☰ open Loading... 28 March 2024|  

जुम्लाका किसानलाई मार्सी धान रोपाइँको चटारो
  | २५ जेष्ठ २०७८, मंगलवार ०५:११

 

 

हुम्ला- हुम्लाको चन्दननाथ भैरवनाथ मन्दिरको शेरा जीउलामा मार्सीधान रोपिएको छ । कोरोना कहरकाबीच भव्य रुपमा मार्सीधान रोपाइँ गरिएको हो । प्राचिनकालदेखि यो जीउलोमा धुमधामले धान रोप्ने गरिन्छ । यो पटक भने स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर रोपाइँ चलेको हो ।

गुठि समितिका अध्यक्ष पुर्णसिंह कठायत कोरोना कहरबीच पनि मार्सीधान रोप्ने काम भएको बताउँछन । उनले भने,‘ मास्क लगाएर सामाजिक तथा व्यक्तिगत दुरी कायम गरेर धान रोपियो । जस्तो सुकै संकट आएपछि यो जीउलो बाँझो राख्नु हुँदैन ।’

गुठी व्यवस्थापन समितिले यसअघि प्रत्येक वर्ष विधिवत रुपमा रोपाई महोत्सव गरेर शेरा जीउलोमा धान रोपाइँ हँुदै आएको थियो । यो वर्ष कोरोना भाइरसको जोखिमका कारण कुनैपनि धार्मिक गतिविधि नगरि खेतमा कालिमार्सी धान रोपिएको उनले बताए ।

हरेक वर्ष जेठ १४ गते रोपिने शेरा जीउलो केही वर्षदेखि जेठ २४ गते रोपिने गरिएको छ । नियमित सिचाइँ कुलो असुविधाका कारणले रोपाइँ कार्यतालिका प्रभावित हुने गरेको छ । यो वर्ष २२ भारी धान रोपिएको छ ।

जेनेटर बाट पानी तानेर खेतमा रोपाइँ चलेको हो । पहिलो एक सय भारी धान रोपिन्थ्यो । त्यसपछि घटेर ५६ भारी रोपिने गरियो । केही वर्ष यताबाट २२ भारी धान रोप्ने गरिएको हो ।

मार्सी धान जुम्लाको पहिचान हो । मन्दिरको खेतमा उत्पादित धानको चामल परम्परागत रुपमा अक्षता चढाउनका लागि प्रयोग हुन्छ, गुठी समितिका उपाध्यक्ष रत्नचन्द्र उपाध्यले भने,‘परम्परागत विधि हो । यसको जगेर्ना गर्न जरुरी छ । ’

मन्दिरको जीउलोमा मार्सीधान रोपाइँका गर्न चन्दननाथ बहुउद्देश्यीय सहकारी सस्था जुम्लाले सहयोग गर्ने गरेको छ । यो बर्ष ६३ जना महिलाहरु रोप्नेरी लगाइएको थियोे । सबै रोप्नेरीहरुलाई मास्क, सेनिटाइजरको व्यवस्थापन गरिएको थियो । कोरोना संक्रमणलाई मध्येनजर गर्दै स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरिएको सहकारीका सचिव क्रृषिराम पाण्डेले जानकारी दिए ।

रोप्नेरी र हलिलाई ज्याला गुठि समितिले व्यवस्थापन गरेको थियो । प्रति रोप्नेरीलाई ५ सय रुपैयाँ र हलिलाई प्रति एक हजार ३ सय रुपैयाँ दिएकोे अध्यक्ष पुर्णसिंह कठायत बताउँछन् । रोपाइँको दिनको सबै सम्पूर्ण प्रसाद खर्च गुठि समितिका अध्यक्ष आफैले गरेका हुन ।

जिल्ला प्रशासन कार्यालय जुम्लाले रोपाइँमा सामाजिक तथा व्यक्तिगत दुरी कायम गरि अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गरेको थियो । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले भने,‘ स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्न भनिएको थियो । सोही बमोजिम रोपाइँ भएको होला । ’

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी दानबहादुर थापा, सशस्त्र प्रहरीका डिएसपी गगन श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी थापा सहितको टोली रोपाइँ स्थलमै पुगेका थिए ।