☰ open Loading... 17 September 2024|  

स्वास्थ्यकर्मीलाई ५० प्रतिशत थप जोखिम भत्ता
  | ७ जेष्ठ २०७८, शुक्रबार ०६:०२

सुर्खेत – कर्णाली प्रदेश सरकारले कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई ५० प्रतिशत थप जोखिम भत्ता दिने निर्णय गरेको छ।प्रदेशको सामाजिक विकास मन्त्रालयले कोरोना महामारीमा रातदिन नभनि खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन स्वरुप थप भत्ता दिने निर्णय गरेको हो। प्रदेशमा बसेर काम गरुन् भन्ने हेतुले एकसय ३५ प्रतिशत सम्म थप प्रोत्साहन रकमको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

प्रदेश सरकारले स्थानीय तहहरुमा सञ्चालित अस्पतालहरुलाई कोरोना विरुद्ध लड्नको लागि बजेट दिने निर्णय गरेको छ। जसका लागि सरकारले कोरोना रोकथामका लागि भन्दैँ १२ करोड १२ लाख २० हजार बजेट उपलब्ध गराएको हो।कोरोना रोकथाम तथा नियन्त्रणका र प्रतिकार्य व्यवस्थापनका लागि ३३ वटा स्थानीय तह अन्तर्गतका रणनैतिक अस्पतालहरुलाई उक्त रकम प्रदान गरिने प्रदेश सरकारले जनाएको छ।

समाजिक विकास मन्त्रालयको जिम्मेवारी समेत समालेका कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अनुसार चालु आर्थिक वर्ष २०७७÷७८ मा सामाजिक विकास मन्त्रालय मातहतका सबै जनस्वास्थ्य सेवा कार्यालय तथा अस्पतालहरुमा कोभिड–१९ महामारी नियन्त्रण कार्यक्रम तर्फ ७३ करोड, अक्सिजन लगायतको कोभिड–१९ प्रतिकार्य व्यवस्थापनका लागि ११ करोड ५० लाख, स्वास्थ्य सेवा निर्देशनालयको लागि कोभिड–१९ सम्बन्धी प्रतिकार्य व्यवस्थापनका लागि थप बजेट १३ करोड ८० लाख गरी जम्मा ९८ करोड ३० लाख निकासा भएको जानकारी दिए।यस्तै अत्यावश्यक जनशक्ति व्यवस्थापनको लागि १७६ जना सामुदायिक नर्स, ५८ जना कोभिड स्वास्थ्यकर्मी, दरबन्दी करार तर्फ १८३ जना चिकित्सक, नर्स तथा पारामेडिक्स स्वास्थ्यकर्मी परिचालन गरिएको छ।