☰ open Loading... 19 April 2024|  

चेपाङ बस्तीलाई राहत वितरण
  | २७ जेष्ठ २०७८, बिहीबार ०५:३१

दाङ । तीन महिनादेखि अनिकाल र भोकमरीमा परेका धादिङको बेनिघाटरोराङ गाउँपालिका–८ स्थित चेपाङ बस्तीमा बुधबार राहत वितरण गरिएको छ ।यति एयरलाइन्सका पाइलट क्याप्टेन रमेश श्रेष्ठको पहलमा सो गाउँका १२० परिवारलाई स्थलमै पुगेर चामल दाल, नुन र तेल वितरण गरिएको हो ।

सो गाउँमा खानेकुरा अभावपछि कोही जंगलमा गिट्ठा खोज्न जाने, कोही खोलातिर माछा मार्न जाने तथा कोही टाँकीको मुन्टा र सिस्नु टिपेर छाक टार्न बाध्य भएको समाचार सम्प्रेषण भएको थियो ।

समाचार पढेर सहयोगीहरुबाट खाद्यान्न संकलन गरी वितरणका लागि ल्याइएको क्याप्टेन श्रेष्ठले बताए। गत वर्षको बन्दाबन्दीको समयमा पनि श्रेष्ठको पहलमा विभिन्न विमान चालक र समाजसेवीको सहयोगमा काठमाडौँमा विभिन्न स्थानका मजदुरलाईकरीब ३५ लाख बराबरको राहत वितरण भएको थियो ।

कार्यक्रममा नेपाल चेपाङ चेपाङ सङ्घ, धादिङका अध्यक्ष भीमबहादुर चेपाङ, वडाध्यक्ष वीरबहादुर श्रेष्ठलगायतले राहत वितरण गर्दै गाउँपालिकाले समेत चेपाङ गाउँमा खाद्यान्न वितरण गरेको र दाताहरुको सहयोगले स्थानीय सरकारलाई सहयोग पुगेको बताए ।

कोरोना महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण मजदुरी गर्न जाने अवस्था नभएको र घरमा खाने अन्न समेत नभएपछि गाउँबासी तिनचार दिनमा एक छाक खोले वा ढिँडो खाने गरेको अध्यक्ष चेपाङको भनाइ छ ।

गाउँपालिकाले वर्षभरी आफ्नो उत्पादनले खान नपुग्नेका लागि उचित व्यवस्थाको योजना बनाउन नसकेकोले यस किसिमको अवस्था आएको चेपाङ अगुवाहरुले जनाएका छन् ।सो वडाभरमा ३ सय ५० चेपाङ परिवारले गिठ्ठा, टाँकी,सिस्नुको सागले गत चैतदेखि साउनसम्म छाक टार्ने गरेको वडाध्यक्ष श्रेष्ठले बताए।