
सुर्खेत । नेकपा एमालेको आन्तरिक संघर्षका कारण प्रदेशसभामा वहुमत हुँदा-हुँदै पनि विपक्षी गठबन्धनको सरकार बनेपछि कर्णालीमा एमालेको समीकरण फेरिन थालेको छ ।
माधव नेपाल पक्षका चार सांसदले माओवादी-कांग्रेस गठबन्धनलाई सघाएपछि पार्टीको आन्तरिम समीकरणमा फेरबदल आएको हो । कर्णालीमा केपी ओली भन्दा माधव नेपालको पक्ष बलियो थियो ।
तर पछिल्लो समय एमालेका जिल्ला कमिटिका नेतृत्वमा भारी फेरबदल आएको छ । दश जिल्ला रहेको कर्णाली प्रदेशमा अहिलेको अवस्थामा आइपुग्दा आठ जिल्लामा ओली पक्ष हावी भइसकेको छ भने दुई जिल्लामा मात्रै नेपाल पक्षका अध्यक्ष रहेका छन् ।
यसअघि नेपाल खेमाबाट जिल्ला अधिवेशनमा विजयी बनेका जाजरकोटका अध्यक्ष करवीर शाही, सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाही र हुम्लाका अध्यक्ष दल रावल संस्थपन पक्षमा खुलेर लागेपछि नेपाल समूहमा कर्णालीका दुई जना अध्यक्ष मात्रै बाँकी रहेका हुन् ।
रुकुम पश्चिमका विमल पुन र जुम्लाका अध्यक्ष तीर्थ बुढा नेपाल पक्षमा छन् । २०७५ जेठ दुई गतेको एमाले संरचना हेर्ने हो भने कर्णालीका ५ जिल्लामा नेपाल पक्ष हावी थियो ।
सुर्खेतमा ध्रुवकुमार शाही, रुकुममा विमल पुन, हुम्लामा दल रावल, जाजरकोटमा करवीर शाही र जुम्लामा तीर्थ बुढा नेपाल समूहबाट अध्यक्षमा निर्वाचित भएका थिए । अधिकांश जिल्लामा नेपाल पक्ष थोरै मतले पराजित भएको थियो ।
दैलेखमा नेपाल पक्षका अध्यक्षका उम्मेदवार सूर्यबहादुर शाहीलाई रविन्द्रराज शर्माले चार मतले मात्रै पराजित गरेका थिए । यसरी हेर्दा कर्णालीमा दुवै खेमाको शक्ति आधा-आधा थियो । तर पछिल्लो समयमा नेकपा हुँदै एमालेसम्म आइपुग्दा कर्णालीमा समीकरण पूर्ण रुपमा बदलिएको छ ।
अहिले ओली पक्षमा दैलेखका अध्यक्ष रविन्द्रराज शर्मा, सल्यानका अध्यक्ष गोविन्द पुन, मुगुका कार्यवाहक अध्यक्ष डम्बर रावल, डोल्पामा तुलाचन बुढा र कालिकोटमा अध्यक्ष नगेन्द्र शाही रहेका छन् ।
डोल्पाका निर्वाचित अध्यक्ष दत्त बहादुर रोकायाको कोभिडका कारण उपचारकै क्रममा निधन भएपछि तुलाचन बुढालाई कार्यवाहक अध्यक्षको जिम्मा दिइएको छ । उनी ओली पक्षबाटै निर्वाचित भएका थिए भने मुगुमा ओली पक्षका नेता मोहन बानियाँ केन्द्रीय सदस्य भइसकेपछि उनले अध्यक्ष पदको जिम्मा रावललाई दिएका छन् ।
‘म पहिले पनि नेपाल समूहमा नै थिएँ अहिले पनि नेपाल समूहमा नै छु,’ रुकुम अध्यक्ष पुन नेपालप्रेससँग भन्छन्, ‘अरु को कता गए थाहा भएन ।’ उनको यहि भनाईमा जुम्लाका अध्यक्ष तीर्थ बुढाले समेत हो मा हो थपे ।
प्रदेशसभामा ओली पक्ष एकलौटी
यता, २० सांसद रहेको कर्णाली प्रदेश सभा संसदीय दलमा ओली पक्षको करिब एकलौटी भएको छ । नेपाल पक्षमा आठ जना रहेकोमा चार जनाको सांसद पद गइसकेको छ ।
उनीहरुले वैशाख ३ गते माओवादीलाई विश्वासको मत दिएका कारण एमालेले कारवाही गरिसकेको छ । माधव पक्षका बाँकी चारजना पदमा खड्का, करवीर शाही, सुशील थापा ओली खेमामा खुलेर लागिसकेका छन् । यस्तै, देवी ओली र चन्द्रबहादुर शाही पनि पछिल्लो समयमा एमाले फूटाउन नहुने पक्षमा देखिएका छन् ।
उनीहरु आफूहरुले एमाले एकताबद्ध भएको हेर्न चाहने बताइरहेका छन् । २०७४ सालको प्रदेश सभाको निर्वाचनको समयमा ओली पक्षका १२ र नेपाल पक्षका ८ जना निर्वाचित भएका थिए । यो सँगै कर्णाली प्रदेशसभामा पनि नेपाल पक्षको उपस्थिति कमजोर भएको छ ।
‘हामी नेकपा एमाले एकताबद्ध चाहन्छौं । विगतमा को कुन गुटमा थियो, कता थियो भन्ने कुराले अब अर्थ राख्दैन,’ एमाले सांसद दल रावल भन्छन्, ‘विगतको इतिहास भन्दा पनि पार्टीलाइ थप बलियो बनाउँदै हामीले लैजानुपर्छ । त्यहि आधारमा हामी एकताबद्ध भएर अघि बढिसकेका छौं । कर्णाली प्रदेश सभामा अब नेकपा एमाले मात्रै छ । त्यहाँ कुनै समूह वा गुट छैन ।’
एमालेका फ्लोर क्रस गरेकामा तीन जना प्रकाश ज्वाला, अम्मरबहादुर थापा र कुर्मराज शाही नेपाल पक्षका थिए । नन्दसिंह बुढा ओली पक्षका भए पनि उनले समूह परिवर्तन गर्दै फ्लोर क्रस गरेका थिए । उनीहरुमध्ये ज्वालाबाहेक अरु तीनजना मन्त्री छन् ।
संघीय सांसदहरुको फेरबदल भने चलिरहेको छ । एमाले ब्युँतिएपछि माधव नेपाल पक्षका ध्रुव शाही र पार्वती विसुंखे समेत संस्थापन पक्षमा लागेका थिए । तर प्रधानमन्त्री शेरवहादुर देउवालाई विश्वासको मत दिने बेलामा ओली पक्षका धनवहादुर बुढासहित मुगुका गोपाल बम र पार्वती बिसुंखे माधव नेपाल पक्षमा लागेका छन् ।
प्रतिनिधिसभामा एमालेका ९ जना सांसद छन् । ती मध्ये प्रत्यक्ष निर्वाचित सुर्खेतका ध्रुव शाही, नवराज रावत, दैलेखका रविन्द्रराज शर्मा र समानुपातिकतर्फ मुगुका मोहन बानियाँ र रुकुम पश्चिमकी तीर्था गौतम संस्थापन पक्षमा उभिएका छन् ।
डोल्पाका धनवहादुर बुढा, मुगुका गोपाल बम र समानुपातिकतर्फ पार्वती विसुंखे माधव पक्षमा छन् भने दैलेखका निर्वाचित राजवहादुर बुढा दुवै पक्षका बैठकमा सहभागी छैनन् । उनले आफू एमाले एकताको पक्षमा रहेको बताउँदै आएका छन् ।