखिन्छ, उनको क्षमतालाई सत्ता चलाउने पकडमा मात्र सीमित गर्न मिल्दैन। मूलतः भन्नुपर्दा राज्यका सबै अङ्गमा प्रभाव जमाउन सक्नुमा छ। यतिसम्म कि सपथ ग्रहण गर्दा राष्ट्रपतिलाई आदेशात्मक शैलीमा भन्न सक्छन् उनी– ‘त्यो पर्दैन।’ ‘राष्ट्रपति कार्यालय प्रधानमन्त्रीको निजी सचिवालयको विस्तारित स्वरूप बन्यो’ भन्नेहरूलाई यो हाकाहाकीको जवाफ बन्न सक्छ ? उनको क्षमतामा प्रश्न उठाउने ठाउँ नै छैन। हो, प्रश्न त्यसको प्रयोगमा हो, उपयोगमा हो र दुरूपयोगमा हो। व्यक्तिगत लाभका लागि सामाजिक हित नोक्सान ग¥यो भने त्यो भ्रष्टाचारी हो। सत्तामा टिक्न मुलुकको हितमा चोट हान्नेलाई के भन्ने ? यो प्रश्न राजनीतिभित्र हुलेर सधैँ अनुत्तरित पारिएको छ हाम्रो मुलुकमा। मालिक रिझाउन एक्सचेन्ज अर्थात लेनदेन त चाहियो। सत्तामा पुराइदिने वा टिकाइदिने काम फ्रि त हुँदैन। त्यो एक्सचेन्ज भनेको मुलुकको साधन, स्रोत र हैसियतसँग ‘बार्टर’ बाट नै हो। भोलिको सन्ततिका भविष्यसँग खेलबाड गरेर नै हुने हो।

माथिको छलफलका आधारमा अब जे देखिएको छ त्यो हेरौँ। माधव नेपाल समूहकी एमाले नेतृ रामकुमारी झाँक्री भनिरहेकी थिइन्– ‘अहिले जे भइरहेको छ, यो सब प्रभुको इशारामा भइरहेको छ।’ करिब त्यति नै बेला महन्थ ठाकुर र राजेन्द्र महतो आफ्ना १३ सांसदलाई ओलीको सहयोगमा भक्तपुरको डोलेश्वर भिलेज रिसोर्टमा सुरक्षित राखेर भारतीय दूतावास छिर्दै थिए। त्यसपछि प्रधानमन्त्रीलाई धन्यवाद दिन बल्ल बालुवाटार पुगे। स्मरण रहोस्, मधेसको नाम लिएर राजनीति गर्दै आएका यी दुई नेताले २०७४ सालको चुनाव हारेपछि आफूहरूलाई भारतवादीको संज्ञा दिँदै गहिरो सार्वजनिक आक्रोश पोखेका थिए। राजेन्द्र महतोले भने– ‘हामी भारतवादीहरूका लागि मधेसवाद हार्नु सामान्य हुन सक्ला तर भारतकै लागि यो असामान्य कुरा हो। काँग्रेस र एमालेले पाएको मतले भारतको हित गर्दैन।’ उनले थपे– ‘आज तराईमा मधेसवादी होइन भारत निर्वाचनमा पराजित भएको सन्देश गएको छ।’ महन्थ ठाकुरको आक्रोश पनि यस्तै किसिमको थियो।

अहिले दुवै यी जसरी परिचालित भए ओलीको सत्ता जोगाउन त्यसको परिणामस्वरूप गठबन्धनको उम्मेदवार देउवाले प्रधानमन्त्रीको दावा नै गर्न सकेनन्। यहाँनिर भारत सरकार नजिकको पत्रिका हिन्दुस्तान टाइम्सले आफ्नो सम्पादकीयमा जे लेखेको छ त्यसबाट प्रस्ट हुन्छ– महन्थ र राजेन्द्र जोडी भारतले अराएबमोजिम परिचालित छ। डा. सुब्रमन्यम स्वामी, जो चन्द्र शेखरको सरकारमा मन्त्री थिए र अहिले सत्तारूढ पार्टीका नेता छन्, उनको अभिव्यक्तिले यो कुरालाई पुष्टि गरेको छ। उनले भनेका छन्– भारत अहिले ओलीलाई टिकाउन चाहन्छ।

हो, यसरी ओलीले फेरि मात दिए, संसद्मा विश्वासको मत गुमाएर पनि। ७६ प्रतिशत सांसदको समर्थनमा २०७४ मा प्रधानमन्त्री बनेका ओली ३३ प्रतिशतमा झरे पनि अहिले सबभन्दा धेरै सांसद भएको पार्टीको हैसियतमा पुनः प्रधानमन्त्री बनेका छन्। उनले चीन र भारतबीच पिङ खेल्दै आफ्नो सत्ता जोगाउने राजनीति गर्दै आउँदा भारतीय खुफिया प्रमुखसँगको अति गोप्य बालुवाटार छलफलपछि अहिलेको यो परिणति आएको छ। तर अब के ? गणतन्त्रमा सब बराबर तर म विशेष हुँ भन्ने मानसिकताबाट निस्केको ‘कल्ट राजनीति’ प्रतिको मोह माधव नेपालसँगको अस्थायी युद्धविरामपछि के उनले त्याग्न सक्छन् ?

गणतन्त्रको नाममा स्वेच्छाचारी प्रवृत्ति जसलाई मैले ‘अधिनायकवादी लोकतान्त्रिक यात्रा’’ भन्ने गरेको छु त्यसको आवरण के हुने ? ओलीले भर्खरै गरेको एघार राजदूत नियुक्तिलाई नै हेरौँ। आफैँले बनाएको तजविजी नियमसम्मको पनि वास्ता गरेनन्। नौ जनालाई बक्सिस दिएकोसरह बाँडे। यसलाई अझ प्रस्ट पारौँ। ‘मरेपछि …. राजा’ तर बाँचुन्जेल केवल आफूले मात्र ’लोकतन्त्रात्मक समाजवाद’को आवरणमा निजी सम्पत्तिसरह राज्य चलाउनु पाउनुपर्छ भन्ने सोच, जुन हाबी छ अहिले, त्यसको बैठान कसरी हुन्छ ?

के अहिलेको माधव नेपालसँगको युद्ध विरामले त्यो सोचमा परिवर्तन ल्याउन सक्छ ? करिब १५ वर्ष एमाले हाँकेका माधव नेपाललाई प्राविधिक महासचिव भन्थे उनका कमरेडहरू। उपमहासचिवको सिर्जित पदमा बसेर पनि वामदेवजीले नियन्त्रणमा राखेका थिए उनलाई। यो सबै देखेका र बुझेका ओलीले माधवजीलाई अहिले बिरालोले मुसा खेलाएको जस्तो गरी खेलाउन सकेको कारण खोज्न त्यो पृष्ठभूमि हेर्नुपर्छ। ‘हिलोको किलो’ जस्तो ठानेर माधवजीको कुरालाई गम्भीरतापूर्वक नलिएका उदाहरण थुप्रै छन्। केही दिनअगाडिको माधवजीको गर्विलो भाषण, जुन अहिले सोसल मिडियामा छ्यापछ्याप्ती छ, त्यो सुन्दा अचम्म लागेको छ सबैलाई। सायद ओलीलाई लागेको थिएन होला। प्रचण्डलाई खेलाएको ओलीलाई माधवजी ‘कुन खेतीको मुली’ हो र ? साक्षी किनारा राखेर सहमतिपत्रमा सही गरेर प्रचण्डको बुइ चढेर प्रधानमन्त्री बने। तर कबुलियतनामाबमोजिम प्रचण्डलाई प्रधानमन्त्री बन्न दिएनन् र अहिले यो हविगतमा पु¥याइदिए। यो देख्नेहरूले कसरी विश्वास गर्ने कमिटी बनाएको भरमा ?

यस्ता कमिटी त ओलीजी अप्ठेरो पर्नेबित्तिकै बनाइदिन्छन्। केहीअगाडिको एक उदाहरण मात्र लिने हो भने संसदीय समितिले वाइड बडी खरिदमा करिब ५ अर्ब कमिसन खाएको ठहर गरेर जब कारबाही अगाडि बढायो तब ओलीजीले आयोग गठनको नाटक गरेर त्यसलाई भासभुस पारे। अझ उल्टो पर्यटन मन्त्रीलाई सांसदमै झुट बोल्न लगाए। अनि कुर्ले पर्यटन मन्त्री– ‘भुक्तानी दिने मेरो मन्त्रालयले हो र जब मैले सही नै गरेको छैन र रकम नै गएको छैन भने कसरी भ्रष्टाचार हुने ?’ सब चूपचाप भए। तर वास्तविकता थियो उनले नै सही गरेर भुक्तानी दिएका थिए। यो प्रमाण त जसले पनि हेर्न सक्छ। झुट बोल्नु मामुली कुरा हो ओलीजीका लागि– एउटा ‘कम्पल्सिभ लायर’ ले जस्तो। नपत्याए उनले सिएनएनलाई दिएको अन्तर्वार्ता नै हेरौँ। मुलुकमा हाहाकार छ अक्सिजन नपाएर। अस्पतालमा बेड छैन। बाहिरै उपचारका लागि पनि लाइन छ। सरकारी तथ्याङ्कअनुसार पनि दिनहुँ २०० को हाराहारीमा नेपाली मरिरहेका छन् र करिव ५००० मरी नै सके। तर मुलुकको प्रधानमन्त्री सम्माननीय खड्गप्रसाद ओली ठाडै झुट बोलेर भने– ‘सब कन्ट्रोलमा छ।’ के कन्ट्रोलमा छ ? नेपाली जनता उनलाई सोधिरहेका छन्।

’रात रहे अग्राख पलाउँछ’ भन्ने उखान राम्ररी बुझेका उखान विशेषज्ञ ओलीको एक महिने अस्थायी युद्ध विरामको मनस्थिति बुझ्न गाह्रो छैन– माधव नेपाल पक्षलाई अहिले नै माइनस गर्न नसके पनि उनी जोड्ने पक्षमा छैनन् किनकि अबको एमालेमा उनीसँग प्रश्न कसैले गर्ने होइन। केवल उनको निर्णय शिरोधार्य गर्ने मात्र हो। त्यसैले ओली र माधवबीचको तत्कालको युद्ध विराम समाधान नभएर मुलुकका लागि अन्ततः व्यवधान हुने कुरा करिव ठोकुवा नै गर्न सकिन्छ। अझ प्रस्ट पारौँ, अब यी दुई आफ्नै पार्टीभित्र ’लुज एलायन्स’ गरेर बस्न सक्ने अवस्थाबाट धेरै पर पुगिसकेका छन्। ओलीजी उम्दा पात्र बन्न तयार भए तर प्रवृत्ति बदल्न तयार छैनन्। कच्चाखाले कल्ट राजनीतिको सेरोफेरोमा रमाउन सकिन्छ तर ‘गणतन्त्रात्मक अधिनायकवाद’ नै बनाएर धान्न सकिँदैन। धान्ने हरेक प्रयासलाई विदेशी मालिकको आशीर्वाद झन बढ्ता आवश्यक पर्छ। यस क्रममा अझ जाने हो भने अस्थायी गणतन्त्रात्मक अधिनायकवादको परिणति बनेर मुलुक ‘प्रोक्सी रुल’ तिर जानेछ। चेतना भया। लेखक वसन्त लोहनी ,काठमाडौँमा बस्दै आउनुभएको छ ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ४, २०७८     5:57:10 AM