☰ open Loading... 19 April 2024|  

जमिन भारतीय भूमिमा, राजश्व तिर्छन् नेपालीले बर्दियाको मालपोतमा
  | २३ जेष्ठ २०७८, आईतवार ०६:०९

 

 

 

बर्दिया । नेपाल र भारतबीचको सीमा व्यवस्थित हुन नसक्दा धेरै नेपाली भूमिमाथि अझै पनि भारतीयहरुले भोगचलन गरिरहेका छन् । बर्दिया जिल्लाको गुलरिया नगरपालिकास्थित थपुवा गाउँको १२ विगाह जग्गा भारतीय नापी विभागले आफ्नो सीमाभित्र रहेको दावी गर्दै आएपनि नेपाली नागरिकहरुले जग्गाको राजश्व मालपोत कार्यालय बर्दियामा बुझाइरहेका छन् ।

आफ्नो जमिनमा खेतिपाती गर्न जाँदा नेपाली नागरिकहरुले मारिनु पर्नेसम्मको ज्यादति सहदै आएका छन् । पीडा यतिमा मात्र सीमित छैन, सीमा क्षेत्रको दशजगा र नेपाली भूमि भित्रै लुटिने र पिटिनेसम्मको ज्यादति नेपाली नागरिकले भोग्दै आएका छन् ।

भारतीय नापी विभागले दुई दशक पहिला गुलरियाको थपुवा गाउँको १२ बिगाहा भन्दा बढी जमिन भारतमा रहेको देखाएपनि अहिले पनि नेपालीले राजस्व बुझाइरहेका छन् । भारतमा पािरएको त्यो जमिन अहिले सम्म फिर्ता हुन सकेको छैन ।

खेतिपाती गर्न नपाएपनि राजश्व बुझाइहेको त्यो जमिनबारे राज्यले अहिलेसम्म कुनै चासो देखाउन सकेको छैन । बर्दिया जिल्लाको ८३ किलोमिटर खुला सीमाना भारतसंग जोडिएको छ । तर विवाद ज्यादतिको विषय खुला सीमाको दुरी भन्दा धेरै बढी छ ।

बर्दियावासीमाथि भारतीय सुरक्षाकर्मीको ज्यादतिको फेहरिस्त

  • २०६२ सालमा गुलरियाको कटीमा एसएसबी गोली हानेर रामकुमार चमारको हत्या
  • २०६८ फागुन ४ गते एसएसबीले बेपत्ता बनाएका हर्कबहादुर शाहीको अवस्था अझै अज्ञात
  • २०७२ सालमा गुलरिया आशाराम लोध भारतीय बन दरोगाद्धारा अपहरणपछि बेपत्ता
  • २०७२ सालमा हतियारसहित प्रवेश गरि भारतीय प्रहरीद्धारा गुलरियावासीको घरघरमा खानतलासी
  • सुरजपुरका व्यापारी पवित्र राना र हिमबहादुर पुनसंग भारतीय प्रहरीद्धारा जनही मासिक २ हजार ५०० भारु माग

ज्यादति यतिमा मात्र सीमित छैन । भारतीय प्रहरीले मागेको मासिक रकम दिन नमान्दा हिमबहादुर पुनले भोग्नु परेको पीडा कम दुःखदायी छैन । आफनी श्रीमतीको उपचार गर्न जाँदा उनलाई पक्राउँ गरेर थुनामा राखेको भारतीय प्रहरीले १ लाख भारु माग गरे ।

तर दिन नसकेपछि उनी ३८ हजार भारु दिएर नेपाल फर्किए । यस्तै मासिक रकम मागेका पवित्र रानाले रकम नदिए पछि केही दिन अघि मात्र हतियारसहित नेपाल प्रवेश गरेका भारतीय प्रहरीले उनीहरुको पसलबाट २० हजार नेपाली रुपैयाँसमेत लुटेर लगेका थिए ।

यति बेला सुरजपुरका व्यवसायीहरुको घर छेउँमा त्रिपाल टाँगेर शसस्त्र प्रहरीले सुरक्षा दिएका कारण आफुहरु घरमा बस्न सकेको उनीहरुको भनाइ छ । तर अन्य धेरै गाउँवस्तीमा अझै पनि भारतीय सुरक्षाकर्मीको ज्यादति जारी छ ।

भारतीय प्रहरी सधै जसो गाउँगाउँमा हतियारसहित आउँने र स्थानीयलाई धम्की समेत दिने गरेका छन । राज्यको पहुँच सीमामा कमजोर बन्दा बर्दियाका गाउँघर नै डर त्रासमा बस्न बाध्य छ ।न्युज२४बाट