☰ open Loading... 25 April 2024|  

आज राष्ट्रिय धान दिवस मनाइँदै,कर्णाली प्रदेशमा सार्वजनिक विदा
  | १५ असार २०७८, मंगलवार १०:५३

काठमाडौं : मुठी खाएर मुरी उब्जाउने महिनाको मध्य अर्थात असार १५ गतेका दिन आज देशभर राष्ट्रिय धान दिवस मनाइँदै छ ।रोपाइँ जात्रा, हिलो खेल्ने, दहीच्यूरा खाने जस्ता नामले पनि असार १५ गतेलाई मनाउने परम्परा छ । नेपालमा २०६२ असार १५ गतेदेखि धान दिवस मनाउन थालिएको हो ।

 

विश्वको जनसंख्याको आधा अर्थात साढे तीन अर्ब मानिसको मुख्य खाना नै चामल हो । ९० प्रतिशत धान एसियामै उत्पादन हुने गर्छ भने उत्पादनको आधा खपत पनि एसियामै हुने गरेको छ । नेपालको कुल गार्हस्थ उत्पादनमा धानको योगदान २० प्रतिशत रहेको कृषि विकास मन्त्रालयले जनाएको छ ।

 

हाल नेपालमा १५ लाख ५२ हजार हेक्टरमा धान खेती भइरहेको छ । खेती गरिने ५० दशमलव २ प्रतिशत जमिनमा धान खेती हुने गरेको छ । खाद्य तथा पोषण सुरक्षाका दृष्टिबाट मानिसलाई आवश्यक पर्ने क्यालोरीको २० प्रतिशत हिस्सा चामलमै पाइन्छ ।

 

विश्वका १ सय १४ मुलुकमा धानको उत्पादन हुने गर्छ । संसारमा १६ करोड ३२ लाख हेक्टरमा ७४ करोड नौ लाख मेट्रिक टन धान उत्पादन हुन्छ । सबैभन्दा बढी धान उत्पादन गर्ने मुलुक चीन हो । यसपछि क्रमशः भारत, इन्डोनेसिया, बङ्गलादेश, भियतनाम, थाइल्यान्ड, म्यानमार, फिलिपिन्स, ब्राजिल र जापान रहेका छन् ।

यसैबीच राष्ट्रिय धान दिवसको अवसरमा कर्णाली प्रदेशमा मंगलबार सार्वजनिक बिदा दिइएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषदको निर्णय अनुसार असार १५ गते धान दिवसको अवसरमा बिदा दिइएको हो ।

कर्णालीका १० जिल्लामध्ये जुम्ला बाहेक नौ जिल्लाका सबै सरकारी कार्यालय तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरूमा बिदा दिइएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायाका अनुसार धान दिवसको दिनमा कृषिलाई प्रवद्र्धन गर्न सो निर्णय गरिएको हो ।